पत्रकार पक्राउ शैलीले शाहीकालीन निरङ्कुशता सम्झायो : कांग्रेस सभापति थापा

डिसी नेपाल
१३ कार्तिक २०८३ २१:२२

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकारहरूलाई नियन्त्रणमा लिने र धरपकड गर्ने कार्यप्रति गम्भीर आपत्ति जनाएको छ। कांग्रेस सभापति गगनकुमार थापाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै समाचार कक्षमै प्रहरी परिचालन गर्ने शैलीले शाहीकालीन निरङ्कुशताको झल्को दिएको बताएका छन्।

विज्ञप्तिमा ‘जनदबाबपछि रिहाइभन्दा कानुन विपरीत पक्राउ र ह्यारेसमेन्ट बन्द गर सरकार’ भन्दै पत्रकारमाथिको गैरकानुनी धरपकड र सञ्चारगृहमाथिको प्रहरी हस्तक्षेप तत्काल रोक्न माग गरिएको छ। विगतमा शासकहरूमाथि प्रश्न उठ्दा सत्ता र शक्तिको दुरुपयोग गरी सञ्चार क्षेत्रमाथि हस्तक्षेप गर्ने प्रवृत्ति पुनः दोहोरिनु लोकतन्त्रका लागि चिन्ताजनक रहेको कांग्रेसको ठहर छ।

कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनी शासनको पक्षमा संघर्ष गर्दै आएको स्पष्ट पार्दै यस्ता स्वेच्छाचारी कदमविरुद्ध निरन्तर उभिने प्रतिबद्धता जनाएको छ। स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको र सञ्चारमाध्यम वा पत्रकारबाट कुनै गल्ती भएको अवस्थामा त्यसको निरूपणका लागि प्रेस काउन्सिललगायत स्थापित कानुनी तथा संस्थागत प्रक्रिया अवलम्बन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।

ती संस्थागत प्रक्रियालाई बेवास्ता गर्दै सञ्चारगृहमा सोझै प्रहरी हस्तक्षेप गर्नु कानुनी शासनको अवधारणा विपरीत रहेको कांग्रेसले जनाएको छ। यस्तो प्रवृत्तिले ‘रुल अफ ल’ (कानुनको शासन) को सट्टा ‘रुल बाई ल’ (कानुनलाई शासनको औजार बनाउने प्रवृत्ति) लाई प्रोत्साहन गर्ने भन्दै घटनाको कडा भर्त्सना गरिएको छ।

अन्तमा, सभापति थापाले नियन्त्रणमा लिइएका व्यक्तिहरूको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप रोक कडाइका साथ बन्द गर्न तथा प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारले निर्भीकतापूर्वक काम गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *