एमसीसीबारे छलफल गर्न आकस्मिक क्याविनेट

डिसी नेपाल
१९ भदौ २०७८ २३:३७
368
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिवार एमसीसीबारे छलफल गर्न आकस्मिक क्याविनेट बैठक बोलाए । अर्थ मन्त्रालयले एघार बुँदे चिठी लेखेपछि त्यो पूरै सरकारको धारणा हो कि होइन भन्ने प्रश्न उठेपछि प्रधानमन्त्री देउवाले क्याविनेट बैठक राखेर यसबारे छलफल गराएका थिए।

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशनको ५ सय मिलियन अमेरिकी डलर सहयता लिनेबारे विवाद चलिरहेका बेला शनिबार आकस्मिक बैठकमा अर्थ मन्त्रालयको पत्रले मात्र नभए नेपाल सरकारकै तर्फबाट परराष्ट्र मन्त्रालयले अमेरिकी सरकारलाई अर्को आधिकारिक पत्र लेख्ने निर्णय गरिएको छ।

विहान ११ बजेदेखि १ बजेसम्म चलेको सो बैठकमा यो सम्झौता संसदबाट अनुमोदन भए अमेरिकाले नेपालमा सैनिक नै तैनाथ गर्छ भन्ने चर्चाले नेपालीहरु त्रसित भएपछि यही कुरालाई मुलरुपमा अमेरिकाले सम्बोधन गरिदेओस् भन्ने उदेश्यले पत्र लेख्ने निर्णय भएको बताइएको छ ।

नेपाली जनताले उठाएका आशंकालाई अमेरिकी सरकारले सम्बोधन गरेर प्रतिउत्तर दिएपछि एमसीसी सम्झौतालाई आगामी भदौ २३ देखि शुरु हुने संसदको बैठकमा प्रस्तुत गर्नेबारे मन्त्रिपरिषद्ले पुन छलफल गर्ने तयारी सरकारले गरेको छ।

यसअघिको क्याविनेट बैठकमा एमसीसी पास नगर्दा कुटनैतिकरुपमा नेपाल समस्यामा पर्दै जानेबारे छलफल भएको थियो। त्यसैले यसबारे उठेका प्रश्नमा फेस सेभिंगका लागि भए पनि अमेरिकी सरकारसंग पत्राचार गर्नेबारे अर्थ मन्त्रालयले तयारी गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका थिए।

एमसीसीको कार्यकारी प्रमुख फतिमा सुमारसहितको प्रतिनिधिमण्डल आगामी साता नेपाल भ्रमणमा आउने भएकाले उनी आउंदा नेपाली जनताले उठाएका प्रश्नहरुको पनि सम्बोधन होस् र एमसीसी संसदबाट पनि अनुमोदन गर्न सकियोस् भन्ने चाहनामा प्रधानमन्त्री देउवा छन् ।

माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत केही न केही फेस सेभिंगको बाटो खोजेकाले क्याविनेटबाटै निर्णय गराएर अमेरिकी सरकारलाई पत्राचार गर्ने निर्णय भएको बताइएको छ।

यसअघि आजै नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले रिपोर्टर्स क्लबको कार्यक्रममा नेपाली जनताले उठाएका प्रश्नहरु सम्बन्धित निकायले स्पष्ट पारेपछि पास गर्ने नगर्नेबारे संसदमा प्रस्तुत गरिने बताएका थिए।

महतलाई प्रधानमन्त्री देउवाले एमसीसीबारे अध्ययन गरेर फिडव्याक दिने महतको नेतृत्वमा एउटा टिम बनाएका थिए र उनले दिएको फिडव्याकका आधारमा एमसीसीबारे अमेरिकासंग थप प्रश्न सोध्ने निर्णय गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.