नेपाली साहित्यका पच्चीस सर्जक

ज्ञानेन्द्र विवश
१४ कार्तिक २०८३ ७:५०

‘नेपाली साहित्यका पच्चीस सर्जक’ शीर्षकीय कृति स्रष्टा, संगत र आत्मानुभूतिहरूको सुवासिलो सङ्गालोका रूपमा सार्वजनिक भएको छ। लेखक तथा सम्पादक नवराज रिजालद्वारा लिखित र तन्नेरी प्रकाशनद्वारा प्रकाशित प्रस्तुत कृति अग्रज स्रष्टाहरूलाई चिनाउने महत्त्वपूर्ण दस्तावेज पनि हो।

साहित्यिक सिर्जनामा निरन्तरता, साधना र समर्पण आफैँमा एक कठिन तपस्या हो । अझ चार दशकभन्दा लामो समयदेखि लेखन र सम्पादन यात्रालाई एकसाथ हाँक्दै आएका बहुआयामिक स्रष्टा नवराज रिजाल नेपाली साहित्यिक आकाशमा निरन्तर चम्किइरहने एक नक्षत्र हुन्।

मुक्तक, गजल, कथा, निबन्ध, यात्रा र समालोचनाजस्ता विविध विधामा दुई दर्जनभन्दा बढी कृतिहरू पाठकसामु ल्यािसकेका रिजालको नवीनतम कृति ‘नेपाली साहित्यका पच्चीस सर्जक’ उनको यही दीर्घकालीन साहित्यिक क्रियाशीलताको ज्वलन्त दस्तावेज बनेर आएको छ।

विधाको नवीन प्रयोगः निबन्धभन्दा माथि ‘आत्मानुभूति’ को भाव सम्प्रेषित छ । बाहिरी रूपमा हेर्दा यस कृतिभित्र व्यक्ति र विचारमा आधारित पच्चीसवटा रचनाहरू समेटिएका छन् । प्रकाशकीय मन्तव्यमा विदुर गौतमले उल्लेख गरेझैँ यसका पानाहरू रसिला, स्वादिला र पोषिला छन्, जसले पाठकसँग सहजै आत्मीयतापूर्वक मित्रता गाँस्न सफल भएका छन् । कतिपयले यसलाई ‘निबन्ध’ भनेर वर्गीकरण गर्न सुझाए पनि लेखक रिजालले नेपाली बृहत् शब्दकोश र प्रयोगात्मक नेपाली शब्दकोशका आधारमा आत्माको स्वरूप, आत्मबोध र स्वानुभवलाई आधार बनाएर यसलाई ‘आत्मानुभूति’ को नाम दिएको स्पष्टोक्ति छ ।

स्रष्टाका यी रचनाहरू केवल परम्परागत जीवनी, वस्तुपरक व्याख्या वा सुख्खा समालोचना मात्रै होइनन् । यो त स्रष्टाहरूले गरेका कर्म, विचार, आस्था र चिन्तन-मननलाई आफ्नै मन र मुटुमा राखेर लेखिएको एक आत्मपरक र ललित शैलीको भावमय अभिव्यक्ति हो । लेखकले आफ्ना विचारसँग सहमत वा असहमत हुने पूर्ण अधिकार पाठकहरूलाई सुम्पेर एक खुल्ला र उदार साहित्यिक सौन्दर्यको परिचय दिएका छन् ।

यस कृतिभित्र ऐतिहासिक कालक्रम र विविधतापूर्ण स्रष्टाहरूको छनोट गरिएको छ। समीक्षक वासुदेव अधिकारीले ठम्याएझैँ, यस कृतिको सबैभन्दा ठूलो सबल पक्ष भनेको प्राथमिककालीन आद्यकवि भानुभक्त आचार्य र माध्यमिककालीन विशिष्ट प्रतिभा मोतीराम भट्टको योगदानदेखि सुरु भएर आधुनिक तथा समकालीन पुस्तासम्मको सुन्दर समेटाइ हो।

यसमा कविशिरोमणि लेखनाथ, बालकृष्ण सम, महाकवि देवकोटा, राष्ट्रकवि माधव घिमिरे, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, श्यामप्रसाद र बिपी कोइरालादेखि पछिल्लो पुस्ताका साहित्यिक पत्रकारितामा जीवन अर्पण गर्ने नकुल सिलवाल र भक्तबहादुर कार्कीसम्मको योगदानको सूक्ष्म रेखाङ्कन गरिएको छ।

लेखकले विभिन्न क्षेत्रका आदर्श व्यक्तित्वहरूलाई यसमा ठाउँ दिएका छन्। राजनीति र साहित्य दुवैतर्फ शिखर चुम्ने बिपी कोइरालादेखि लिएर कवितामा बालकृष्ण सम, संस्कृतिमा सत्यमोहन जोशी, चित्रकलामा कुलमानसिंह भण्डारी, र बालसाहित्यमा जनकप्रसाद हुमागाईंसम्मका हस्तीहरू यसमा अटाएका छन्।

त्यस्तै, अध्यापनतर्फ प्रा.डा. राजेन्द्र सुवेदी तथा साहित्यिक पत्रकारितामा नगेन्द्रराज शर्मा, रोचक घिमिरे, मोहन दुवाल र नकुल सिलवालको चयनले कृतिको क्षितिजलाई अझ फराकिलो बनाएको छ।

उपत्यकाभित्र मात्र सीमित नरही जगदीश नेपाली, देवीप्रसाद वनवासी र केवलपुरे किसानजस्ता काठमाडौंबाहिर बसेर साधना गर्ने अथक साधकहरूलाई प्रतिनिधिको रूपमा समेट्नु लेखकको न्यायोचित दृष्टिको परिचायक हो भन्ने मेरो विचार छ।

सङ्गतको प्रभाव र आत्मीयताको रसायन घोलेर लेखक नवराज रिजालले सकेसम्म आत्मिकपनलाई लेखकीय पहिचानको चिनारी बनाएका छन्। पुस्तकको अध्ययनबाट थाहा हुन्छ- २०६४ सालदेखि २०८२ सालसम्मको अठार वर्षको लामो अन्तरालमा तयार भएका यी रचनाहरू साहित्य, यात्रा, सङ्गत र पेसाकर्मका साझा उपज हुन्। चर्चा गरिएका व्यक्तित्वहरूसँग लेखकको प्रत्यक्ष वा अप्रत्यक्ष सङ्गत गहिरो रूपमा जोडिएको छ।

‘नवप्रज्ञापन’ नामक साहित्यिक पत्रिकालाई २०५० सालदेखि निरन्तर प्रकाशन गर्दै आएका लेखक तथा सम्पादक रिजाल यसरी यदि स्वयं लामो समयदेखि साहित्यिक लेखन र पत्रकारितामा सक्रिय नभएका हुँदो हो त यस्ता होनहार अग्रज स्रष्टाहरूसँग सङ्गत गर्ने र उनीहरूको चम्किलो किरणबाट स्पर्शित हुने सौभाग्यबाट वञ्चित हुने निश्चित थियो भन्ने मेरो ठम्याइ छ।

साहित्यिक र पत्रकारिताका सङ्गतका यी परिदृश्यहरूमा कतै विचारले बाँधिएका पातलो सम्बन्ध झल्किन्छ त कतै सघन व्यक्तिगत हिमचिमका कारण लवजसमेत अनौपचारिक बन्न पुगेको भेटिन्छ।

सार्वजनिक व्यक्तिसँग ‘दाइ’ को नाता त्यसै जोडिन सक्दैन; यो त आत्मिक निकटता र प्रगाढ आत्मीयताले निर्माण गरेको बलियो सेतु हो, जुन यस पुस्तकका आत्मानुभूतिहरूमा प्रस्ट महसुस गर्न सकिन्छ ।

प्रस्तुत कृतिका शीर्षकहरूका काव्यात्मक, प्रतीकात्मक र भावुक स्वरूप पुस्तकको अध्ययन क्रममा पाठकले सहजै महसुस गर्छन्। त्यसैले यस कृतिभित्रका शीर्षकहरू केवल औपचारिक नाम मात्र होइनन्, यी त आफैँमा काव्यात्मक र प्रतीकात्मक छन् भन्दा फरक पर्दैन।

जस्तै- ‘जागरणका स्वप्नद्रष्टा भानुभक्त’, ‘मानवताका पुजारी देवकोटा’, ‘सतिसालजस्तै सत्यमोहन’, ‘स्मृतिभित्र कुलमानका चित्र’, ‘गम्दै, सम्झँदै गोविन्द भट्ट’, ‘जनमत, बनेपा र मोहन दुवाल’ आदिजस्ता शीर्षकहरूले सम्बन्धित स्रष्टाको मूल प्रवृत्तिलाई जीवन्त रूपमा उजागार गर्छन्।

त्यस्तै, ‘उत्साहका पर्याय नगेन्द्र दाइ’ र ‘रोचक दाइः भाषा मर्मज्ञ’ जस्ता शीर्षकहरूमा प्रयोग भएको आत्मीय सम्बोधनले लेखकको उहाँहरूसँगको नजिकको सम्बन्धलाई प्रष्ट्याउँछ।

भौतिक रूपमा यस धर्तीमा नरहेका स्रष्टालाई लक्षित गर्दै लेखिएका प्रश्नवाचक तथा संवादात्मक शीर्षकहरू जस्तै- ‘सर साँच्चै जानु भएको हो र ?’, ‘के भएको हो नकुलजी ?’ र ‘सम्झना मात्र बाँकी रह्यो’ ले पाठकको मनलाई भावविह्वल बनाउँदै वियोगको गहिरो पीडा र श्रद्धाबोधसमेत गराउँछन्।

समग्रमा भन्नुपर्दा, नवराज रिजालको ‘नेपाली साहित्यका पच्चीस सर्जक’ नेपाली भाषा-साहित्यप्रति रुचि राख्ने जो कोही पाठकका लागि एक अनिवार्य र अति पठनीय कृति हो।

यसले नेपाली साहित्यका विभिन्न सर्जकहरूका बहुपक्षीय आयामलाई केवल इतिहासको पानामा सीमित नराखी अत्यन्त आत्मपरक, ललित र आत्मीय ढङ्गले प्रस्तुत गरेको छ। नेपाली साहित्यिक यात्रामा आफ्नो जीवन समर्पित गर्ने स्रष्टाहरूप्रति गरिएको यो एक उच्च वैचारिक श्रद्धासुमन हो, जसले नेपाली साहित्यको श्रीवृद्धिको इतिहासमा सदा बाटो देखाउनेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *