लघुकथा : सान्त्वना

प्रकाशचन्द्र खतिवडा
१४ कार्तिक २०८३ ७:५३

“अभिनव, आज आमाको रेखदेख गर है। म फार्म भर्न कलेज जान्छु,” प्रज्ज्वलले आदेशात्मक शैलीमा भन्यो।

“हुन्छ, चाँडै आउनु नि। मेरो पनि पुस्तक किन्न चोकतिर जानुछ,” अभिनवले दाजुको भनाइ शिरोधार्य गर्‍यो।

आमा पक्षघातले थलिनुभएको छ। उठाउनु, सुताउनु, दिसा-पिसाब गराउनु, खाना र खाजा खुवाउनु एक्लैलाई सकस पर्छ। लेखु काम विशेषले विराटनगर गएको छ।

लेखु आमाको कान्छो छोरो हो। दाजुभाइले आमाको पालनपोषण गर्ने जिम्मा लेखुलाई थमाएर आ-आफ्नो पेसामा फर्किएका छन्। मुकुन्द पोर्चुगल छ, विष्णु काठमाडौं छ र मोहन अमेरिका छ।

अहिलेसम्म चार दाजुभाइबीच कुनै खटपट छैन। देउरानी-जेठानीको सम्बन्ध पनि राम्रै छ। सबैले आ-आफ्नो गरी खाएका छन्। आमाको औषधिमूलो र पालनपोषणका लागि तीन दाजुभाइले आलोपालो गरेर खर्च पठाउने गरेका छन्। मोहनले अलि बढी सहयोग गरिरहेको छ, उसको व्यापार अमेरिकामा राम्रै चलिरहेको छ।

म काकाको छोरो दाजु हुँ। तीन दाजुभाइका सन्तानमध्ये दुई दिदीहरूपछिको छोरा खलोमा म सबैभन्दा जेठो हुँ। “तँ हाम्रो जेठो छोरो होस्” भनेर ठूलीआमा खुसी व्यक्त गर्नुहुन्छ।

मैले जेठो हुनुको धर्म निभाउन सकेँ या सकिनँ? मैले दिने सल्लाह पारिवारिक हितअनुकूल भए या भएनन्? मैले सामाजिक मर्यादा राख्न सकेँ या सकिनँ? मेरो व्यवहार कसैका लागि अर्घेलो भएन होला नि?

कहिलेकाहीँ म आफैँ हतोत्साहित हुन्छु। जीवनको सार्थकता टुङ्गिएको हो कि जस्तो अनुभव हुन्छ। अनि म जीवनको परिभाषा खोज्न थाल्छु। भाइहरू मलाई सान्त्वना दिन्छन्। म सान्त्वना ग्रहण गर्दै जीवनलाई नयाँ उचाइ दिन्छु।

सान्त्वनाले जीवन बाँच्ने ऊर्जा प्रदान गर्ने रहेछ। सान्त्वना र भरोसा नै जीवन बाँच्ने आधार होइनन् र?

सुन्दरहरैँचा-०६, दुलारी, मोरङ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *