राजनीतिक तनाव र सञ्चार माध्यममाथिको धरपकडका बीच रास्वपा सचिवालय बैठक बस्दै
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर (वनस्थली) मा बस्दैछ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्न लागेको उक्त बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पछिल्ला घटनाक्रमबारे गहन छलफल हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।
पछिल्लो समय पत्रकारमाथि भएको धरपकड, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपका घटना तथा प्रहरी, सरकार र न्यायपालिकाबीच बढ्दै गएको तिक्तता र तनावको पृष्ठभूमिमा यो बैठकलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
राज्यका प्रमुख अङ्गहरूबीचको अविश्वास र शान्ति-सुरक्षा तथा नागरिक अधिकारको अवस्थाबारे रास्वपाले आफ्नो आधिकारिक धारणा बनाउने र आगामी रणनीति तय गर्ने अपेक्षा गरिएको छ।
बैठकमा सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा पार्टीले लिनुपर्ने अडान, सञ्चार माध्यमको सुरक्षा, राज्य संयन्त्रको सन्तुलन तथा आगामी राजनीतिक कदमका विषयमा सचिवालय सदस्यहरूसँग छलफल गर्नेछन्। साथै, पार्टीको आन्तरिक सांगठनिक सुदृढीकरणका विषयहरू पनि बैठकको एजेन्डा रहने जनाइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment