चाडपर्व र जाडोयाममा माग बढेपछि अण्डाको होलसेल मूल्य वृद्धि

डिसी नेपाल
१३ कार्तिक २०८३ १२:३२
8
Shares

चितवन। चाडपर्वसँगै जाडोयाम सुरु भएसँगै बजारमा अण्डाको खपत बढेपछि नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन होलसेल मूल्यमा वृद्धि गरेको छ।

यसअघि गत कात्तिक ६ गते काठमाडौंमा बसेको बैठकले तय गरेको मूल्यलाई ६ दिनपछि नै परिमार्जन गर्दै संघले बिहीबार पोखरामा बसेको बैठकबाट अण्डाको नयाँ समर्थन मूल्य तोकेको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए।

नयाँ समर्थन मूल्यअनुसार एक्सएल, ठूलो र मिडियम अण्डाको मूल्य प्रतिपेटी (कार्टुन) २०० रुपैयाँका दरले बढेको छ भने सानो अण्डाको मूल्य प्रतिपेटी १०० रुपैयाँले वृद्धि भएको छ।

अध्यक्ष पोखरेलका अनुसार गत कात्तिक ६ गते ३ हजार ७०० रुपैयाँ रहेको १४.५ देखि १४.८ किलो तौलको एक्सएल अण्डाको समर्थन मूल्य बढेर ३ हजार ९०० रुपैयाँ पुगेको छ।

त्यसैगरी, १३.५ देखि १३.८ किलो तौलको ठूलो अण्डाको समर्थन मूल्य ३ हजार ६०० रुपैयाँबाट बढेर ३ हजार ८०० रुपैयाँ पुगेको छ भने १२.५ देखि १२.८ किलो तौलको मिडियम अण्डाको समर्थन मूल्य ३ हजार ५०० रुपैयाँबाट उकालो लाग्दै ३ हजार ७०० रुपैयाँ पुगेको छ। ११ किलोभन्दा माथिको सानो अण्डाको समर्थन मूल्य भने ३ हजार १०० रुपैयाँबाट बढाएर ३ हजार २०० रुपैयाँ कायम गरिएको छ।

फार्म मूल्य प्रतिपेटी २०० रुपैयाँसम्म बढे पनि सर्वसाधारण उपभोक्ताले तिर्ने खुद्रा मूल्यमा भने कुनै परिवर्तन नगरिएको संघले स्पष्ट पारेको छ। हाल उपभोक्ता मूल्य ठूलो अण्डा प्रतिगोटा २५ रुपैयाँ र मिडियम अण्डा प्रति दुई वटाको ४५ रुपैयाँ यथावत् राखिएको छ। चाडपर्वका साथै चिसो मौसम सुरु भएसँगै बजारमा अण्डाको माग र खपत उल्लेख्य बढेकाले होलसेल मूल्य समायोजन गर्नुपरेको अध्यक्ष पोखरेलले बताउनुभयो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *