एनपीएल: वर्षाले ५ ओभरमा छोट्याइएको खेलमा सुदूरपश्चिममाथि विराटनगरको रोमाञ्चक र शानदार जित

डिसी नेपाल
१४ कार्तिक २०८३ २२:४१

काठमाडौं।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध शानदार जित हात पारेको छ। वर्षा र भिजेको आउटफिल्डका कारण ढिला गरी सुरु भई ५-५ ओभरमा छोट्याइएको रोमान्चक खेलमा विराटनगरले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै महत्त्वपूर्ण जित दर्ता गरेको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कप्तान सन्दीप लामिछाने नेतृत्वको विराटनगर किंग्सले निर्धारित ५ ओभरमा २ विकेट गुमाउँदै १०५ रनको विशाल योगफल खडा गरेको थियो।

विराटनगरका लागि ओपनिङमा आएका श्रीलङ्कन ब्याटर शेहान जयसूर्याले मात्र ११ बलमा २ चौका र ५ छक्काको मद्दतले ३९ रनको आक्रामक पारी खेले। सुदूरपश्चिमका लागि एनपीएल डेब्यु गरेका स्पिनर थरिन्दु रत्नायाकेको पहिलो ओभरमै जयसूर्याले ५ छक्का प्रहार गरेपछि विराटनगरले पहिलो ओभरमै ३५ रन जोड्दै विष्फोटक सुरुवात गरेको थियो।

अर्का ओपनर लोकेश बमले १० बलमा २५ रन (१ चौका, ३ छक्का) बनाए भने तेस्रो नम्बरमा आएका वेस्टइन्डिजका अलराउन्डर आन्द्रे रसेलले १० बलमा अविजित २९ रन (२ चौका, ३ छक्का) जोड्दै टोलीको रन गतिलाई अझै तीव्र बनाए। सुदूरपश्चिमका लागि अभिनाश बोहराले २ ओभरमा २८ रन खर्चेर २ विकेट लिएका थिए।

१०६ रनको कठिन लक्ष्य पछ्याएको दीपेन्द्रसिंह ऐरी नेतृत्वको सुदूरपश्चिम रोयल्सले निर्धारित ५ ओभरमा ३ विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो।

विराटनगरका स्टार बलर आन्द्रे रसेलले पहिलो ओभरको पहिलो बलमै सुदूरपश्चिमका खतरनाक ब्याटर शेर्फान रदरफोर्ड (०) लाई बोल्ड गर्दै टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए। कप्तान दीपेन्द्रसिंह ऐरी १ रनमै एन्जेलो म्याथ्युजको बलमा आउट भए। सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले ४ बलमा अविजित २२ रन, सेफ जैबले १० बलमा १७ रन र आरिफ शेखले ८ बलमा अविजित १७ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन।

विराटनगरका लागि बलिङतर्फ आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र रुपेश सिंहले १-१ विकेट हात पारे। यो शानदार जितसँगै विराटनगर किंग्सले प्रतियोगितामा महत्त्वपूर्ण २ अंक जोड्दै प्लेअफ यात्राको सम्भावना बलियो बनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *