युरोपसँग युद्ध चाहँदैनौं तर उनीहरूले चाहे तयार छौं : पुटिन

डिसी नेपाल
१३ कार्तिक २०८३ १२:३०

काठमाडौं । विगत साढे चार वर्षदेखि युक्रेनसँग युद्ध लडिरहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देश युरोपसँग युद्ध नचाहेको तर लडाइँका लागि तयार रहेको बताएका छन्।

नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरे र फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टबसँग फोनमा भएको कुराकानीपछि राष्ट्रपति पुटिनले ‘युरोपका धेरै देशहरू सन् २०३० सम्ममा रुससँग सम्भावित सङ्घर्षको तयारी गरिरहेका छन्, जहाँसम्म हाम्रो कुरा छ, हामी पनि युद्धका लागि तयार छौँ’ भनेका छन्।

यद्यपि, पुटिनले युरोपेली सङ्घ वा छुट्टाछुट्टै देशहरूसँग रुसको सम्बन्ध पुन: सुधार गर्न आफूहरू तयार रहेको पनि बताएका छन्। राष्ट्रपति पुटिनले युरोपेली देशहरूलाई चेतावनी दिँदै रुस र युरोपबीच प्रत्यक्ष युद्ध भएमा कुनै पनि पक्ष विजेता नहुने र यसको विनाशकारी परिणाम हुने भन्दै कसैले पनि यो कुरा बिर्सन नहुने बताएका छन्।

मस्कोमा आयोजित रुस-अफ्रिका शिखर सम्मेलनपछिको पत्रकार सम्मेलनमा राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक सागरमा आवतजावतमा लगाइएका कथित प्रतिबन्धहरू र रुसी जहाजहरूलाई लिएर युरोपले अपनाएका नीतिहरूप्रति पनि आपत्ति जनाएका छन्। तनाव बढेको खण्डमा स्थिति होर्मुज स्ट्रेट भन्दा पनि खराब हुन सक्ने चेतावनी उनले दिएका छन्।

राष्ट्रपति पुटिनले भनेका छन्, “हामी सबै पक्षले अन्तर्राष्ट्रिय समुद्री कानुनको पालना गर्ने आशा गर्छौँ। यदि त्यसो भएन भने बाल्टिक सागरमा पनि फारसको खाडी वा होर्मुज स्ट्रेटको जस्तै स्थिति सिर्जना हुनेछ। के बाल्टिक सागरमा फारसको खाडी वा होर्मुज स्ट्रेटको जस्तै स्थिति बनोस् भन्ने कसैले चाहन्छ? मलाई थाहा छैन। हामी त्यस्तो चाहँदैनौँ, तर कुनै पनि चुनौतीको जवाफ भने पक्कै दिनेछौँ।

“लात्भियाको संविधान संरक्षण ब्युरो र युरोपेली सैन्य अधिकारीहरूको प्रतिवेदन अनुसार युक्रेन युद्धपछि रुसले सन् २०३० देखि २०३५ को बीचमा आफ्नो सेनाको पुनःसंरचना गरेर युरोपेली देशहरूको सीमामा चुनौती पेस गर्न सक्छ।

यसैलाई ध्यानमा राख्दै युरोपेली सङ्घ र नेटोले आफ्नो ‘डिफेन्स रिडिनेस रोडम्याप २०३०’ अन्तर्गत सम्भावित खतराको सामना गर्न सैन्य खर्च बढाउन थालेका छन्। बेलायत र अन्य युरोपेली देशहरूका गुप्तचर अनुमानहरूमा पनि सन् २०३० को दशक वरपरको समयलाई रणनीतिक रूपमा संवेदनशील मानिएको छ।

वास्तवमा, युक्रेन युद्धका कारण रुस र युरोपेली देशहरूबीचको सम्बन्ध निकै खराब मोडबाट गुज्रिरहेको छ। युरोपेली देशहरूले युक्रेनलाई हतियार उपलब्ध गराएकोमा रुसले कडा आपत्ति जनाउँदै आएको छ।

पश्चिमी देशहरूले युक्रेनलाई हतियार नदिएको भए लडाइँ धेरै अघि नै सकिसक्ने दाबी रुसको छ। अर्कोतर्फ, पुटिनको विस्तारवादी नीतिलाई रोक्न युक्रेनलाई सैन्य सहयोग गर्नु एकदमै सही कदम भएको युरोपेली देशहरूको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *