एमसीसी पारित गराउन डा. भट्टराईको मध्यराति ट्वीट
काठमाडौं । भूतपूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष बाबुराम भट्टराईले एमसीसी पास गराउन आह्वान गर्दै मध्यराति ट्वीट गरेका छन् ।
अमेरिकी सहयोग परियोजना एमसीसीबारे नेपालमा व्यापक विवाद भएका बेला उनको यस्तो विचार आएको हो । यसलाई संसदबाट पारित गर्ने कि नगर्ने भन्नेबारे सत्ता गठबन्धनका नेताहरुबीच फरक मत रहदै आएको छ । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्ने कामका लागि संसदको बैठक भदौ २३ गतेदेखि आह्वान गरेपछि यसबारे नेपालको राजनीति तातेको छ । एमसीसी मुख्यालय वासिंगटन डिसीबाट यसबारे कुराकानी गर्न एमसीसीकी प्रमुख फतिमा सुमारसहितको प्रतिनिधिमण्डल सोमबार नेपाल पुग्दै छ । एमसीसी सम्झौता नेपाली कांग्रेसकै नेतृत्वमा भएको र माओवादी नेताहरु प्रचण्ड र बाबुरामसहितका सरकारहरु पनि यसमा संलग्न रहँदै आएको अवस्था भए पनि नेपालमा एमसीसीलाई विवादित बनाउने प्रयास हुँदै आएको छ ।

यसै सनदर्भमा डा. भट्टराईले देश विकासका सूत्रहरुझैं लाग्ने गरी केही बुँदाहरु बुँदागतरुपमा उल्लेख गर्दै एमसीसी कार्यान्वयन गर्न आह्वान गरेका हुन् । उनले अमेरिकासँग चिठी आदानप्रदान गर्दै एमसीसी कार्यान्वयन गर्न सुझावसमेत दिएका छन् । तर, अमेरिकासँग आदान प्रदान गर्ने पत्रमा के कुरा उल्लेख हुनुपर्छ भन्नेबारे भने उनले केही लेखेका छैनन् । उनले ३ नं बुँदामा लेखेका छन्,‘अमेरिकासँग चिठी आदानप्रदानसहित एमसीसी कार्यान्वयन गरौं । युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौं ।’
त्यसैगरी भारतसँगका सबै विवादहरु समाधानको सूत्र पनि भट्टराई ट्वीटमार्फत दिएका छन् । उनको सूत्रअनुसार, उच्चस्तरीय राजनीतिक कुटनीतिक वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी असल छिमेकी बन्न सकिन्छ । साथै चीनसँगका बीआरआई र पारवाहनलगायतका सम्झौता पनि कार्यान्वयन गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।







डिसी नेपाल








Facebook Comment