कालंगा हाइड्रोको आईपीओ चैत १० देखि निष्कासन हुने
काठमाडौं। कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको आईपीओमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ। प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको यस आईपीओमध्ये १४ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ। स्थानीयतर्फ ९ लाख १० हजार कित्ता अति प्रभावित क्षेत्रका बासिन्दालाई र ४ लाख ९० हजार कित्ता अन्य प्रभावित क्षेत्रका बासिन्दालाई बाँडफाँट गरिने कम्पनीले जनाएको छ। त्यस्तै, ३ लाख ५० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिनेछ।
दुवैतर्फका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाका लागि आईपीओ छिटोमा चैत २४ गतेसम्म र ढिलोमा वैशाख ९ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चैत १५ देखि चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ।
आईपीओको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले बझाङमा १५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजना सञ्चालन गर्दै आएको छ, जसबाट २०७९ माघ २७ गतेदेखि व्यावसायिक उत्पादन सुरु भएको हो। कम्पनी हाल १ करोड ३१ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९८.५६ रुपैयाँ रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment