ग्यास अभावविरुद्ध घण्टाघरमा नेविसंघको प्रदर्शन, रित्तो सिलिन्डर बोकेर विद्यार्थी सडकमा

डिसी नेपाल
२ भदौ २०८३ १२:०५

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंको घण्टाघर अगाडि ग्यास अभावविरुद्ध प्रदर्शन गरेको छ । ग्यासको अभावका कारण विद्यार्थी तथा सर्वसाधारणलाई दैनिक खाना पकाउन समस्या परेको भन्दै नेविसंघले रित्तो ग्यास सिलिन्डर बोकेर प्रदर्शन गरेको हो ।

त्रिचन्द्र बहुमुखी क्याम्पस नेविसंघले आयोजना गरेको प्रदर्शनमा विद्यार्थीहरूले सरकारको ध्यानाकर्षण गराउँदै तत्काल ग्यास अभावको समस्या समाधान गर्न माग गरेका छन् । प्रदर्शनमा सहभागी विद्यार्थीहरूले रित्तो ग्यास सिलिन्डर बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

विद्यार्थीहरूले ‘बालेन सरकार, चुलो समस्या समाधानमा किन यति ढिलो?’, ‘निभ्यो चुलो, भोकै पेट, मौन सरकार, कति सहने?’ र ‘किताब बोकेर पढ्ने कि, सिलिन्डर बोकेर लाइनमा बस्ने?’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

ग्यास अभावका कारण लामो समयसम्म ग्यासको लाइनमा बस्नुपर्ने अवस्था सिर्जना भएको र यसले विद्यार्थीको पढाइसँगै दैनिक जीवनसमेत प्रभावित भएको नेविसंघको भनाइ छ । विद्यार्थीहरूले खाना पकाउने अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।

नेविसंघले ग्यासको आपूर्ति तत्काल सहज बनाउन, अभावको कारण पहिचान गर्न र विद्यार्थी तथा सर्वसाधारणले सहज रूपमा ग्यास पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

ग्यासको अभाव लम्बिँदै जाँदा काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा उपभोक्ताले समस्या भोगिरहेका बेला विद्यार्थी संगठनले समेत सडकमा उत्रिएर सरकारको ध्यानाकर्षण गराएको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *