अमेरिकी राष्ट्रपति ट्रम्प पत्रकारमाथि खनिए, तौल र रूपलाई लिएर गरे व्यक्तिगत टिप्पणी

डिसी नेपाल
१३ कार्तिक २०८३ १४:१६

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो स्वास्थ्यलाई लिएर प्रश्न सोध्ने एक पत्रकारमाथि आक्रोशित भएका छन्। उनले ‘रोयटर्स’ का पत्रकारको तौल र रूप-रङ्गलाई लिएर व्यक्तिगत टिप्पणी गरेका छन्। ट्रम्पले पत्रकारलाई आफ्नो फिटनेस सुधार्न आग्रह गर्दै घिनलाग्दो (डिसगास्टिङ) समेत भनेका छन्।

यो घटना बिहीवार पत्रकारहरूसँगको कुराकानीका क्रममा भएको हो। वास्तवमा, ट्रम्पले कान्सास र आयोवामा हुने आफ्ना चुनावी र्यालीहरू रद्द गरेका थिए। एक पत्रकारले ट्रम्पलाई कान्सास जाने कार्यक्रम रद्द गर्नुको पछाडि उनको स्वास्थ्य बिग्रनु हो कि भनेर सोधेका थिए। यही प्रश्नबाट ट्रम्प आक्रोशित भए र पत्रकारलाई हप्काए।

पत्रकारले ट्रम्पलाई सोधेका थिए कि के देशव्यापी रूपमा कैयौँ सातासम्म चुनाव प्रचार गरेपछि उनको स्वास्थ्य ठीक छैन? यसमा ट्रम्प रिसाए। उनले पत्रकारलाई भने कि यस्तो प्रश्न सोध्ने मान्छे आफैँ बिरामी हो, तिमी बिरामी छौ। जब पत्रकारले आफू रोयटर्सबाट भएको बताए, तब ट्रम्पले रोयटर्स धेरै नै खराब भएको टिप्पणी गरे।

पत्रकारले आफूले केवल राष्ट्रपतिको स्वास्थ्यको बारेमा मात्र सोधिरहेको भन्दै बचाउ गर्ने प्रयास गरे। तर ट्रम्पले उनको प्रश्नको जवाफ दिनुको सट्टा उनको शरीरमाथि टिप्पणी गर्न थाले।

ट्रम्पले पत्रकारको नक्कल गरे र उनको प्रश्न दोहोर्‍याए। उनले भने, “यो मान्छेलाई हेर्नुहोस्। यो बिल्कुल फिट छैन।” जब पत्रकारले फेरि उनको स्वास्थ्यको बारेमा सोधे, तब ट्रम्पले आफ्नो स्वास्थ्य एकदमै ठीक रहेको बताए। उनले भने, “मैले दुई हप्तादेखि आफ्ना बारेमा ख्याल गरिरहेको छु। म एकदमै ठीक महसुस गरिरहेको छु।”

यसपछि ट्रम्पले पत्रकारमाथि पुनः व्यक्तिगत टिप्पणी गरे। उनले भने, “तिमी घिनलाग्दो छौ। आफ्नो फिटनेस सुधार्नुपर्छ। तिमी धेरै नराम्रो देखिन्छौ।”

यो विवाद त्यस्तो समयमा आएको हो जब ट्रम्पले कान्सास र आयोवामा हुने आफ्ना चुनावी र्यालीहरू रद्द गरेका छन्। यी दुवै राज्यमा रिपब्लिकन पार्टीका उम्मेदवारहरू कडा चुनौतीको सामना गरिरहेका छन्। अमेरिकामा मङ्गलवार मिडटर्म (मध्यावधि) चुनाव हुँदैछ।

ट्रम्पको पहिलो र्याली शनिवार कान्सासको सालिनामा र दोस्रो रविवार आयोवाको डब्यूकमा हुने तय भएको थियो। ट्रम्पले पत्रकारहरूलाई आफूलाई कान्सास जानुपर्ने आवश्यकता महसुस नभएको बताए। उनले उक्त राज्यमा रिपब्लिकन सिनेटर रोजर मार्सलको जितप्रति विश्वाससमेत व्यक्त गरे। यसपछि रिपब्लिकन नेसनल कमिटीले आयोवाको र्याली पनि रद्द भएको जानकारी दिएको छ।

र्यालीहरूमा आफैँ उपस्थित हुनुको सट्टा ट्रम्पको चुनावी फन्डिङसँग जोडिएको संस्था ‘मागा इन्क’ (MAGA Inc) ले टेलि-र्यालीहरूको एक शृङ्खला आयोजना गर्ने कुरा बताएको छ। यसमा ट्रम्प कम्तीमा १९ वटा राज्यमा अनलाइन वा दूरबाट जोडिनेछन्, जसमा कान्सास र आयोवा पनि समावेश छन्। अक्टोबर १ देखि यता ट्रम्पले १९ राज्यहरूमा २५ वटा चुनावी र्यालीहरू गरिसकेका छन्। यी र्यालीहरूको माध्यमबाट उनले रिपब्लिकन उम्मेदवारहरूको पक्षमा प्रचार गरिरहेका थिए।

अमेरिकाको मिडटर्म चुनावले रिपब्लिकन पार्टीले सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभ्स (प्रनिधिसभा) दुवै सदनमा आफ्नो झिनो बहुमत कायम राख्न सक्छ वा सक्दैन भन्ने टुङ्गो लगाउनेछ। यद्यपि, कान्सास र आयोवाका र्यालीहरू रद्द गरे पनि ट्रम्प शुक्रवार अन्य चुनावी कार्यक्रमका लागि फ्लोरिडा जान सक्नेछन्।

ट्रम्पले यसअघि पनि आफ्नो चुनाव प्रचारको व्यस्त तालिकाका कारण हुने शारीरिक थकानको जिक्र गरिसकेका छन्। सोमवार मिसिसिपीमा एक र्यालीका क्रममा उनले भगवानले हरेक दिन र्याली गर्न सक्ने गरी मानिसको स्वर नबनाएको बताएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *