मृत्यु भइसकेकाको भत्ता लिने तत्कालीन गाविस सचिव अख्तियारको फन्दामा
काठमाडौं । गाविसका तत्कालीन सचिवसहित पाँचजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता गरेको छ ।
मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्ता बापतको रकम निकासा गरी आर्थिक अनियमितता गरेको भन्दै उदयपुरको रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित तत्कालीन गाविस सचिव लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद खतिवडा र पुष्पराज सिग्देलविरुद्ध अख्तियारले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
तत्कालीन गाविस सचिवहरुले मृत्यु दर्ता भएपश्चात् मृतकको सामाजिक सुरक्षा भत्ता वितरणको भरपाईमा कैफियत जनाई लगत कट्टा गर्नुपर्नेमा मृतक लाभग्राहीहरुका नाममा साथै दोहोरो नामको भरपाई बनाएर भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । उजुरीपश्चात् छानबिन गर्दा रु १६ लाख ४० हजार ५०० हिनामिना गरेको खुल्न आएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए । उनका अनुसार उक्त गाविसमा सात–आठ वर्षअघि नै मृत्यु भइसकेकाको व्यक्तिका नाममा आर्थिक वर्ष २०६३÷६४ सालदेखि २०७१÷०७२ सालसम्ममा बनावटी नाममा सामाजिक सुरक्षा भत्ताबापतको रकम निकासा गरी अनियमितता गरेको देखियो ।
अख्तियारले तत्कालीन गाविस सचिव केशवप्रसाद आचार्यसँग नौ लाख ९० हाजार ५००, लोकेन्द्र कार्कीसँग ७८ हाजार, विशाल सुन्दाससँग ८२ हजार, माधवप्रसाद खतिवडासँग तीन लाख १४ हजार र पुष्पराज सिग्देलसँग एक लाख ७६ हजार रुपैँया सजायको मागदाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ एवं दफा ३५ बमोजिम अदालतमा आरोपपत्र दायर गरेको हो ।







डिसी नेपाल








Facebook Comment