कविता : दशैं तिहारको फूल

शंकरप्रसाद रिजाल
१४ कार्तिक २०८३ ७:५५

दशैं तिहारको चाड छ, जताततै फूलको बहार छ,

बारी, बगैंचा, आँगनमा पहेंला सुपारीफूल फुलेका छन्। १

हाँसिरहेछन् फूलका गुच्छा, श्रीपेच सरी पहिरिकन,

पहेंला सयपत्रीका पात, साना गोला सुपारी झैं देखिकन। २

आकाशमा बादल भरिएको छ, जलघडा बोकिकन,

कहाँ गई वर्षिई झर्ने हो, थाह नै नपाइकन। ३

सिमसिम पानी त ठीकै हो, अलिअलि भिज्ने,

धेरै वर्षा हुन लागेमा डर लाग्छ ती फूल चुँडिने। ४

दशैंमा सयपत्रीको माला लगाई मख्ख पर्दछन्,

तिहारमा सुपारीफूलको माला लगाई आशीर्वाद माग्दछन्। ५

यो हिन्दू संस्कारको चलन भनी साध्य नै छैन,

हजारौँ वर्षको यो चलन गनी साध्य नै छैन। ६

कतिले आशीर्वाद पाए आफ्ना मातापिता जनको,

सुख पाए कतिले होलान् तृप्तिका लागि मनको। ७

जिउनेलाई छ दशैंको आशीर्वाद, मर्नेका लागि समर्पण,

दुवैले सयपत्री माला लिई हुन्छ आशीर्वाद, बिदाइ विसर्जन। ८

नातागोता, इष्टमित्र मिलि मीठो भोजन गर्दछन्,

कहीँ जुवा, तास, कौडा खेली रमाइलो पनि गर्दछन्। ९

यसैगरी दशैंमा अर्को साल फेरि भेट्ने वाचा गर्दछन्,

अर्को साल पुनर्जीवित भेटुँला भनी आशा लिई हिँड्दछन्। १०

फेरी तिहारको पालो बिस्तारै लुकीलुकी आउँछ,

माता लक्ष्मीको आगमन घरघरमा भित्र्याइन्छ। ११

लिपपोत गर्दै घरघरमा शृङ्गार छ जहाँतहीँ,

लक्ष्मीको पाउ तलदेखि माथिसम्म बन्दछ वहीं। १२

घरै उज्यालो, मनै उज्यालो, जता हेर्यो उज्यालो,

सेलरोटी पाकेको छ, दिदीबहिनीको सङ्गालो। १३

दिदीबहिनी आशीर्वाद दिन्छन् दाजुभाइलाई,

दाजुभाइले आशीर्वाद लिन्छन् मसला समाई। १४

एउटाले अर्कोलाई ढोग भेटि गरी अङ्कमाल गर्ने,

जुगानुजुगको नाता–सम्बन्धलाई बलियो बनाउने। १५

यो ठूलो चाड हो हिन्दूको, सालमा एकपटक आउने,

मानौँ सबैले यसरी नै गरून भन्ने आशा पलाउने। १६

पहेंला फूलका माला जताततै छरपस्ट छन्,

साना गुलाबी सुपारीका माला वर्षौंसम्म टिक्दछन्। १७

नओइलाउने माला दिदीबहिनीहरूको चिन्ह बन्दछ,

कहिले खेर नजाने आशीर्वाद शिरको ताज खुल्दछ। १८

 २०८३ को कालो दशैं

भदौमा आयो घनघोर बाढी, त्रिशूली सबै बगायो,

नुवाकोट जिल्ला नै भोटेकोशीले सरक्कै उडायो।

एकै दिनको बाढीले जनधन, बजार सबै हरायो।

कति मरे, कति बाँचे, बाँच्ने सबै सुकुम्बासी भए,

करोडौँ करोडका धनमालका मालिक निर्धन भए।

के मानिस, के पशुपन्छी, सबै एकै चिहान भए।

निष्ठुरी कठोर बाढीले सबै सखाप बनाई लग्यो,

अब छैन केही त्यो ठाउँमा, खाली बगर देखियो।

भएका गरि खानेले पनि सरकारको मुख हेर्नुपर्‍याे।

सरकारले हेर्दैछ, गर्दै पनि गरी नै रही रहेको छ,

बिचरा प्रधानमन्त्री बालेनलाई हुनुसम्म भएको छ।

गर्छु विकास गर्छु भन्दानी यस्तो आपद् पर्दछ,

देखी बोल्नै नसकेर सबैको भक्कानो फुटी आउँछ।

साहस, धैर्यको बाँध रोकी सम्हाली सम्हाली आउँदा,

पर्यो अर्को आपद् फेरि, वर्षा भयो आश्विनमा।

चार दिनको अविरल वर्षाले डुब्यो सारा विपद्मा।

आश्विन महिनामा दशैं खुसीले आउनुपर्ने थियो,

तर आकाश कालो भई मुसलधारे पानी पर्‍याे।

बागमती, विष्णुमती, हनुमन्ते एकैचोटी रसायो,

सहरको सडक सबै नदीको धार बनि गयो।

मोटरगाडी गुड्ने ठाउँमा डुङ्गा चल्न थाल्यो,

पहाड भत्कियो, पहिरो खस्यो, राजमार्ग थुनियो।

घरभित्र दशैंको खुसी होइन, पानी पस्न थाल्यो,

दशैं दशा बन्दै घरघरमा पस्न थाल्यो।

ठूलाबडाको आशीर्वाद पनि कताकता हरायो,

दिदी कहाँ छिन् थाहा छैन, रुँदै बसेकी छिन्,

भाइको वेदना त्यो बोकी रुँदै टीका लाउँछिन्।

के दिऊँ उपहार दिदीलाई? केही छैन मेरो हातमा,

बचेको नै के छ र? बगायो बाढीले भएका सब साथमा।

बाढीले यसपटक कतिको ज्यान गयो अनाहकमा!

के भयो यसपालि नेपालमा? सबै फसे कुचक्रमा।

दशैं-तिहार नमनाउँ जस्तो छ त्यो दृश्य सम्झिँदा,

अविरल वर्षाको आँसुले मलाई छेकी रन्छ अल्झिदा।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *