अतीतका पाना पल्टाउँदा

भूमिका गैरे तिमिल्सिना
१४ कार्तिक २०८३ ७:५४

“आखिर किन लेख्नुपर्‍याे?”

लेख्दिनँ, आ! त्यस्तो खासै के नै पो गरेको छु र, केही छैन? केही विशेष हुनुपर्यो नि लेख्न त, केही गर्नुपर्यो नि समाज अनि देशका लागि। आफैँले आफैँसँग कुरा गरेँ। आफ्नै अन्तर्मनले पनि बारम्बार प्रश्न गरिरह्यो, तर उत्तर भने अनुत्तरित नै रह्यो।

फेरि सोचें, लेख्दिनँ, ममा केही छैन त्यस्तो लेख्नुपर्ने? अझै धेरै गर्न बाँकी छ। मैले आफ्नो जीवनलाई सार्थक बनाउन त अझै धेरै खुड्किला चढ्न बाँकी छ। संघर्ष, अनुभव, सफलता र असफलताबीचको टकराव, विचार, अनुभूति, जीवनको लक्ष्य र उद्देश्य कोसौँको दूरीमा छ। जीवन भोगाइ जति उकालो चढ्दै जान्छ, उति अनुभवका चाङ चुलिँदै जान्छन्। त्यो थाहा छ मलाई।

तसैले त भन्छु, मेरो अहिल्यै आफ्नो बारेमा लेख्ने बेला भएकै छैन। तर फेरि सोचें, “यदि म नै रहिनँ भने मैले गरेका काम, मेरो पहिचान कसले लेख्ला?” भो, म आफैँ लेख्छु। आफ्ना विगतका पाना आफैं पल्टाउँछु अनि कोट्याउँछु।

मलाई मैलेभन्दा धेरै कसले चिनेको छ र, अनि कसले बुझेको छ? अहँ! कसैले पनि छैन। मेरो बाल्यकाल, ती तिता-मीठा अनुभव, उकाली-ओराली, उतारचढाव, आरोह-अवरोह, सङ्घर्षका पदचाप मैले भन्दा अरू कसैले बुझ्नै सक्दैन अनि भोगेको पनि त हुँदैन, म भएर।

हो, त्यसैले मैले दृढ निश्चय गरेँ, सङ्कल्प गरेँ। अरू धेरैका जीवनी लेखें, लेकिन ती लेख्दा मलाई कहिल्यै दोधारे मन भएन, अनि द्विविधा पनि बनाइनँ, लेखौँ कि नलेखौँ भन्ने सोच पनि मेरो मनसपटलमा कहिल्यै सल्बलाएन।

आफूले जानेका-बुझेका कुरा लेखें, त कहिले सोधखोज, अध्ययन, अनुसन्धान, प्रत्यक्ष छलफल पनि गरेँ, अनि यसलाई पूर्णता दिएँ। कुनै अन्योलमा परिनँ, तर आज किन मेरो मन केही विचलित भइरहेको छ? आ! जेसुकै होस्।

अरूको प्रसंग आउँदा सबै क्रान्तिकारीको ट्याग लगाउँछन्, जब आफ्नो कुरा आउँछ, लाचारी बन्छन्; पीर के समाजको, के भन्लान् अनि कसो गर्लान्? हरे शिव! किनकि मान्छे आफ्नै स्वभावले नै दुःखी हुन्छ भन्छन्, हो रहेछ क्यारे!

हामी मान्छेको जात कस्तो हुन्छ भने, आफूले आफैँलाई के ठान्ने भन्नेभन्दा पनि समाजले के सोच्ला भन्ने चिन्ता ठूलो हुने रहेछ? कतै आत्मप्रशंसा पो हुने हो कि, कतै आफ्नो लेखक स्वयम् बन्न नपाइने पो हो कि भन्ने मनमा द्विविधा सल्बलाउँदो रहेछ।

आफूलाई हेर्न, आफूलाई चिन्न त आफैँले ऐना हेर्नुपर्ने हो नि, त समाज कस्तो भइदियो भने उसको व्याख्या अरूकै मुखबाट सुन्न रुचाउन मन पराउने, गजब रहेछ। आफूलाई चिन्न एक जीवन पुरै लाग्छ।

मैले मेरो जीवनमा भोगेका, देखेका, सुनेका, समाजमा घटेका सत्य घटना, कुरीति, कुसंस्कार, वेथिति, विसङ्गतिका बारेमा लेखें, तर त्यसको अर्थ लगाउने अधिकार चाहिँ अरूलाई नै दिएँ। अनि आफू चाहिँ आफ्नै कथामा अपरिचित भएँ, अनभिज्ञ रहें। अरूलाई चिनाउने होडमा आफैँ अन्जान रहनु के मुनासिब होला, के न्यायोचित रहला?

अहँ! होइन, त्यसैले अब म आफ्नो बारेमा आफैँ लेख्छु। को हुँ म? आफैंसँग कुरा गर्दै आफ्नै अन्तर्मनसँग बारम्बार प्रश्न गर्दै लेख्न थालेँ, अनि पल्टाउन थालेँ अतीतका पानाहरू अनि कोट्याउन थालेँ आफ्नै विगत! सबैको वेवास्ता गर्दै कोल्टो फर्की सुरु गरेँ लेख्न।

मेरो नाम भूमिका गैरे, पिता गोविन्दप्रसाद गैरे र माता पार्वतीदेवी गैरेको कोखबाट वि.सं. २०४० साल पौष २७ गते (तदनुसार ११ जनवरी १९८४) मा भएको हो। चार सन्तानमध्ये म माहिलो सन्तानका रूपमा जन्मिएँ।

बुवा पाल्पा, दर्लमडाँडाको हुनुहुन्थ्यो भने मेरी आमा भारतको पटना राजधानी अन्तर्गत बगाहा जिल्लाको हुनुहुन्थ्यो। बुवा दिल्लीमा होटल चलाएर बस्नुहुन्थ्यो। दिदीको जन्मपश्चात् आमा दिल्लीबाट हाल सुस्ता-२, महलबारीमा आएर बस्न थाल्नुभएको थियो।

बुवा परदेशमा र आमा एक्लै घरमा भएकाले मेरा मावलीका हजुरबुवा स्वर्गीय छबीलाल आचार्य र हजुरआमा स्वर्गीय टिकादेवी आचार्यबीच छलफल भएछ। आमा एक्लो अनि रेखदेख गर्ने कोही नभएकाले आमालाई लिएर हजुरआमा भारत जानुभएछ र मेरो जन्म पनि त्यहीँ भएको हो। भनेपछि न्वारान (नामाकरण) चाहिँ नेपालमा, महलबारीमा भएको हो रहेछ।

मेरो बाल्यकाल सुखद नै रह्यो। औपचारिक शिक्षा साविक श्री निम्न माध्यमिक विद्यालय सुस्ता, प्रसैयाबाट कक्षा आठसम्म उत्तीर्ण गरेँ। त्यसपश्चात् श्री राष्ट्रिय माध्यमिक विद्यालय छिवनीबाट २०५७ सालमा म्याट्रिक पास गरेँ।

त्यसपछि २०५९ साल वैशाख २७ गते गैंडाकोट निवासी विश्वनाथ तिमिल्सिनासँग म वैवाहिक बन्धनमा बाँधिएँ। मेरो विवाहपश्चात् औपचारिक शिक्षाले केही समय विश्राम लियो, बिट मार्‍याे।

२०६१ सालमा छोरा प्रतीक र २०६४ सालमा छोरी प्रशंसाको जन्म भयो। म पूर्णतया घरपरिवार र सन्तानबीचमा रमाउन थालेँ, तिनैलाई हुर्काउनमा व्यस्त रहेँ, मैले चाहेर पनि पढाइलाई निरन्तरता दिन सकिनँ। त्यो बाध्यता थियो।

२०६७ सालदेखि आफैंले लगानी गरेर खोलिएको बोर्डिङ स्कुलमा मैले पढाउन थालेँ, जहाँ मेरा दुवै छोराछोरी पढ्थे, म पनि उनीहरूसँगै जाने-आउने गर्न थालेँ। यसरी नै क्रमशः दिनहरू बित्दै थिए। मलाई भान भयो कि यदि मैले शिक्षण पेसालाई निरन्तरता दिने हो भने मैले पढ्नुपर्छ, आफ्नो योग्यता बढाउनुपर्छ भन्ने सोच मेरो दिमागमा सल्बलाउन थाल्यो।

लगभग बाह्र वर्षपश्चात् मैले गैंडाकोट-८ मा रहेको कालिका माध्यमिक विद्यालयबाट प्लस टू पास गरेँ। त्यसपछि गैँडाकोट-२ मा रहेको सूर्यभक्त पतनादेवी मेमोरियल कलेजबाट २०७३ सालमा स्नातक तह उत्तीर्ण गरेँ। अनि भरतपुर-१०, चितवनमा अवस्थित मैयाँदेवी कन्या कलेजबाट स्नातकोत्तर तह उत्तीर्ण गरेँ।

लगभग बाह्र वर्ष सरस्वती बाल शिक्षा सदनमा सह-प्राचार्यको जिम्मेवारी बहन गर्दै अध्यापन गरेँ। त्यसपछि गैँडाकोट-१ मा रहेको सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयमा तीन वर्ष पढाएँ, त्यहाँ पनि शिक्षक प्रतिनिधिको रूपमा काम गरेँ।

हाल सूर्यभक्त पतनादेवी मेमोरियल कलेज (एस.पि.एम.) मा विगत दुई वर्षदेखि प्राध्यापन पेसामा संलग्न रहेकी छु र त्यहाँ प्राध्यापक संघ, एस.पि.एम. कलेज एकाइ समितिमा पनि रहेकी छु।

जब मेरी आमाको २०७४ साल मङ्सिर २० गते राती ११:०० बजे असामयिक देहवसान भयो, आमाको निधनले ममा गहिरो चोट पुर्याएछ; त्यो पीडालाई बिर्सन मैले शब्दलाई माध्यम बनाएँछु।

जब हदभन्दा बढी पीडा हुन्छ नि, हो, त्यतिबेला त्यो पीडा भुल्न शब्दको सहारा लिइँदो रहेछ, बाहिर आउँदो रहेछ। त्यसपछि मैले बिस्तारै कलम चलाउन थालेछु, लेख्न थालेछु अनि साहित्यमा पनि उत्तिकै रुचि राख्न थालेँ। मैले २०२१ (सन्दर्भ मिलाउँदा २०८१) सालमा “नमस्ते लघुकथा सङ्ग्रह” र “निबुवा लघुकथा सङ्ग्रह” गरी दुई पुस्तक प्रकाशन गरेँ।

स्थलगत परिचयमा विभिन्न ठाउँमा आफू गएका स्थलहरू, प्रत्यक्ष देखेर, सुनेर, अध्ययन, अवलोकन, शोधखोज, छलफल गरेर विभिन्न ठाउँका मठमन्दिरहरूको स्थलगत भ्रमण गरी स्थान परिचय र केही व्यक्तिविशेषका जीवनी पनि लेखेकी छु।

मेरा लघुकथा, फुटकर कविता, स्थान परिचयहरू विभिन्न पत्रपत्रिका, अनलाइनहरूमा प्रकाशन भएका छन्, जसमा डीसी नेपाल, सिंहदरबार न्युज, हाम्रो कथा घर, न्युज अफ नेपाल लगायतका विभिन्न अनलाइन खबरहरूमा प्रकाशित भएका छन्, जुन गुगलमा गएर सर्च गरेर पनि हेर्न सक्नुहुनेछ।

शारदा मासिक पत्रिकामा स्थान परिचय, “मौलाकालिकाको संक्षिप्त परिचय” पनि प्रकाशन भएको छ। गैँडाकोटको विजय एफएममा मेरा विभिन्न लेखरचनाहरू प्रकाशित भएका छन्, जसमा मेरो पहिलो ‘यथार्थ’ शीर्षकको कविता प्रकाशित भएको थियो।

अब मेरो ‘धाम चर्चा’ नामक पुस्तक प्रकाशन हुँदैछ, जसमा ३८ वटा स्थान परिचय रहनेछन् र अर्को ‘भुइँमान्छे लघुकथा सङ्ग्रह’ पनि प्रकाशनको तयारीमा रहेको छ।

मैले आज यसरी लेख्दै गर्दा कताकता कलम पनि बेजोडले दगुरी रहेको भान भएको छ। म जुन ठाउँमा जन्मिएँ, मेरा बाल्यकालका कतिपय समय त्यही परिवेशमा नै बित्यो। हजुरबुवा-हजुरआमाको काख अनि साथमा मैले धेरै समय बिताएँ।

चाडपर्वमा वडादसैँको त्यो रौनक आहा! सम्झँदा पनि मन आनन्दित हुन्छ। घटस्थापनादेखि विजयादशमीसम्म दुर्गाको विभिन्न रूपको नाटकीय मञ्चनसहितको त्यो दशहरा बेजोडको प्रस्तुति कति गजबले प्रस्तुत गरिएको हुन्थ्यो!

देवी दुर्गाले महिषासुर जस्तो खराब, दुष्ट प्रवृत्तिविरुद्ध गरेको सङ्घर्ष र त्यसमाथि विजय प्राप्त गरेको सत्य घटना पनि नाटकीय ढङ्गले कृत्रिम पात्रहरू उभ्याएर बडो कलात्मक तवरले मञ्चन गरिएको आज पनि स्पष्ट सम्झना आउँछ।

दशहरामा दशवटा टाउको भएको रावणमाथि भगवान् श्रीरामले विजय प्राप्त गरेको र देवी दुर्गाले महिषासुर जस्तो राक्षसमाथि विजय प्राप्त गरेको प्रसङ्गलाई बडो रोचक ढङ्गले देखाइएको हुन्थ्यो, जुन समाजमा सत्यको बोध हुने, सकारात्मक सन्देश छर्ने किसिमको ज्ञानवर्धक भएको मैले महसुस गर्थें।

नेपाली काङ्ग्रेसको प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान गरेका महानायक, नेतृत्वदायी भूमिका निर्वाह गरेका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको जीवनी र योगदानका बारेमा जब लेखें, त्यो लेख लेख्दा, खोज्दा मलाई बडो रमाइलो लागेको थियो, छुट्टै ऊर्जा पनि मिलेको थियो; किनकि उहाँ निर्वासित जीवन बिताउँदै गरेका अनि बसेका कतिपय ठाउँहरूसँग म पनि राम्रोसँग परिचित छु। मेरा हजुरबुवा नेपालको त्रिशूलीबाट बसाइँसराइ भई त्यस ठाउँमा जानुभएको रहेछ।

मेरो साहित्यिक, शैक्षिक एवम् सामाजिक सेवामा पनि उत्तिकै रुचि एवम् सक्रियता रहेको छ। समाजका विभिन्न सङ्घसंस्थाहरूमा विभिन्न पदमा रहेर सेवा दिएकी छु। हाल रोटरी क्लब अफ गैँडाकोटमा विगत पाँच वर्षदेखि मेरो संलग्नता रहेको छ।

साहित्यिक संघसंस्थाहरूमा गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानको नगर प्राज्ञसदस्य, त्रिवेणी साहित्य प्रतिष्ठान गैंडाकोटको कार्यसमिति सदस्य, मुखपत्र संयोजक, हाम्रो लघुकथा केन्द्र नेपाल (दक्षिणकाली, काठमाडौँ) को आजीवन सदस्य, लघुकथा संसार अनलाइन मासिक पत्रिकाको आजीवन सदस्य, नमस्ते आधुनिक लघुकथा मञ्च चितवन राप्तीको आजीवन सदस्य, पल्लव साहित्य प्रतिष्ठान, पञ्चाङ्ग साहित्य समाज नेपालसँग आवद्ध रहेकी छु।

श्री चण्डिकादेवी मन्दिर धार्मिक सेवा संस्था, गैँडाकोट-४ को संस्थागत सचिव पदमा रही तेह्र वर्ष सेवा गरेँ। नमुना जागृति महिला समूहकी संस्थापक सचिव, टोल विकास, महिला सञ्जाल, मुना साकोस लगायतका विभिन्न संघसंस्थामा आवद्ध रही सेवा गरेँ।

जीवन एक सिकाइ हो। जसले जति धेरै चुनौतीहरूको सामना गर्न सक्छ, त्यसले त्यति धेरै सफलता अनि जिम्मेवारी बहन गर्न सक्छ। म त भन्छु, “जीवनमा बाधा-अड्चन आउनुपर्छ, र त मानिस निखारिन्छ, तिखारिन्छ अनि व्यावहारिक बन्छ।” हामीले सधैँ त्यस्तो मानिसको जीवनी लेख्छौँ, पढ्छौँ, जुन पढ्दा प्रेरणा मिलोस् र जीवनमा हामीले पनि केही गर्नुपर्छ भन्ने सकारात्मक ऊर्जा प्राप्त होस्।

जीवनको तराजु पनि अनौठो हुने रहेछ; बाँचुञ्जेल हलुका हुने, तर जब यो भौतिक संसारबाट बिदा लिएको दिनदेखि गह्रौँ हुने रहेछ। त्यसैले त म भन्छु, जीवनभर सत्यको बाटोमा अडिग रहेर हिँड्न बडो गाह्रो हुन्छ। बाँचुञ्जेल कसैले स्याबासी दिँदैनन्, आलोचना, बाधा-अड्चन खेप्नुपर्छ, कमजोरी औँल्याइरहन्छन्। तर जब मृत्यु हुन्छ नि, उसको संघर्ष, महिमा अनि जीवनी लेख्न आतुर हुन्छन् मान्छे, अनि खोतल्न थाल्छन् विगत! कस्तो अचम्म?

मैले आफ्नै जीवनी लेख्दै गर्दा ठीक गरेँ कि बेठीक गरेँ, त्यो थाहा छैन मलाई! तर अझै धेरै शैक्षिक, साहित्यिक एवम् सामाजिक सेवा गर्न बाँकी छ। जुन म रहुन्जेलसम्म गर्नेछु, चाहे जस्तोसुकै परिस्थिति किन नआओस्? म आफ्नो गन्तव्यमा कतिपनि विचलित नभई जीवनको सार पहिल्याउनेछु। आगामी दिनहरूमा मैले गरेका काम, योगदानहरूलाई यसैमा थप गर्दै लानेछु।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *