अर्को युद्धको कल्पना नगर्न अमेरिका र इजरायललाई इरानका सर्वोच्च नेताको चेतावनी

डिसी नेपाल
१४ कार्तिक २०८३ १८:५४
56
Shares

तेहरान। इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शनिबार अमेरिका र इजरायललाई सम्भावित सैन्य वा आतङ्कवादी आक्रमण नगर्न कडा चेतावनी दिएका छन्। इरानको वर्तमान प्रशासनका आलोचक मानिने ती मुलुकहरूबाट सम्भावित सैन्य कारबाहीको धम्की आएपछि सर्वोच्च नेता खामेनीको आधिकारिक वेबसाइटमा प्रकाशित लिखित वक्तव्यमार्फत सो चेतावनी दिइएको हो।

“यदि शत्रुहरूले फेरि सैन्य वा आतङ्कवादी आक्रमण गरे भने, त्यसलाई रोक्ने समय र अवस्था इरानका सशस्त्र बल र इरानी जनताले नै निर्धारण गर्नेछन्,” सर्वोच्च नेता खामेनीको वक्तव्यमा उल्लेख छ।

उच्च सैन्य कमान्डरहरूसँग बैठक

सर्वोच्च नेतामा चयन भएपछि हालसम्म सार्वजनिक रूपमा नदेखिएका खामेनी र इरानका उच्च सैन्य कमाण्डरहरूबीच भएको बैठकपश्चात् यो कडा टिप्पणी बाहिर आएको हो। उक्त उच्चस्तरीय बैठकमा इरानी सशस्त्र बलका प्रमुख अली अब्दोल्लाही, सेना प्रमुख अमिर हातमी र रिभोलुसनरी गार्ड्सका कमान्डर अहमद वाहिदी सहभागी थिए।

मध्यपूर्वमा फेब्रुअरी २८ देखि सुरु भएको युद्धको सुरुवातमा आफ्ना पिता अयातुल्ला अली खामेनीको अमेरिका-इजरायली आक्रमणमा निधन भएपछि सर्वोच्च नेता बनेका मोजतबा खामेनी र सैन्य नेतृत्वबीच सार्वजनिक जानकारीमा आएको यो पहिलो औपचारिक बैठक हो।

‘असीमित र तत्काल प्रतिक्रिया’ को निर्देशन

वक्तव्यअनुसार सर्वोच्च नेता खामेनीले सुरक्षा कमान्डरहरूलाई कुनै पनि प्रकार वा स्तरको शत्रुतापूर्ण धम्कीलाई ‘तत्काल, प्रभावकारी र भौगोलिक रूपमा असीमित’ रूपमा कडा जवाफ दिन निर्देशन दिएका छन्। साथै, उनले अमेरिकी र इजरायली शत्रुका सबै प्रकारका मूर्त तथा अमूर्त सम्पत्तिहरू (Physical and Non-physical Assets) लाई इरानको सम्भावित प्रहारको सूचीमा अद्यावधिक गर्नसमेत आदेश दिएका छन्।

क्षेत्रीय तनाव उत्कर्षमा पुगेकै समयमा युद्ध रोक्नका लागि कूटनीतिक प्रयासहरू तीव्र पारिएका बेला सर्वोच्च नेताको यो वक्तव्य बाहिर आएको छ। फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि सुरु भएको द्वन्द्वको जवाफमा इरानले पनि क्षेत्रीय देशहरूमा प्रहार गरेको थियो।

पछिल्लो समय युद्ध विरामका लागि शुक्रबार कतारी प्रतिनिधिमण्डलले तेहरान पुगेर इरानी अधिकारीहरूसँग वार्ता गरेको छ भने इरानले अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पत्र प्राप्त गरे पनि हालसम्म त्यसको औपचारिक जवाफ नदिएको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *