कांग्रेस अधिवेशन : काठमाडौं महानगर सभापतिमा प्रगतिमान र नीलकाजीबीच प्रतिस्पर्धा
काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत काठमाडौं महानगरगपालिकाको अधिवेशन १६ असोजमा हुँदैछ। यसअघि अन्य जिल्लामा पालिका अधिवेशन भए पनि काठमाडौंमा भने रोकिएको थियो।
काठमाडौं महानगर सभापति पदका लागि प्रगतिमान रञ्जित र नीलकाजी शाक्यबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। १५ वर्षपछि अधिवेशन हुन लागेको काठमाडौं महानगरमा संस्थापन पक्षबाट शाक्य र इतर पक्षबाट शाक्य चुनावी मैदानमा उत्रँदैछन्।
११औं महाधिवेशनबाट निर्वाचित महानगर सभापति देवरत्न डंगोलको कार्यकाल सकिएपछि १२औं र १३औं महाधिवेशनका बेला काठमाडौं महानगरको अधिवेशन नै भएन।
लामो समयपछि अधिवेशन हुन लागेकाले पनि काठमाडौं महानगरको कांग्रेस नेतृत्वमा प्रतिस्पर्धा कडा हुने आंकलन गरिएको छ । काठमाडौं महानगरमा कांग्रेसका ११ सय ६० प्रतिनिधि छन्।
संस्थापन पक्षका रञ्जितलाई काठमाडौं जिल्ला सभापतिका दाबेदार उपेन्द्र कार्की, कृष्णप्रसाद सिटौला पक्षका नेता भीमसेनदास प्रधानलगायतको समर्थन छ। इतर पक्षका शाक्यलाई पूर्वमहामन्त्री प्रकाशमान सिंह, काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँ, महानगर मेयरका प्रत्यासी राजुराज जोशीलगायतको समर्थन रहेको बताइन्छ।
कांग्रेस-कांग्रेसबीचको दूरी घटाउँछु : प्रगतिमान
डेढ दशकसम्म कांग्रेस काठमाडौं महानगरको निर्वचन हुन नसकेकाले पुराना र नयाँ कांग्रेस कार्यकर्ताबीच दूरी बढेको रञ्जितको बुझाइ छ। कांग्रेस-कांग्रेसबीचको दूरी घटाउन आफ्नो उम्मेदवारी रहेको उनले बताए।
‘१५ वर्षसम्म अधिवेशन हुन नसक्दा महानगरमा कांग्रेसको क्रियाशील संख्या घटेको छ। नयाँ र पुराना नेता कार्यकर्ताबीच दूरी बढेको छ। त्यसलाई अन्त्य गरेर महानगरमा बलियो कांग्रेस बनाउने मेरो पहिलो एजेन्डा हो,’ रञ्जितले न्युज कारखानासँग भने, ‘काठमाडौंमा रैथाने नेवार र बाहिरबाट आउने कांग्रेसीबीचको खाडल पुर्न पनि मेरो सभापतिमा उम्मेदवारी हो।’
महानगर सभापति बनेपछि सबै वडा र नगरकार्यपालिकामा कांग्रेस जिताउने आफ्नो लक्ष्य रहेको उनले बताए। २०४४ मा शंकरदेव क्याम्पसबाट नेविसंघको राजनीति थालेका रञ्जित नेपाल तरुण दलको काठमाडौं महानगरको संस्थापक सभापतिसमेत हुन्।
उनी पार्टीको तत्कालीन क्षेत्र नम्बर ४ को सचिव तथा पार्टीको काठमाडौं जिल्ला कार्यसमितिको आमन्त्रित सदस्य बनिसकेका छन्। हाल उनी पार्टीको केन्द्रीय संगठन विभाग सदस्य छन् । लामो समयदेखि पार्टीमा इमान्दार कार्यकर्ता भएर काम गरेको तथा समाजसेवामा सक्रिय भएकाले पनि आफूले सभापतिमा जित्ने उनले दाबी गरे।
सशक्त कांग्रेस बनाउन मेरो उम्मेदवारी : नीलकाजी
नीलकाजी काठमाडौं महानगरपालिका-२५ का वडाध्यक्ष हुन्। २०३६ को विद्यार्थी आन्दोलनदेखि सक्रिय राजनीतिमा जोडिएका शाक्य २०४४ सालमा पब्लिक युथ क्याम्पसको स्ववियु सभापति निर्वाचित भएका थिए।
नेपाल तरुण दलको संस्थापक केन्द्रीय सदस्य रहेका शाक्यले पार्टीको नयाँ र पुरानो दुवै पुस्ताको भावना समेटेर आफू महानगर नेतृत्वको प्रत्यासी बनेको बताए।
‘मैले सभापतिमा जित्यो भने काठमाडौं महानगरको नेतृत्वसहित बहुमत वडामा कांग्रेस जिताउनेछु,’ शाक्यले भने, ‘देशकै राजधानी र जेठो महानगर भएकाले काठमाडौं महानगरको कांग्रेस सभापतिको जिम्मेवारी धेरै हुन्छ। महानगरमा बलियो कांग्रेस बनाएर देशैभरी ऊर्जा भर्ने काम गर्छु।’







डिसी नेपाल








Facebook Comment