अफगानिस्तानको जुनियर राष्ट्रिय महिला फुटबल टिम पाकिस्तान पुग्यो
काठमाडौं। अफगानिस्तानको जुनियर राष्ट्रिय फुटबल टिमका सदस्यहरु पाकिस्तान पुगेका छन् । गत महिना अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि नै यी खेलाडीहरु तालिबानी लडाकुको डरले लुकेर बसेका थिए । यहाँका सिनियर महिला फुटबल खेलाडीहरुको टिम गत महिना नै काबुलबाट बाहिरिन सफल भएका थिए तर जुनियर महिला खेलाडीहरुको टिम कथित रुपमा फसेको थियो ।
पासपोर्ट र दस्तावेज पूरा नभएका कारण उनीहरु अफगानिस्तानबाट निस्किन सकेका थिएनन् । ‘फुटबल फर पिस’ नामको च्यारिटी संस्थाको पहलपछि ३२ खेलाडीहरु र उनीहरुका परिवारका लागि पाकिस्तानको भिसा जारी भएको हो । पाकिस्तान फुटबल महासंघका एक अधिकारीले बताएअनुसार कूल ८१ जनाको एक समूहलाएै लाहोरमा महासंघको मुख्यालयमा बस्न अनुमति दिइएको छ । यसपछि अझै ३४ जना पनि यो समूहमा थपिनेछन् ।
अधिकारीहरुका अनुसार यी खेलाडीहरुलाई कुनै तेस्रो देशमा शरण लिनको लागि आवेदन गर्नुभन्दा पहिले ३० दिनसम्म कडा सुरक्षाका बीच पाकिस्तानमै राखिनेछ । द इन्डिपेन्डेन्टले हालै यी खेलाडीहरुले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई पत्र लेखेर देशमा तत्काल प्रवेशको लागि अनुमति मागेको खुलासा गरेको थियो । पत्रमा यी खेलाडीहरुले तालिबानबाट खतरा हुन सक्ने आशंका गरेको दावी गरिएको छ ।







डिसी नेपाल







Facebook Comment