प्रा.डा. वीणा पौड्याललाई ‘दण्डपाणि नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार-२०८३’ प्रदान गरिने
काठमाडाैं। दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्र, काठमाडौँले २०८३ सालको ‘दण्डपाणि नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार’ प्रा.डा. वीणा पौड्याललाई अर्पण गर्ने निर्णय गरेको छ।
मौलिक संस्कृति, धार्मिक परम्परा, ऐतिहासिक सम्पदा र कलाको अध्ययन तथा अनुसन्धानमूलक पुस्तक-ग्रन्थका माध्यमबाट पुऱ्याएको विशिष्ट योगदानको कदर गर्दै उहाँलाई यो पुरस्कार प्रदान गर्न लागिएको हो। कात्तिक १३ गते बसेको स्मृतिकेन्द्रको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो।
गोरखाका नामित प्रतिभा दण्डपाणि र उनकी धर्मपत्नी नन्दकुमारी अर्ज्यालको नाममा २०६३ सालमा स्थापित यो पुरस्कार आगामी कात्तिक २४ गते काठमाडौंमा आयोजना गरिने प्रतिभा सम्मान समारोहमा प्रदान गरिनेछ।
पुरस्कारको राशि ५० हजार रुपैयाँ नगद र सम्मानपत्र रहेको छ। स्मृतिकेन्द्रका महासचिव कपिल चन्द्र खनालले कात्तिक १४ गते प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयबारे जानकारी दिएका हुन्।
देशको संस्कृति, कला, दर्शन, इतिहास, भाषा र साहित्यजस्ता राष्ट्रिय महत्त्वका क्षेत्रमा अतुलनीय योगदान पुऱ्याउने राष्ट्रिय प्रतिभाहरूलाई केन्द्रले स्थापनाकालदेखि नै निरन्तर सम्मान गर्दै आएको छ।
यसअघि यो राष्ट्रिय पुरस्कारबाट प्राज्ञ ज्ञानमणि नेपाल, प्रा. दिनेशराज पन्त, प्राज्ञ सत्यमोहन जोशी, प्रा.डा. सुरेशराज शर्मा, प्राज्ञ मदनमणि दीक्षित, डा. मोदनाथ प्रश्रित, प्रा.डा. सुरेन्द्र केसी, पुण्यरश्मि खतिवडा, प्रा.डा. तुलसीराम वैद्य, प्रा.डा. प्रेमकुमार खत्री, डा. जगमान गुरुङ, सीताराम कट्टेल र कुञ्जना घिमिरे, डा. हरिप्रसाद पोखरेल, रमा शर्मा, प्राज्ञ विष्णु प्रभात, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, मोहना अन्सारी तथा प्रा.डा. जयराज आचार्य सम्मानित भइसकेका छन्।
गोरखाको इतिहास, संस्कृति, शिक्षा र समाजसेवाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुऱ्याएका विशिष्ट विद्वान् व्यक्तित्व स्व. दण्डपाणि अर्ज्यालको स्मृतिमा २०६२ सालमा एक परोपकारी सामाजिक संस्थाका रूपमा दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्र, काठमाडौंको स्थापना भएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment