प्रदेश १ सरकार संकटमा : भीम आचार्यविरुद्ध विपक्षी गठबन्धन बहुमतमा

डिसी नेपाल
१४ भदौ २०७८ १२:०१
976
Shares

विराटनगर। प्रदेश १ मा भीम आचार्यकाे मुख्यमन्त्री पद संकटमा परेकाे छ। उनले गत बिहीबार पदभार सम्हालेका हुन्। सरकार बनेकाे दिनदेिख नै ढाल्ने कसरत सुरु भएको छ । एमाले सरकार टिकाउने खेलमा लागेको छ भने विपक्षी गठबन्धन सरकार परिवर्तनको खेलमा लागेको छ।

नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी तथा साना दुई दलका सांसदहरु सरकार परिवर्तनमा लागेका छन्। प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राई विदा भएर आचार्य आएसँगै एकीकृत समाजवादीका नेता राजेन्द्र राई आफनो नेतृत्वमा सरकार बनाउने कसरतमा लागेका छन्।

एकीकृत समाजावादीमा १० जना सांसद खुलिसकेका छन्। राजेन्द्रकुमार राई, खिनु लङ्बा, सावित्रीकुमारी रेग्मी, राजन राई, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ्, सुनिताकुमारी चौधरी, सरिता थापा, उपेन्द्र घिमिरे, पदमकुमारी गुरुङ माधव नेपाल पक्षामा खुलेका छन्। राजेन्द्र, गणेशकुमार र कृष्ण कुमारी एकीकृत समाजवादीको केन्द्रीय सदस्य पनि हुन्।

भदौ महिनाभित्रै सरकार बनाइसक्ने समाजावादीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद राजेन्द्र राईले न्युज कारखानालाई बताए। चार पाँच दिनदेखि अब कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाइरहेको राईले जानकारी दिए । एमाले, माओवादीलगायतका दलहरुसँग पनि छलफल भइरहेको उनको भनाइ छ।

प्रदेश १ मा ९३ सांसद रहेकोमा माओवादी केन्द्रका सांसद टंक आङ्वोहाङ एमाले प्रवेश गरेपछि ९२ छन्। उनकाे सांसद पद गुमिसकेकाे छ। एमालेमा ५१, कांग्रेसमा २१, माओवादी केन्द्रमा १५, जनता समाजवादीमा तीन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपामा एक/एकजना छन्।

एमालेका ५१ सांसदमध्ये गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागज मुद्दामा दोषी ठहर गरेदेखि फरार छन्। बाँकी रहेका ५० जना सांसदमध्ये १० जना समाजवादीमा संगठित भएपछि एमाले ४० सांसदमा सीमित बनेकाे छ। मुख्यमन्त्री आचार्यलाई प्रदेशसभामा बहुमतसिद्ध गर्न ४६ सांसद आवश्यक छ । तर, उनीसँग ४० सांसद मात्रै भएपछि अल्पमतमा परेका हुन्।

यतिबेला मुख्यमन्त्री आचार्य जनता समाजवादीका तीन र अन्य साना दलका दुई र एकीकृत समाजवादीतर्फ गएका एक सांसद तानेर बहुमत जुटाउने रणनीतिमा लागेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.