धौलागिरिमा इन्धन अभाव, साँझसम्म लोकमार्ग खुल्ने

डिसी नेपाल
२४ भदौ २०७८ १६:१८
52
Shares

काठमाडौं।राष्ट्रिय गौरवको सडक सञ्जाल मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड विगत एक सातादेखि अवरुद्ध हुँदा धौलागिरिमा इन्धन अभाव भएको छ।

१८ भदौदेखि आएको पहिरोले पर्वतको चुवादेखि डिमुवासम्मको सडक क्षतविच्छेद गरेपछि सड्क यातायात पूर्णरूपले बन्द भएको हो । सडक नखुल्दा धौलागिरिमा डिजेल, पेट्रोल, मट्टितेलको अभाव भएको उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले बताए।

साविक धौलागिरिका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा तरकारी तथा फलफूलको समेत अभाव छ । स्थानीयस्तरमा उत्पादन भएको तरकारीले बजार माग धान्न नसकेपछि मूल्य वृद्धि भएको छ ।

सडक यातायात सञ्चालन नहुँदा धौलागिरि क्षेत्रबाट उपचारको लागि पोखरा, काठमाडौं तथा देशका अन्य ठूला अस्पतालमा जानुपर्ने बिरामी मर्कामा परेका छन्। आपतकालीन अवस्थाका बिरामीका आफन्तले चर्काे भाडा तिरेर हेलिकप्टर प्रयोग गर्न बाध्य भएका छन् ।

एक सातादेखि सडक अवरुद्ध भए पनि बागलुङमा खाद्यान्न अभाव नभएको अध्यक्ष राजभण्डारीले बताए । ‘हामीसँग दुई महिनालाई पुग्ने खाद्यन्न स्टक छ’, उन भने, ‘आत्तिएर भण्डार गर्नुपर्दैन ।’
मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले अवरुद्ध सडक खुलाउने काम जारी राखेको छ । अन्य क्षेत्रको पहिरो पन्छ्याउने काम सकिए पनि मोदी गाउँपालिकाको पातीचौरमा खसेको ठूलो चट्टान हटाउन कठिन भएको मध्यपहाडी लोकमार्ग पर्वत कार्यालयका इन्जिनियर उज्जवल शर्माले बताए । नेपाली सेनाको केवल जंग गुल्मसँग समन्वय गरी ठूला ढुंगालाई विस्फोटक पदार्थ प्रयोग गरी फुटाउने कार्य भइरहेको छ ।

बिहीबार साँझसम्म लोकमार्ग एकतर्फी रुपमा सञ्चालनमा आउने इन्जिनियर शर्माको भनाइ छ । पहिरोले क्षतविच्छेद गरेको क्षेत्रमा तीनवटा डोजर प्रयोग गरेर ढुंगा माटो हटाउने काम भएको छ ।
‘अन्य ठाउँमा समस्या छैन’, इन्जिनियर शर्माले भने, ‘पातीचौरको ढुङ्गा हट्यो भने सडक नियमित सञ्चालन हुन्छ ।’ पहिरोले धौलागिरिमा इन्टरनेट सेवासमेत अनियमित बनाएको छ । फाइबार तार परेपछि सेवा प्रभावित बनेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.