मतदाता नामावलीबाट अभिनेता प्रकाश राजको नाम हटाइयो

डिसी नेपाल
२६ साउन २०८३ १३:५१

काठमाडौं । चर्चित अभिनेता प्रकाश राजले आफ्नो मताधिकार खोसिएको दाबी गरेका छन्। बेङ्गलुरु निर्वाचन क्षेत्रको मतदाता नामावलीबाट आफ्नो नाम हटाइएको उनको भनाइ छ। ‘विशेष संक्षिप्त पुनरीक्षण’ (एसआइआर) प्रक्रियापछि यस्तो भएको उनले बताएका छन्।

बेङ्गलुरुमै जन्मे-हुर्केका, अध्ययन गरेका र रङ्गमञ्च (थिएटर) सुरु गरेका प्रकाश राजले यस घटनाप्रति व्यङ्ग्य गर्दै यसलाई ‘उत्कृष्ट ठट्टा’ को संज्ञा दिएका छन्।

सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मा एउटा भिडियो सेयर गर्दै उनले मतदाता नामावलीबाट नाम हटाइनुलाई ठूलो ठट्टा भनेका छन्। उनले भनेका छन्, ‘हेरौँ, अब मेरो भोटर कार्ड फिर्ता पाउनका लागि के-के कागजातहरू देखाउनुपर्ने रहेछ।’

चुनौतीपूर्ण शैलीमा प्रस्तुत हुँदै उनले थपे, ‘खेल अझै बाँकी छ। उनीहरू आफ्नो शक्ति देखाउनका लागि यी सबै गर्न सक्छन्, मेरो भोट हाल्ने अधिकार खोस्न सक्छन्। तर के उनीहरूले मलाई उनीहरूलाई सत्ताबाट हटाउनबाट रोक्न सक्लान् ?’

भिडियोको क्याप्सनमा अभिनेताले लेखेका छन्, ‘तपाईंहरूले ती नागरिकहरूको भोट हाल्ने अधिकार खोस्न सक्नुहुन्छ, जसले सायद तपाईंलाई फेरि सत्तामा नचुन्न सक्छन्। तर तपाईं जुन सत्तामा बसिरहनुभएको छ, त्यहाँबाट तपाईंलाई तल ओराल्ने हाम्रो प्रयासलाई के तपाईं रोक्न सक्नुहुन्छ ?’

यसअघि गत जुन महिनामा बेङ्गलुरुको एउटा अदालतले प्रकाश राजविरुद्ध गैरजमानती वारेन्ट जारी गरेको थियो। उनीमाथि भारतका धेरै राज्यहरूबाट मतदाता परिचयपत्र लिएको आरोप लगाइएको छ।

सन् २०१९ मा वकील दिलीप कुमारले अभिनेता प्रकाश राजविरुद्ध ‘हलासुरु गेट’ प्रहरी चौकीमा उजुरी दर्ता गराएका थिए। प्रकाश राजसँग चारवटा राज्यको मतदाता परिचयपत्र रहेको र उनले निर्वाचनसम्बन्धी नियमको उल्लङ्घन गरेको दाबी उजुरीमा गरिएको थियो।

आफ्नो उजुरीमाथि प्रहरीले कुनै कारबाही नगरेपछि दिलीपले बेङ्गलुरु सहरका प्रहरी आयुक्त र निर्वाचन आयोगसँग सम्पर्क गरेका थिए। त्यहाँबाट पनि कुनै प्रतिक्रिया नआएपछि उनी अदालत पुगेका थिए। अदालतले अभिनेतालाई उपस्थित हुनका लागि दुई पटक सम्मन (तारेख) पठाएको थियो। तर उनी अदालतसामु उपस्थित नभएपछि अदालतले गैरजमानती वारेन्ट जारी गरेको थियो।

दक्षिण भारतीय तथा हिन्दी सिनेमाका प्रसिद्ध अभिनेता प्रकाश राज आगामी चलचित्र ‘दृश्यम ३’ मा देखिँदै छन्। चलचित्रबाहेक उनी आफ्ना खरो र स्पष्ट बयानहरूका कारण सधैँ चर्चामा रहने गर्छन्। उनी सामाजिक तथा राजनीतिक मुद्दाहरूमा खुलेर आफ्नो धारणा राख्छन्। केही समयअघि दिल्लीमा भएको विद्यार्थी आन्दोलनमा पनि प्रकाश राज सहभागी भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *