नेपाल विद्युत प्राधिकरणको विद्यमान अवस्था र भावी कार्यदिशा
File Photos: THT
सञ्चालन उपलब्धि
अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ७.३७ प्रतिशतले ग्राहकको संख्यामा बृद्धि भई ४२ लाख २२ हजारबाट ४५ लाख ३० हजार पुगेको छ। सामुदायिक संस्थातर्फका ५ लाख ५० हजार ग्राहक सहित विद्युत उपभोग गर्ने कूल ग्राहकको संख्या ५० लाख ८० हजार पुगेको छ। हालसम्म कुल ९० प्रतिशत देशको जनसंख्यामा आधारभूतरूपमा ग्रीडको पहुँचसहितको विद्युत पुगेको छ।
आ.व.२०७७/७८ मा प्राधिकरणको जलविद्युत गृहबाट कूल २ अर्व ८१ करोड युनिट विद्युत मात्र उत्पादन भएको छ, जुन आ.व.२०७६÷७७ को उत्पादन ३ अर्व २ करोड युनिटको तुलनामा ६.९६ प्रतिशतले घटी हो।
यस्तै निजी क्षेत्रका विद्युत गृहहरूबाट ३ अर्व २४ करोड युनिट प्राप्त भयो गत आ.व.को तुलनामा ८.३६ प्रतिशतले बृद्घि हो। आ.व.२०७७/७८ मा २ अर्व ८२ करोड युनिट विद्युत भारतबाट खरिद भएको छ जुन आ.व. २०७६/७७ को तुलनामा ६३.४५ प्रतिशतले बढी हो।
गत आ.व.मा प्रणालीमा ८ अर्व ८७ करोड ७९ लाख ५० हजार युनिट घन्टा विद्युत उपलब्ध भयो। जुन, आ.व.२०७६/७७ को तुलनामा १४.६८ प्रतिशतले बढी हो। कूल उपलब्ध ऊर्जा मध्ये प्राधिकरणका विद्युतगृहको योगदान ३१.६६ प्रतिशत रह्यो भने आयातित र निजी क्षेत्रबाट किनिएको विद्युतको योगदान क्रमशः ३१.८३ प्रतिशत र ३६.५१ प्रतिशत रहेको छ।
आ.व.२०७७/७८ मा कुल विद्युत खपत ७ अर्व ३१ करोड ९० लाख युनिट रहेको छ । जुन आ.व.२०७६/७७ कोे तुलनामा १२ प्रतिशतले बढि हो। आ.व.२०७७/७८ मा विद्युत चुहावट १७.१८ प्रतिशत रहेको छ, जुन आ.व.७६/७७ को १५.२७ प्रतिशतको तुलनामा १.९१ प्रतिशतले बढी हो।
वित्तीय उपलब्धि
आ.व.२०७७/७८ मा विद्युत बिक्रीबाट कुल रु.७१ अर्व २८ करोड आम्दानी भएको छ। जुन आ.व.२०७६/७७ को ७६ अर्व ३१ करोडको तुलनामा ६.५९ प्रतिशतले न्यून रहेको छ।
आ.व.२०७७/७८ मा प्राधिकरणको सञ्चालन खर्च अघिल्लो आर्थिक वर्षको रु.६१ अर्व ८७ करोडको तुलनामा १०.९६ प्रतिशतले बृद्घि भई रु.६८ अर्व ४५ करोड पुगेको छ। विद्युत खरिद बापत आ.व.२०७७/७८ मा रु.४१ अर्व ४६ करोड खर्च भएको छ, जुन आ.व.२०७६/७७ को खरीद भन्दा १८.०५ प्रतिशतले बढी हो।
आ.व.२०७७/७८ मा प्राधिकरणको अन्य आम्दानी सहितको खुद आम्दानी रु. ८० अर्व ३५ करोडमा सञ्चालन खर्च रु.६८ अर्व ६४ करोड कट्टा गर्दा हुन आउने सञ्चालन मुनाफा रु. ११ अर्व ७१ करोड रहेको छ। यो मुनाफा आ.व. २०७६÷७७ को रु.२३ अर्व ७४ करोडको तुलनामा ५०.६७ प्रतिशतले घटी हो।
आ.व.२०७७/७८ मा कर अघिको मुनाफा ६ अर्व रहेको छ जुन आ.व. २०७६/७७ को रु १३ अर्व २७ करोडको तुलनामा ५४.७३ प्रतिशतले कमी हो । साथै आ.व. २०७६/७७ को कर पछिको खुद मुनाफा रु ११ अर्व ६८ करोड रहेकोमा गत आ.व.मा रु ३ अर्व ५१ करोड अर्थात ६९.९४ प्रतिशतले कमी रहेको छ ।
प्रणालीमा उपलब्ध विद्युतमा खरिदको हिस्सा ६८.३४ प्रतिशत रहेको छ । विद्युत विक्री बापत प्राप्त आम्दानीकोे ५८.८३ प्रतिशत रकम विद्युत खरिदमा खर्च भएको छ । आ.व.२०७६/७७ को तुलनामा विद्युत आयात बढ्न गएकोले आ.व.२०७७/७८ मा विद्युत खरिद बापतको खर्चमा १८.०५ प्रतिशतले बृद्घि भएको छ ।
निर्माण सम्पन्न भएका आयोजनाहरु
राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ६ वटै यूनिटबाट पूर्णक्षमतामा विद्युत उत्पादन भइरहेको हुँदा यसलाई प्राधिकरणले महत्वपूर्ण सफलताको रुपमा लिएको छ ।
ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन सन् २०२० नोभेम्बर ११ मा ४०० के.भी.मा चार्ज भएको छ । आ.व.२०७७/७८ मा १३२ के.भी. क्षमताका ६०४.७४ सर्किट किलोमिटर प्रसारण लाइनको निर्माण तथा स्तरोन्नती सहितको २१३४.२० एमभिए क्षमताका सबस्टेसनको निर्माण कार्य पूरा भएको छ ।
प्राधिकरणले आ.व.२०७७÷७८ मा सम्पन्न गरेको २२६.५ एम.भि.ए. क्षमताका ३३÷११ के.भी.का १० वटा वितरण सबस्टेसनसहित हालसम्म कूल १९२८ एम.भि.ए.का १६१ वटा वितरण सबस्टेसनको निर्माण पूरा गरी सञ्चालनमा ल्याएको छ ।
आ.व.२०७७÷७८ मा ३३ के.भी., ११ के.भी. र ०.४/०.२३ के.भी. वितरण लाइनहरु क्रमशः ७०९ सर्किट किलोमिटर, २८२७ सर्किट किलोमिटर र ८७१६ सर्किट किलोमिटर निर्माण सम्पन्न भई हालसम्म निर्माण सम्पन्न भएका उल्लेखित क्षमताका लाइनहरु क्रमशः ६०१९ सर्किट कि.मी., ४१,५५० सर्किट कि.मी.र १,२९,०८१ सर्किट कि.मी. पुगेको छ । साथै हाल सम्म ३,६२३ एम.भि.ए. क्षमताका ३७,१६३ वटा वितरण
ट्रान्सफर्मरहरु वितरण प्रणालीमा जडान भएका छन् ।
वितरण प्रणालीतर्फ २१२.२ एम.भि.ए. क्षमता बराबरका ३३/११ केभी सबस्टेसन, २०६६ सर्किट किलोमिटर ३३/११ के.भी. लाइन, ८४० सर्किट किलोमिटर ११ के.भी. भूमिगत वितरण लाइन, १८९४ सर्किट कि.मी.को ४०० भोल्टको लाइन र १११७ सर्किट कि.मी.को ४०० भोल्ट भूमिगत वितरण लाइन निर्माण भइरहेका छन्।
साथै ८ एम.भि.ए.को एउटा ३३/११ के.भी.सबस्टेसनको निर्माण सम्पन्न भएको छ भने ३३ के.भी., ११ के.भी. र ४०० भोल्टेजस्तरका क्रमशः १०५ किलोमिटर, १७२ किलोमिटर र ४०० किलोमिटर लाइनको निर्माण पूरा भएको छ ।
निर्माणाधीन आयोजनाहरू
प्राधिकरणबाट १३२ के.भी., २२० के.भी. र ४०० के.भी. क्षमताका क्रमशः १०३१ सर्किट किलोमिटर, ११६५ सर्किट किलोमिटर तथा ७५६ सर्किट किलोमिटर गरी कुल २९४२ सर्किट किलोमिटर प्रसारण लाइन तथा ९,२०० एमभिए क्षमता बराबरका ग्रीड सबस्टेसनहरु निर्माण भइरहेका छन् ।
चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरीे उपत्यकाका १३ वटा ग्रिड सबस्टेसनमा स्वचालित सबस्टेसन प्रणाली जडान गर्ने कार्य भइरहेको छ ।
मुलुकमा प्रसारण प्रणालीको पूर्वाधार विकास गर्न १९०० सर्किट कि.मी. भन्दा बढी ४०० के.भी. प्रसारण लाइन र २९० सर्किट किलोमिटर १३२ केभी प्रसारण लाइनको विस्तृत इन्जिनियरिङ तथा वातावरणीय अध्ययनको कार्य परामर्शदाताले गरिरहेको छ ।
त्यसैगरी आगामी ३० वर्षसम्मका लागि देशका प्रमुख शहरहरूमा पर्याप्त विद्युत उपलब्ध गराउन आवश्यक प्रसारण लाइन र सवस्टेशनको अध्ययन गर्ने कार्यसमेत परामर्शदाताबाट भइरहेको छ ।
प्राधिकरणका सहायक कम्पनीहरू
प्राधिकरणका विभिन्न सहायक कम्पनीहरु मार्फत १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोशी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको अपर सान्जेन, १४० मेगावाटको तनहुँ जलाशययुक्त, ३७ मेगावाटको माथिल्लो त्रिशुली ३बि, ४० मेगावाटको राहुघाट, १०६० मेगावाटको माथिल्लो अरुण र ३० मेगावाटको इखुवा खोला, ९९.८ मेगावाटको तामाकोशी पाचौं, ६३५ मेगावाटको दुधकोशी जलाशययुक्त, ४२ मेगावाटको माथिल्लो मोदी ए र १९.८ मेगावाटको माथिल्लो मोदी बी, ८२८ मेगावाटको उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजनाहरु अध्ययन तथा निर्माणको विभिन्न चरणमा रहेका छन् ।
निजी क्षेत्रको सहभागिता
निजी क्षेत्रबाट प्रबद्र्घित ८१४ मेगावाट बराबरका १०८ आयोजना सञ्चालनमा आएका छन् भने ३५०६ मेगावाट बराबरका १३८ आयोजनाहरू निर्माणाधीन अवस्थामा छन् । हालसम्म प्राधिकरणले निजी क्षेत्रसंग कुल ६१७२ मेगावाट बराबरको ३४५ आयोजनाहरुको विद्युत खरीद बिक्री सम्झौता गरेको छ ।
अन्तरदेशीय विद्युत व्यापार
प्राधिकरणले पहिलोे पटक भारतको दैनिक खुल्ला विद्युत बजारमा सहभागीता जनाएको छ । नेपाल–भारत बीचको पहिलो ४०० के.भी. ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन सन् २०२० नोभेम्बर ११ मा ४०० के.भी.मा चार्ज भए पश्चात भारतीय इनर्जी एक्स्चेन्जमार्फत विद्युत आयात निर्यात गर्न मार्ग प्रशस्त भएको छ ।
प्राधिकरणले आर्थिक वर्ष २०७७/७८ मा ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनसहित भारतसँग सीमा जोडिएका अन्य विभिन्न बिन्दुबाट २८०६ गिगावाट घन्टा विद्युत आयात गरेको छ भने नेपालले कुल ४४ गिगावाट घन्टा विद्युत निर्यात गरेको छ ।
भाबी कार्यदिशा
ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयबाट जारी श्वेत पत्र–२०७५ मा ऊर्जा क्षेत्रको आगामी दशकको मार्ग चित्र स्पष्ट उल्लेख भएकोले यसलाई मुल दस्तावेज मानि प्राधिकरणको भावी क्रियाकलापहरु अगाडी बढाइने छ ।
सबै सरोकारवाला तथा कर्मचारी वर्गले अपनत्व लिने गरी एवम् कर्मचारीहरुको सेवा, सुविधा, पेन्सन, उपदान आदीको समेत सुनिश्चितता हुने गरी प्राधिकरणको पुनस् संरचना गरिने छ ।
प्राधिकरणको दीर्घकालिन लक्ष्य हासिल गर्नका लागि समग्र काम कार्बाहीहरु एकिकृत र ब्यवस्थितरुपमा सञ्चालन गर्ने उद्देश्यले जारी गरिएको संस्थागत विकास योजना (Corporate Development Plan प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ ।
विद्युत उत्पादनदेखि वितरणसम्मको प्रणाली अनुगमन, नियन्त्रण र व्यवस्थापन स्वचालित प्रणालीबाट गरी सञ्चालन लागत घटाई ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गरिने छ ।
४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना लगायत विभिन्न आयोजनाहरुबाट उत्पादित विद्युत विक्रिको लागि बजार व्यवस्थापन कार्य चुनौतीपूर्ण रहेको छ । उत्पादित विद्युतको स्वदेशमा नै खपत गर्न तथा बढी भएको विद्युत अन्तर्देशीय बजारमा विक्रि गर्न बजारको अध्ययन विश्लेषण गरी उपयुक्त कदम चालिने छ ।
स्वदेशमै विद्युत खपत बृद्धि गर्न सके उत्पादित विद्युतको उपयोग मात्र हुने नभै देशको आर्थिक र सामाजिक विकासमासमेत सकारात्मक प्रभाव पार्ने भएकोले विद्युत खपत बृद्धिको पूर्वाधार निर्माण, ग्रामिण विद्युतीकरण, कृषि, सिँचाइ र औद्योगिक वर्गका ग्राहकको महशुलमा पुनरावलोकन, विद्युतीय सवारी साधनको प्रयोग र विद्युतीय चुलोको उपयोग गर्न र तदनुरुप जनचेतना अभिबृद्धि गर्नेसमेतका कार्यहरु प्रभावकारी रुपमा सञ्चालन गरिने छ ।
विद्युत माग र खपत बृद्घिसँगै वितरण प्रणालीको समेत विस्तार र सुदृढीकरण गर्नुपर्ने भएकोले सो कार्यलाई समेत प्राथमिकताका साथ अघि बढाइने छ । क्षेत्रीय, उपक्षेत्रीय तथा छिमेकी राष्ट्रहरुसँग विद्युत खरिद बिक्री सम्झौताका माध्यमबाट विद्युत व्यापार गर्ने दिर्घकालिन लक्ष्य अनुरुप पूर्वाधार निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाइने छ ।
बुटवल–गोरखपुर ४०० के.भी. अन्तर्देशीय प्रसारण लाइन निर्माण गर्न प्राधिकरण र पावर ग्रिड कर्पोरेशन अफ ईन्डिया लिमिटेड, भारत बीच सहमति भए अनुरुप यथाशिघ्र लाइन निर्माण गर्न आवश्यक प्रक्रिया अघि बढाईने छ । रातमाटे – केरुङ्ग ४०० के.भी. प्रसारण लाइन निर्माण गन विस्तृत डिजाईन लगायत अध्ययन कार्य तदारुकताका साथ अगाडि बढाईने छ ।
९९.८ मेगावाटको तामाकोशी पाचौं, ६३५ मेगावाटको दुधकोशी जलाशययुक्त, २१० मेगावाटको चैनपुर सेती, १०६० मेगावाटको अपर अरुण जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन गरी यथाशिघ्र निर्माण गर्ने प्रकृया अघि बढाइने छ ।
सम्बत २०८० सालभित्र देशका सबै जनसंख्यामा विद्युतको पहुँच पु¥याउने नेपाल सरकारको लक्ष्य पूरा गर्न प्राधिकरणले आवश्यक कार्यहरु सञ्चालन गर्नेछ । देशका विभिन्न स्थानीय तहहरुसँग समन्वय गरी शहर उज्यालो राख्न स्वचालित सडक बत्तिहरु जडान गर्ने कार्यलाई देशव्यापीरुपमा अगाडि बढाईनेछ । रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रमा पाईलट प्रोजेक्टको रुपमा शुरु भएको स्मार्ट मिटर जडान कार्यलाई चालु आ.व.मा काठमाडौं उपत्यका लगायत उपत्यका बाहिरसमेत विस्तार गरिनेछ ।
नेपाल विद्युत प्राधिकरणको प्रसारण तथा वितरण प्रणालीमा रहेका अप्टिकल फाईवरको व्यावसायिक उपयोग गरिनेछ । शहरी सौन्दर्यतालाई कायम राख्दै वितरण प्रणालीलाई आधुनिकीकरण गर्न काठमाडौं उपत्यका, पोखरा, भरतपुर लगायत मुलुकका प्रमुख शहरहरुमा भूमिगत वितरण लाइन निर्माण गरिने छ ।
संस्थागत सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्दै उपभोक्ताहरुलाई उत्कृष्टरुपमा सेवा प्रदान गर्ने लक्ष्यसहित सुदृढ र सबल प्राधिकरणको निर्माण गर्न सम्पूर्ण प्रयासहरु केन्द्रित गरिनेछ ।
कठिन परिस्थितीमासमेत प्राधिकरणका हरेक गतिविधिमा निरन्तररुपमा सहयोग एवम् समर्थन गरी हामीलाई हौसला र प्रेरणा प्रदान गर्नुहुने आम जनता, उपभोक्ता एवम् विभिन्न व्यावसायिक संस्थाहरुप्रति विशेष आभार प्रकट गर्दै आगामी दिनमा मुलुकभरका जनतालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्न हरसम्भब प्रयास गरिने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।
अन्त्यमा, नेपाल विद्युत प्राधिकरणको कार्यसम्पादन र उपलब्धिमा प्रत्यक्ष वा परोक्षरुपमा सहयोग गर्नुहुने सबैप्रति पुनः एकपटक हार्दिक आभार व्यक्त गर्दै सबैको निरन्तर सहयोग र समर्थनबाट प्राधिकरणले नेपालको उर्जा बिकासका साथै समृद्ध नेपाल निर्माण गर्न महत्वपूर्ण भूमिका निर्बाह गर्ने बिश्वास ब्यक्त गर्दछु । धन्यवाद !







डिसी नेपाल








Facebook Comment