सेवा प्रवाहमा समस्या
काठमाडौं । जिल्ला प्रशासन कार्यालय डोटीमा प्रमुख जिल्ला अधिकारी तथा प्रशासकीय अधिकृत नपठाएका कारण गणनाका लागि सेवा प्रवाहमा कठिन हुँदै आएको छ ।
राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको गणनाका लागि घरधुरी सङ्कलनका लागि यहाँका नौवटै स्थानीय तहमा सुपरीवेक्षक खटिएको छ । जिल्ला जनगणना कार्यालय डोटीले सुपरीवेक्षकलाई तालिम दिएर यही असोज १८ गतेसम्मका लागि प्रत्येक घरपरिवारको सूचीकरण लिइसक्ने गरी टोली घरदैलोमा खटाएपछि उक्त टोलीले काम तीव्ररुपमा अगाडि बढाएको कार्यालयले जनाएको छ ।
प्रजिअ नहुँदा जिल्लामा विभिन्न सुरक्षासम्बन्धी बैठक हुन सकेका छैनन् भने प्रशासकीय अधिकृत नहुँदा नागरिकता वितरणदेखि अन्य सिफारिसका कार्यमा सेवाग्राहीलाई समस्या हुने गरेको बताइएको छ ।
यतिमात्र नभई प्रशासनमा तोकिएका अन्य दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको दिपायल सिलगढी नगरपालिका–५ का रामबहादुर भण्डारीले बताए । यहाँ कार्यरत प्रजिअ सुनिल खनाललाई गृह मन्त्रालयमा सरुवा गरिएपछि जिल्ला प्रशासन कार्यालय प्रमुखविहीन बनेको हो । प्रजिअको सरुवा भएपछि अहिले निमित्त प्रजिअ किरण जोशीलाई तोकिएको छ । एकजना मात्रै निमित्त प्रजिअ जोशीले नागरिकता प्रदान, राहदानी सिफारिसदेखि अन्य विभिन्न प्रकारका सेवा प्रदान गर्नुपर्ने बाध्यता रहेको छ ।
कर्मचारी अभावले सेवाग्राहीलाई कठिनाई भएको निमित्त प्रजिअ जोशीले बताए । उनले भने “प्रजिअ पनि हुनु हुन्न, प्रशासकीय अधिकृत पनि छैनन्, काममा समस्या भएको छ, सेवाग्राहीलाई पनि गारो भएको छ ।” प्रजिअसहित २१ जनाको दरबन्दी रहेकामा हाल १७ कर्मचारी मात्र कार्यरत छन् । कार्यरत कर्मचारीमा केही कारागारमा पठाइएका कारण पनि सेवाग्राहीका काममा समस्या उत्पन्न भएको बताइएको छ ।







डिसी नेपाल








Facebook Comment