सभामुखको व्यवहारप्रति एमाले आक्रोशित, सापकोटाको नियतमाथि प्रश्न
काठमाडौं। प्रमुख प्रतिपक्ष नेकपा एमालेले माधव नेपालसहित १४ जना सांसदलाई कारवाही गरेको भदै १ गते संसद सचिवालयलाई जानकारी गराइसकेपनि सभामुख अग्नि सापकोटाले दल त्यागेको सूचना जारी नगरेपछि रुष्ट बनेको एमाले सभामुखप्रति आक्रोशित बनेको छ।
बिहीबार एमालेका १६ जना सांसदले सभामुख सापकोटालाई भेटेर दल त्यागेको सूचना चाँडो जारी गर्न दबाव दिएको थियो। तर सभामुखले आलटाल गरेपछि शुक्रबार पनि एमाले सांसदहरु सभामुखको कार्यकक्षमा पुगेका थिए।
त्यहाँ उनीहरु डेढ घण्टासम्म कुर्दासमेत सभामुख नआएपछि एमाले सचेतक शान्ता चौधरीले सभामुख सापकोटालाई टेलिफोन गरेकी थिइन्। जवाफमा सभामुख सापकोटाले आफू पूर्व निर्धारित कार्यक्रममा बाँसबारीमा रहेको भन्दै आज कार्यालय नआउने जानकारी गराएका थिए।
एमाले सचेतक चौधरीका अनुसार सापकोटाले कार्यालय नआउने बताएपछि १४ सांसदलाई कारवाही गर्न गरेको सिफारिसका विषयमा कुरा गर्दा आफूले यो विषयमा पहिला नै क्लियर गरिसकेको भन्दै सोही बमोजिम गर्ने जवाफ दिएका थिए।
सापकोटाले आफ्नो संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसँग कुरा भइसकेको भन्दै यो विषयमा धेरै दुख गर्नु नपर्ने जवाफ दिएका थिए। शुक्रबार डेढ घण्टासम्म कुर्दासमेत सभामुख नआएपछि एमाले सांसदहरु सभामुख सापकोटाप्रति आक्रोशित बनेका छन्।
‘सभामुख पूर्वाग्रही देखिनु भयो। हिजो माओवादी केन्द्रले कारवाही गर्न सिफारिस गर्दा सूचना जारी गरिहाल्ने, एमालेले सिफारिस गर्दा चाहिँ कानुन र संविधान हेर्नुपर्ने?,’ एमाले सचेतक चौधरीले डिसी नेपालसँग भनिन्, ‘सभामुख कुनै व्यक्ति होइन, संस्था हो। उहाँले मर्यादित काम गर्नु भएन।’
बिहीबार त सभामुखले अस्वभनीय गतिविधि गरेको एमालेको आरोप छ। एमालेका सांसदहरुले बिहीबार सापकोटालाई भेटेर १४ जनाले दल त्याग गरेको सूचना चाँडो जारी गर्न सभामुखलाई दबाव दिएका थिए। सभामुखले आफूले यो विषयमा बुझ्नु पर्ने र प्रक्रिया हेरेर मात्र जवाफ दिने बताएपछि सभामुख सापकोटा र एमाले सांसदबीच भनाभन नै भएको थियो।
‘हिजो माओवादीले सिफारिस गरेकालाई दल त्यागको सूचना जारी गर्दा र अहिले एमालेलाई सूचना गर्दा के संविधान संशोधन भएको छ?,’ चौधरीले भनिन्, ‘हामीले कारवाहीको सिफारिस गरेको चार दिन पूरा हुँदासमेत सूचना जारी नगर्दा सभमुखले पदीय दायित्व भुलेको हामीले ठानेका छौं।’
उनले सभामुखको व्यवहार आपत्तिजनक भएकोसमेत बताइन्। चौधरीले शुक्रबार विहानै आफूले सभामुखलाई फोन गरेको तर सभामुखले यो विषयमा आफूले हिजै क्लियर गरिसकेको जवाफ दिएको बताइन्।
सभामुख सापकोटा र प्रमुख प्रतिपक्ष एमालेबीचको तिक्तता बढ्दै जाँदा त्यसको असर संसदमा पर्ने निश्चित छ। सामान्यता संसद प्रतिपक्षको भनिन्छ। संसदलाई सहज रुपमा संचालन गर्न प्रतिपक्षलाई विश्वासमा लिनु सभामुखको कर्तव्य हुन्छ।
तर अहिले सभामुखले निष्कक्ष भूमिका निर्वाह गर्न नसकेको एमालेले आरोप लगाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिन अगाडि एक कार्यक्रममा सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउँदै संसद चलाउने मन छैन भन्दै विरोध जनाएका थिए।







डिसी नेपाल








Facebook Comment