पृथ्वीनारायण शाहलाई साक्षी राखेर सेनापति थापाले यसरी लिए अवकाश(तस्वीरहरु सहित)

डिसी नेपाल
२० भदौ २०७८ २१:४३
5.0k
Shares

काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापा आज भदौ २० देखि आफ्नो सरकारी निवास शशिभवन छाडेर निजी निवासमा सरेका छन्। उनले सरकारी निवास छाड्ने दिन नै अवकाशको दिनको औपचारिक हस्तान्तरण कार्यक्रम पनि सम्पन्न भएको छ।

सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रममा अवकाश हुनु चार दिन पूर्व नै सेनापति पदको जिम्मेवारीको औपचारिक हस्तान्तरण गरिएको छ। सेनापति थापाले भदौ २४ गतेदेखि अवकाश प्राप्त गर्दैछन्।

प्रधानसेनापति थापाले नयाँ प्रधानसेनापति प्रभुराम शर्मालाई आफ्नो जिम्मेवारी सुम्पदा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई साक्षी राखेको एउटा अर्कै दृश्य सैनिक मुख्यालयमा देखिएको छ। नेपाली सेनाको गठन र परिचालनको मुख्य अभिभारा राजा पृथ्वीनारायण शाहले लिएका थिए।

अर्थात् उनको नेपाल एकीकरणको अभियानसँगै नेपाली सेनाको संगठनात्मक स्वरुप विकसित हुँदै आएको हो। त्यसैले मुलुक एकीकरणकर्ताले बनाएको सेनाको कमाण्ड आफूले चलाएर अव शर्माको हातम सुम्पेको छु भन्ने सन्देश दिन सेनापति थापाले पृथ्वीनारयण शाहको शालिक अगाडि हस्तानतरण कार्यक्रमको औपचारिकता दिएको बताइएको छ।

नेपाल र भारतका बीच बर्षौंदेखि चलिआएको सीमा विवादका सन्दर्भमा सेनापति थापाले नेपाली सेनालाई सिधै सीमा रक्षामा जाने संबैधानिक म्याण्डेट नभए पनि सीमा रक्षाको दायित्व लिन सैनिक मुख्यालयमा सीमासम्बन्धी छुट्टै विभाग खोलेर सेनाको संबेदनशिलताबारे छिमेकीलाई समेत सन्देश दिइसकेका छन्।

नेपालको सीमाबारे सबै सुरक्षा निकाय र नेपाल सरकारका सम्बन्धित विभागहरुलाई समेत सहभागी गराएर सामुहिक गोष्ठी गरी सेनाको चासो पनि उनले सार्वजानिक गरेका थिए।

नेपालका लम्पियाधुरा, लिपुलेक र कालापनी लगायतका ठाउंमा भारतले सीमा मिचेको भए पनि तत्कालीन केपी ओली सरकारले ती भूमि नेपालकै भएको भन्दै संसदबाटै नक्सा पारित गरेर नयां नक्सा जारी गरेको थियो ।

कतिपयले नेपाली भूमिमा भारतको अतिक्रमणको प्रयासलाई समेत मध्यनजर गर्दै थापाले नेपाली सेनाको संरचनालाई भावी चुनौतीको सामना गर्ने गरी तीन जोड एकको संरचनामा रुपान्तरित गर्ने निर्णय गरेको बताउने गरेका छन्।

नेपालको राष्ट्रियता, भूमिको रक्षा र राष्ट्रिय एकतालाई एकसाथ लिएर यी मुख्य अभिभारालाई आफ्नो कार्यकालमा महत्व दिएको सन्देशसहित आगामी दिनमा पनि पृथ्वीनारायण शाहको नासोका रुपमा नेपाली सेनालाई नयाँ सेनापति प्रभुराम शर्माको हातमा सुम्पेको सन्देश जाँदा जाँदै सेनापति थापाले दिएका छन्।

२७५ बर्ष पुरानो र एशियाको सबैभन्दा पुरानो सेनालाई आफूले सक्षम र कविल अधिकृतका रुपमा नयाँ सेनापतिलाई सुम्पेको उनले हस्तान्तरण कार्यक्रममा बताएका थिए।

जिम्मेवारी हस्तान्तरण कार्यक्रममा बोल्दै सेनापति थापाले मेरो कार्यकालमा प्राप्त सफलता तपाईंहरुको सहयोगले प्राप्त भएकोले साझा सफलताका रुपमा लिएको बताए। उनले आफ्नो कार्यकालमा केही असफलता वा अपजस प्राप्त भए त्यो असफलताको जिम्मेवारी आफ्नोमात्र भएको उनले बताएका थिए।

उनले आफूले भक्ति थापाको सन्तानको रुपमा कुललाई साक्षी राखेर कुनै नियतबस गलत काम गर्दिन भनेर बाचा गरेको र गलत काम नगरेको बताएका थिए ।

आगामी नेतृत्वलाई नेपाली सेनाको एक दरिलो डुंगालाई कुनै मुसो पसेर प्वाल नपारोस् र त्यो डुंगा नढुबोस् भन्नेबारे सतर्क रहन पनि उनले आग्रह गरेका छन्। उनले मुसाहरु भनेर आफ्नै संगठनभित्रका खराव तत्वहरुतर्फ संकेत गरेका थिए । कार्यक्रममा पूर्वप्रधानसेनापतिहरु प्यारजंग थापा र राजेन्द्र क्षेत्रीको सहभागिता थियो ।

कार्यक्रममा नेपालका तीनवटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र गुप्तचरका प्रमुखहरुले सम्मानस्वरुप मायाको चिनो प्रदान गरेका थिए । सेनापतिको विदाइका सन्दर्भमा यो नयाँ दृश्य थियो। त्यसैगरी रक्षा सचिवले पनि मोमेन्टो प्रदान गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.