गुण्डा नाइके गिरी जहाँ आतङ्क त्यहाँ

डिसी नेपाल
२१ भदौ २०७८ १६:४०
3.2k
Shares

काठमाडौं । कारागारभित्र भिन्दै साम्राज्य खडा गर्दै विभिन्न अपराधिक गतिविधी गरेको खुलेपछि अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका छन् , गुन्डा नाइके अभिषेक गिरी ।

उनलाई लगभग साढे ३ वर्षअघि मोरङबाट काठमाडौंस्थित डिल्ली बजार कारागार स्थानान्तरण गरे पनि पुनः मोरङ जिल्ला कारागार सरुवा गरेपछि कारागारभित्र खैलाबैला मच्चिएको छ । उनको विगतका गलत हर्कतका कारण कैदीबन्दीले असुरक्षित महसुस गर्न थालेका छन् । मोरङ कारागारमा हुँदा कैदीबन्दीको नेतृत्व गर्ने चौकीदारको जिम्मेवारी उनलाई दिइएको थियो ।

कैदीबन्दीलाई चरम यातना दिने, कुटपिट गर्ने, महिनावारी असुल्ने तथा कारागारभित्र सजाय भुक्तान गरिरहेकाहरुलाई उपभोग्य वस्तु महँगो मूल्यमा बिक्री गर्ने र टेलिफोनमा महँगो मूल्य लिने गरेको आरोप उनीमाथि छ । उनलाई २०७४ साल चैत २३ गते डिल्ली बजार स्थानान्तरण गरिएको हो । गृहमन्त्रालय स्रोतका अनुसार एउटा कारागारबाट सरुवा भएका व्यक्तिलाई पुनः सोही कारागारमा सरुवा गर्न मिल्दैन । एउटै कारागारमा पठाउने परम्परा पनि छैन । तर कांग्रेस नेताहरुको सोर्सफोर्समा उनलाई विराटनगर पठाइएको स्रोतले बतायो । सरुवाका लागि कारागार व्यवस्थान विभाग बन्दी प्रशासन शाखाले कारागार कार्यालय डिल्लीबजारलाई पत्र लेखेको छ । शाखा अधिकृत सन्तोष लामिछानेले हस्ताक्षर गरेको पत्रको चलानी नम्बर २८७ छ । पत्रको बोधार्थ मोरङ कारागारलाई दिइएको छ ।

पत्रमा लेखिएको छ, ‘तहाँ (डिल्लीबजार) कारागारमा रहेका तपशील बमोजिमका कैदीबन्दीहरुलाई निजको मुद्दासँग सम्बद्ध सबै कागजातसहित आवश्यक सुरक्षाका साथ कारागार कार्यालय मोरङमा स्थानान्तरण गर्नु गराउनु हुन साथै उक्त बन्दी बुझाउन ल्याएमा कारागार कार्यालय मोरङले बुझिलिन हुन समेत मिति २०७८ भदौ १७ गतेको निर्णय अनुसार अनुरोध छ ।’

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सरुवा विराटनगर कारागारमा हुन लागेको पुष्टि गरे । गिरीसहित चार जनाको विराटनगर सरुवा भएको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.