पर्यटनलगायत क्षेत्रमा प्रवाह हुने कर्जाको समयावधि लम्ब्याइयो
काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड–१९ महामारीबाट अति प्रभावित पर्यटनलगायत उद्योग व्यवसायका लागि बैंक तथा वित्तीय संस्थाले प्रवाह हुने कर्जाको समयावधि लम्ब्याएको छ । आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले महामारीबाट अति प्रभावित पर्यटन, चलचित्र, पार्टी प्यालेस, सार्वजनिक यातायात तथा शिक्षा क्षेत्रमा प्रवाह हुने कर्जा बैंक तथा वित्तीय संस्थाले मूल्याङ्कन गरी २०७८ पुस मसान्तसम्म पुनःसंरचना तथा पुनःतालिकीकरण गरिने व्यवस्था मिलाएको हो ।
कोभिड महामारीका कारण सङ्कटग्रस्त उद्योग, पर्यटन व्यवसाय, सञ्चार, यातायात, पार्टी प्यालेस, सिनेमा तथा मनोरञ्जन उद्योगलगायत व्यवसायको पुनरुत्थानका लागि व्यवसाय निरन्तरता कर्जा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिने मौद्रिक नीतिमा भनिएको छ । कोभिड महामारीबाट अति प्रभावित क्षेत्रमध्ये होटल, ट्राभल, ट्रेकिङ र हवाई सेवालगायत वाह्य पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायी ऋणीको हकमा अन्तरराष्ट्रिय भ्रमण सहज भई यथेष्ट रुपमा पर्यटकको आगमन हुने अवस्था नदेखिएको हुँदा त्यस्ता ऋणीको वित्तीय अवस्था विश्लेषण गरी आवश्यकता अनुसार २०७९ असार मसान्तसम्म पाक्ने ब्याज छुट्टै हिसाबमा राख्ने व्यवस्था गरिएको छ । यस्तो रकममा थप हर्जना र प्यानल ब्याज नलाग्ने व्यवस्था मिलाइनेछ ।
महामारीका कारण अति प्रभावित क्षेत्रमध्ये रेष्टुरेण्ट, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था र मनोरञ्जन व्यवसायका ऋणीले विसं २०७८ पुससम्म भुक्तानी गर्नुपर्ने सावा तथा ब्याज दायित्वको समयावधी एक वर्षसम्म थप गरी कम्तीमा चार किस्तासम्म भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।







डिसी नेपाल








Facebook Comment