अमर व्यक्तित्वहरूलाई सम्झँदा

कपिल लोहनी
१४ कार्तिक २०८३ ७:५१

कहिलेकाहीँ मनमा निकै कुरा खेल्छन्- को हुन् त आफूलाई ज्यादै मन पर्ने अमर व्यक्तित्वहरू ? विश्वमा विभिन्न समयमा निकै ख्याति कमाएर केही व्यक्तिहरू अरूभन्दा असाधारण दर्जामा पुग्न सफल भएको इतिहास पढ्न पाइन्छ।

तर, त्यो लोकप्रियता र सत्कार्यलाई टिकाएर राख्न धेरैजसो मानिसहरू असफल हुन जान्छन्। विगत ४० वर्षको नेपालको राजनीतिक इतिहासलाई मात्र हेर्ने हो भने पनि केही व्यक्तित्वहरूलाई नेपालीले सदा पुजेर बस्नेछन् भन्ने जस्तो छाप हामीमा परेको थियो। तर, तिनले छिटै नै विभिन्न व्यक्तिगत र पारिवारिक स्वार्थमा डुबेर आफूले कमाएको लोकप्रियतालाई माटोमा मिलाउन पुगे।

मलाई व्यक्तिगत रूपमा भने विश्वका तीन महामानवले भित्रैसम्म निकै छाप पार्न सफल भएका छन्– गौतम बुद्ध, महात्मा गान्धी र नेल्सन मण्डेला। अरूभन्दा यिनीहरू के कुराले फरक रहेछन् भनेर पनि म बेलाबेलामा घोत्लिने गर्दछु।

निकै सोचविचार गर्दा यी तीनै जनाले निस्वार्थ भावनाका साथ लोकको कल्याण गर्ने काम गरेका रहेछन्। यी तीनै जना निकै विद्वान्, त्यागी, प्रतिशोधको भावनाबाट मुक्त तथा जस्तै परिस्थितिको पनि सामना गरेर समाधान निकाल्न सक्ने व्यक्ति रहेछन्।

आजभन्दा २,५०० वर्षअघि वर्तमान नेपालको लुम्बिनी क्षेत्रमा एक राजकुमारको रूपमा जन्मिएका सिद्धार्थ गौतम मानवजातिमा जीवनका विभिन्न अध्यायहरू जस्तै- भोक, रोगव्याधी, बुढ्यौली, मृत्यु, पुनर्जन्म आदिबाट आहत भएका थिए।

मानिसले कसरी सुखी जीवन व्यतीत गर्न सक्छन् भन्ने खोजीको सिलसिलामा उनले आफ्नो दरबार, परिवार र सबै सुख-सयलका साधन छोडेर एक साधुको रूपमा वर्तमान भारतको बिहार राज्यका विभिन्न स्थानमा गएर लामो साधना गरे।

आखिर बोधगयामा भोक-प्यास सबै बिर्सेर गरेको तपस्यापछि उनलाई निर्वाण प्राप्त भयो। आफ्नो महान् तपस्याबाट प्राप्त ज्ञानलाई उनले विभिन्न ठाउँका मानिसहरूलाई सुनाए अनि उनी बुद्ध कहलिन पुगे।

उनले जीवनमा कैयौँ दुःख–कष्ट र अपमान सहनुपरे पनि उनी कहिल्यै आत्तिएनन् र थाकेनन्। बरु, निकै सहनशील मुस्कानका साथ सबैलाई आफ्नो विचारतर्फ आकर्षित गर्न र केही अति महत्वपूर्ण शिष्यहरू बनाउन सके।

विलासी जीवन र चरम सादगीको मध्यमार्गको रूपमा नैतिकता, ध्यान, कर्म, दया, अहिंसा, दान, त्याग, सहनशीलता, प्रेम, शान्तिजस्ता कुरालाई जीवनको अभिन्न अङ्ग मानेर सबै मानवजातिले अघि बढ्नुपर्ने दर्शनलाई नै समग्रमा ‘बुद्ध दर्शन’ भनिन्छ।

बुद्धले भनेका छन्, ‘सच्चा निर्वाण प्राप्त गर्न लोभ, लालच, विरक्ति, आशा, अहम् जस्ता भ्रमबाट मुक्ति पाउनुपर्छ र त्यो नै जीवनको सर्वोच्च आध्यात्मिक लक्ष्य यानी निर्वाण हो।’

आज दक्षिण एसियादेखि दक्षिणपूर्वी एसिया, चीन, मङ्गोलिया, मध्य एसिया र विश्वभर नै उनलाई एक महान् व्यक्तित्वको रूपमा मान्ने मानिसहरू करोडौंको सङ्ख्यामा भेटिन्छन्।

उनका शिष्य र अनुयायीहरूले उनको दर्शनलाई बौद्ध धर्मको रूपमा मानेर उनलाई भगवान्को संज्ञा दिए पनि उनी विश्वको इतिहासमा नै एक अति लोकप्रिय व्यक्तित्व हुन्। जुनसुकै युग वा समयमा पनि उनका विचारले उत्तिकै सार्थकता पाउने गरेका छन्।

विभिन्न मुलुकमा उनका विचारहरूलाई समेटेर आफ्नै प्रकारका दर्शनको निर्माण गर्नेहरू पनि छन्। त्यस्तै, जहाँजहाँ उनी पुजिन्छन्, त्यहाँका मानिसहरूले बुद्धको मूर्तिमा उनी उतै जन्मेका रैथाने जसरी, उताका मानिसजस्तै मुहार र भेषभूषामा प्रस्तुत गर्दछन्। विश्वभरका सम्भ्रान्तहरूको बैठक कोठामा उनका सुन्दर मूर्ति वा चित्रकला सजाइएका हुन्छन्।

पाकिस्तानको तक्षशिला, अफगानिस्तानको बामियान र अन्य धेरै ठाउँमा उनको नामोनिशान मेट्ने हेतुले विभिन्न धर्ममा आस्था राख्ने कट्टरपन्थीहरूले उनका मूर्ति र स्तूपाहरू तोडफोड पनि गरेका थिए। तर त्यसो गर्दैमा एक महान् चिन्तक र समग्र मानवजातिको हितमा काम गर्ने शान्तिका अग्रदूतको नामोनिशान मेट्न कसले पो सक्दछ र !

आखिर ती देशकै पछिल्ला शासक तथा प्रशासक र जनताले एक अटल इतिहासलाई मेट्ने काम गरेकोमा त्यहाँका उग्रवादी तत्त्वहरूको भर्त्सना पनि गरे भने बचेखुचेका उनका भग्नावशेषलाई संरक्षण गरेर गौरवका साथ विश्वलाई प्रदर्शन पनि गर्ने गरेका छन्।

सन् १८६९ को अक्टोबर २ तारिखमा भारतको गुजरातको एक सम्पन्न मोद बनिया (व्यापारिक) परिवारमा जन्मेका महात्मा गान्धीको खास नाम मोहनदास करमचन्द गान्धी हो। उनले बेलायतमा गएर कानुन विषयको अध्ययन गरेर ब्यारिस्टर (वकील) हुने मौका पाएका थिए।

अध्ययन पश्चात् आफ्नो व्यावसायिक काम भारतमा गर्ने राम्रो अवसर नपाएकोले उनी दक्षिण अफ्रिकामा गएर २१ वर्षसम्म बसेर काम गरे। त्यतिबेलाको दक्षिण अफ्रिकामा अश्वेत जातिलाई गोराहरूले अति नै पाशविक व्यवहार गर्थे र गान्धीले पनि कैयौँपटक त्यस्ता व्यवहारको सामना गर्नुपर्‍याे।

चुपचाप सहेर बसेको भए उनले त्यहाँ ठूलो धनराशिका मालिक बन्न सक्थे र बेलायतमा नै पनि आप्रवास गर्ने मौका उनसँग थियो। तर, अति नै स्वाभिमानी उनले गोराहरूको अन्याय सहन सकेनन् र त्यहीँबाट बहुमत अश्वेत जातिको नागरिक अधिकारको निम्ति अहिंसावादी शान्तिप्रिय आन्दोलन सहित सशक्त आवाज उठाउन थाले।

गोराहरूले लगाउने जस्तो सुट तथा अन्य विलासी लवाइ, खवाइ र रहनसहन सबै त्यागेर उनले एक साधारण सादगीपूर्ण भेषमा धोती बेरेर खाली खुट्टा पैदल हिँड्दै सानो कुटीमा बस्न रुचाए भने मानवअधिकारको लागि सम्पूर्ण जीवन नै बलिदान दिए। उनको यही सादगी, त्याग तथा विद्वत्ताको कारण उनको नामको अगाडि ‘महात्मा’ राखियो, जुन नामले आज उनी विश्वभर परिचित छन्।

सन् १९१५ मा ४५ वर्षको उमेरमा उनी भारत फर्केपछि भारतीय राष्ट्रिय काङ्ग्रेसको नेतृत्व सम्हाल्दै किसान र मजदुरको हकहितको निम्ति काम गर्न थाले भने अछूत तथा महिलाको अधिकारको निम्ति पनि आवाज बुलन्द गर्न थाले। भारतमा त्यहीँका स्थानीय व्यक्तिले शासन गर्नुपर्छ र अङ्ग्रेज फर्केर जानुपर्छ भन्ने मागका साथ ‘स्वराज’को सिद्धान्तलाई अघि सारे।

भगत सिंहजस्ता कतिपय राष्ट्रभक्तहरूले बेलायतीहरू विरुद्ध सशस्त्र संघर्षको बाटो अपनाएकाले दमनमा परेर सहिद हुनुपर्ने अवस्था आयो भने गान्धीको धोती र खाली खुट्टा सहितको शान्तिप्रिय आन्दोलन र लामो-लामो पदयात्रालाई दबाउन पनि बेलायतले सकेन।

आखिर उनैको विद्वत्ता र शान्तिको सन्देशको बाटो अपनाएर भारतीय जनताले स्वतन्त्रता प्राप्त गरे। स्वतन्त्रताको निम्ति भारत र बेलायतमा भएका वार्तामा गान्धीले नाङ्गो खुट्टामा हिँडेर शरीरलाई एउटा धोतीले मात्र बेरेर गोराहरूसँग वार्ता गर्दा उनीहरू नाजवाफ हुने गर्दथे।

विद्या प्राप्त गर्न गहन अध्ययन र अनुभवको भण्डार आफूसँग हुनुपर्छ र धनसम्पत्ति र बाहिरी आवरणले असली विद्वत्तालाई माथ गर्न सक्दैन भन्ने कुरा उनले साबित नै गरिदिएका थिए।

बेलायतीहरूले भारत छोडेर जाने बेलामा पनि हिन्दू र मुसलमानका निम्ति भिन्न राज्यको बखेडा खडा गरेर विशाल भारतलाई टुक्राउने षड‍यन्त्रको जाल बुने। आखिर राम्रैसँग मिलेर बसेका हिन्दू र मुसलमानहरूबीच ठूलो झडप र मारकाट सुरु भयो।

महात्मा गान्धी एक अति नै शान्तिप्रिय र दूरदर्शी व्यक्तित्व भएकाले उनले त्यतिबेलाका उच्च नेताहरूलाई मनाएर मुलुकमा काटमारको स्थिति आएर सधैँ अशान्ति हुनुभन्दा भिन्न अस्तित्वका साथ मिलिजुली बच्नुमा फाइदा छ भन्ने सन्देशका साथ भारत र पाकिस्तान दुई भिन्न स्वतन्त्र राष्ट्र बन्ने बाटो खुलाइदिए। तर पछिसम्म पनि उनको यो महान् कार्यको सराहना न त पाकिस्तानीहरूले गरे न भारतीय हिन्दूहरूले नै।

आखिर दुई भिन्न राष्ट्र बन्ने बेलामा पनि एकले अर्का धर्मावलम्बीलाई मार्ने, लुट्ने, आगजनी र घृणा गर्ने, देश निकाला गर्ने जस्ता घृणित कार्य भइरहे। तर गान्धी भने कुनै भयबिना नै त्यस्ता हिंसा भड्किएका ठाउँहरूमा गएर अहिंसाको पक्षमा बोलिरहे र कैयौँ ठाउँमा आमरण अनसनमा पनि बसे।

यसै सिलसिलामा ३० जनवरी १९४८ का दिन राजधानी नयाँदिल्लीको बिडला भवनमा शान्ति पुनर्स्थापनाको निम्ति हुन लागेको प्रार्थना सभामा जाँदा एकजना कट्टर हिन्दू कार्यकर्ता नाथुराम गोडसेको बन्दुकको गोलीबाट उनको निधन हुन पुग्यो। छातीमा तीनवटा गोली दागिएर भुइँमा लड्दा पनि बिनाभय उनको मुखबाट ‘हे राम’ शब्द उच्चारण भएको थियो।

गान्धीको अहिंसा सहितको शान्तिपूर्ण आन्दोलन, विभिन्न जातजाति, धर्म, स्वतन्त्रता, प्रजातन्त्र र राष्ट्रियताको रक्षार्थ पदयात्रा, सादगी र विद्वत्ताको अगाडि अङ्ग्रेजहरू पनि नतमस्तक हुन्थे भने भारतका कतिपय असल राजनीतिज्ञहरूले उनका यी गुणहरूको अनुकरण गर्ने गरेका पनि थिए।

नेपालमा पनि राणातन्त्र विरोधी आन्दोलन र अन्य पछिल्ला आन्दोलनहरूमा गान्धीकै समाजवाद, चर्खा आन्दोलन, सत्याग्रह आदिको अनुकरण भएपछि ठूलो जनसमूहको सहभागिता बढेको थियो।

आज बेलायतसहित विश्वका धेरै मुलुकहरूमा गान्धीका अहिंसा र शान्तिका सूत्रहरू र उनका विचारधाराहरूलाई पालना गर्नेहरूको सङ्ख्या ठूलो छ भने उनलाई विश्वमा नै गौतम बुद्ध पछिको आधुनिक बुद्धको रूपमा पनि पुजिन्छ। उनको जन्म दिन २ अक्टोबरलाई विश्वभर अहिंसा दिवसको रूपमा मानिन्छ।

न्युजिल्यान्डजस्तो अति टाढाको देशको राजधानी वेलिङटनको रेल स्टेसनमा पनि गान्धीको पूर्णकदको सालिक देख्न पाउँदा मन निकै प्रसन्न भएको थियो भने अकल्यान्डमा पनि बौद्ध ध्यान केन्द्रको भ्रमण गर्न पाइएको थियो।

बेलायत र अन्य युरोपेली मुलुकहरूले पूरै विश्वलाई शताब्दीसम्म गुलाम बनाएर लुट्ने काम गरे र सोही लुटको धनबाट आज उनीहरू विकसित राष्ट्र बन्न पुगेका छन्।

भारतका थुप्रै साना राज्यहरूमा निर्मम तवरले हमला गरेर तोडफोडका साथ आफ्नो साम्राज्यभित्र मिलाए तर फर्केर जाने बेलामा ती सबै राज्यहरूमा एक प्रकारको भुसको आगो सल्काएर गए। नेपालीहरू बस्ने क्षेत्रहरूलाई नेपालबाट टुक्र्याएर भारतमा मिलाए तर आज पनि हामी सबै नेपालीमा सिमानाले विभाजित हुनुपरे पनि एक प्रकारको मायाले छोड्न सकेको छैन।

आफ्ना साम्राज्यलाई छोडेर जानुपर्ने बेला भएपछि तिनले ती मुलुकहरूमा विभिन्न प्रकारका बखेडाका बीउ रोपेर गएका थिए। फलस्वरूप आज पनि भारत, पाकिस्तान वा अन्य अफ्रिकी मुलुकहरू एकापसमा लडेर र यिनै पश्चिमा मुलुकहरूबाट वर्षैनी अथाह मूल्यका हातहतियार खरिद गरेर अशान्ति र गरिबीलाई बढावा दिने काम गरिरहेका छन्।

आज आएर अमेरिकाले पनि आफ्ना पूर्वजहरूको उद्गम स्थल युरोपबाट यस्ता विद्या सिकेर लडाउने र बिगार्ने कलाको प्रयोग गरिरहेको छ। कुबुद्धिले ढिलो या चाँडो आफैलाई पिरोल ్नेछ भन्ने कुराको विचार अहंकारको बेला शून्य भएको हुन्छ।

मलाई ज्यादै मन परेका अर्का व्यक्तित्व हुन्- नेल्सन मण्डेला। सन् १९१८ जुलाई १८ मा दक्षिण अफ्रिकाको थेम्बु राजघराना में जन्म लिएका नेल्सन मण्डेलाले बेलायतबाट कानुनको अध्ययन गरेका थिए।

दक्षिण अफ्रिकालाई बेलायतको साम्राज्यको रूपमा अल्पसङ्ख्यक गोराहरूले बहुसङ्ख्यक अश्वेत जातिलाई शताब्दीौँसम्म दबाएर अन्यायपूर्ण शासन गरिरहेका तथा त्यहाँको प्राकृतिक स्रोतको अथाह दोहन गरिरहेका र त्यहाँका खास बासिन्दालाई दासको रूपमा थिचोमिचो गरिरहेकामा नेल्सन मण्डेला र उनको दल ‘अफ्रिकन नेसनल कङ्ग्रेस’ तथा अन्य दलका कर्मठ कार्यकर्ताहरूले जिउ ज्यानको पर्वाह नगरि लामो आन्दोलन गरेपछि आखिर अल्पसङ्ख्यक गोराहरूले त्यहाँको सत्ता रैथाने अश्वेतहरूलाई हस्तान्तरण गर्न कर लागेको थियो।

बेलायतको ठाडो शासन रहेको सो मुलुकमा भएका सबै अन्याय र अत्याचारलाई विकसित मुलुकहरूले आज प्यालेस्टाइनलाई हेर्ने नजरियाले जसरी नै सस्तो तमासाको रूपमा मात्र हेर्ने गरेका थिए।

तर जनताको बलको अगाडि कसैको केही लागेन। आखिर अति कष्टकर जेल जीवन बिताएका नेल्सन मण्डेला नै स्वतन्त्र दक्षिण अफ्रिकाका पहिलो राष्ट्रपति र पहिलो अश्वेत राष्ट्रपतिसमेत हुन पुगे।

महात्मा गान्धीको अहिंसात्मक आन्दोलनमा विश्वास गर्ने मण्डेलालाई २७ वर्ष कठोर कारावासमा बस्न कर लाग्यो। कतिपय वर्षसम्म त उनलाई अरूबाट अलग्याएर नितान्त एक्लो अवस्थामा कारागारमा राखियो।

जीवनको घाम डुब्ने बेलामा जिन्दगीभर साथ दिएकी सङ्गातिनी विन्नी मण्डेलाले साथ छोड्दा पनि उनी कहिल्यै आत्तिएनन् भने ८० वर्षको उमेरमा उनले एकजना विधवा वृद्धा महिला ग्रासा मासेलसँग विवाह गरे। ग्रासा मासेलको विवाह योभन्दा पहिले मोजाम्बिकका राष्ट्रपतिसँग भएको थियो।

आन्दोलनको उच्च विन्दुमा त्यहाँका अन्तिम श्वेत राष्ट्रपति एफ. डब्लु. डिक्लार्कसँग विभिन्न चरणको वार्ता गरेर मण्डेलाले शान्तिपूर्ण सत्ता हस्तान्तरणको अवस्था सिर्जना गर्न ठूलो योगदान दिए।

आफूले र आफूजस्तै लाखौं अश्वेत नागरिकले पाएका चरम यातना र हिंसाका बाबजुद मण्डेलाले नयाँ वातावरणमा बहुसङ्ख्यक तर विभिन्न जातजातिमा बाँडिएका अश्वेत र अल्पसङ्ख्यक गोराहरू सबैले मिलेर शान्तिपूर्वक बस्न सक्ने महान् दक्षिण अफ्रिकाको अवधारणामा सबै जनताको सहमति बटुल्न सफल भए।

उनको सोही महान् कार्यको कारण आज दक्षिण अफ्रिका निकै समृद्ध हुँदै गएको छ भने यो मुलुकलाई जातीय, धार्मिक तथा सांस्कृतिक मेलमिलाप वा सहिष्णुताको एक उदाहरणीय मुलुकको रूपमा लिइने गरेको छ।

जीवनभर त्यागमा विश्वास गरेका मण्डेलाले दोस्रोपटक राष्ट्रपति हुने स्वर्ण अवसरलाई पनि स्वीकार गरेनन् र सत्ता हस्तान्तरण गरिदिए। यत्तिको त्याग गर्ने नेता यतिबेला विश्वमा नै भेट्न ज्यादै मुस्किल भएको छ।

मण्डेला पछिल्लो समयमा विश्वभर स्वतन्त्रता र मानव अधिकारको सम्मान हुनुपर्ने अभियानमा सामेल भए। आज पनि दक्षिण अफ्रिका यो अभियानमा विश्वमा नै एक उदाहरण बनेर रहेको छ।

उनको नम्र स्वभाव, क्षमादान र मेलमिलापको भावना, अथाह योगदान, त्याग र सशक्त नेतृत्व तथा अहिंसा र शान्तिप्रतिको विश्वासले गर्दा उनी आज विश्वभर चर्चित र लोकप्रिय छन् भने यस्तै गुणले गर्दा उनले नोबेल शान्ति पुरस्कार तथा अन्य दर्जनौँ अन्तर्राष्ट्रिय पुरस्कार र मानपदवी पाउन पनि सफल भए। मण्डेलाको निधन २०१३ डिसेम्बर ५ तारिखमा भयो। उनलाई दक्षिण अफ्रिकीहरूले आफ्नो मुलुकको राष्ट्रपिताको रूपमा मान्दै आएका छन्।

गौतम बुद्धको लोकप्रियता आज २,५०० वर्षभन्दा बढी समय बितिसक्दा पनि कायमै छ भने महात्मा गान्धीको लोकप्रियता पनि कम्तीमा अबको १,००० वर्षसम्म रहन्छ नै होला। त्यस्तै नेल्सन मण्डेलालाई पनि मानिसहरूले त्यति नै समयसम्म कसो नसम्झेलान् र !

आजको लोभ, घृणा, द्वेष, षड्यन्त्र, हत्या-हिंसा र बदलाको वातावरणमा यी महान् व्यक्तित्वका योगदान र देनहरूको थोरै मात्र अध्ययन गरेर व्यवहारमा ढाल्न सके पनि देश हाँक्छु भन्ने व्यक्तिहरूमा विवेक पलाउने थियो होला।

त्यति पनि गर्न नसके केही समयदेखिका हाम्रै भेगको भूगोलका महान् नेताहरू- ली क्वान यू, महाथिर मोहम्मद, जवाहरलाल नेहरू, हो चि मिन्ह, माओ त्सेतुङ, देङ सियाओपिङ, पार्क चुङ-ही, भ्लादिमिर इल्यिच लेनिन आदिका जस्तो मुलुक र समाजको उत्थानको लागि केही सोचेका र गरेका व्यक्तित्वहरूको जीवनीबाट पनि सिक्न सकिन्छ।

मलाई त आफ्नै मुलुकका पृथ्वीनारायण शाह, महेन्द्र वीरविक्रम शाह, वीरेन्द्र वीरविक्रम शाह र विश्वेश्वरप्रसाद कोइरालाका व्यक्तित्व र महान् योगदानमा पनि ठूलो गर्व लाग्छ।

ज्ञानेन्द्र वीरविक्रम शाहले नै पनि त राजपाठ सहजै छोडेर समेत एक अति नै नैतिकवान् व्यक्ति बनेर मुस्कुराउँदै सबैको मन जित्ने काम गरि नै रहेका छन् नि। राजा हुँदा कुनै राम्रो काम गरेको नदेखिए पनि राजसत्ताबाट बाहिरिएपछि भने उनले नराम्रो काम गरेको पनि भेटिएको छैन।

आजको चरम अन्योलग्रस्त नेपालमा कम्तीमा राजा ज्ञानेन्द्रको मधुर मुस्कान र सकारात्मक सोच तथा मुलुकप्रतिको मायालाई देख्दा पनि मनमा एक प्रकारको सन्तोष जागेर आउँछ भने उनकी ९८ वर्षीया आमा रत्नलाई देख्दा आफ्नै आमाको वात्सल्य पाएजस्तो लाग्छ।

यसो भन्दैमा राजावादको प्रचार गरेको कदापि होइन। तर मुलुकमा कसैले पनि अभिभावकीय भूमिका खेल्न नसकेको आजको समयमा उनीहरूलाई सम्झिएको मात्र हो।

समग्रमा विभिन्न युग र समयमा मुलुक, समाज र मानवताका निम्ति निस्वार्थ र अथक योगदान गरेका महान् व्यक्तित्वहरूको सम्झना गर्दै उनीहरूजस्तै बन्ने प्रणका साथ समाजका सबै थरी मानिसहरूले थोरै भए पनि असल काम गर्न सके समाजका सबै वर्ग र जनले सुखको अनुभूति प्राप्त गर्न सक्ने थिए।

(लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज र समसामयिक गायक समाजका अध्यक्ष हुन्। )


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *