विश्वकै ठूलो क्रिप्टोएक्सचेन्ज बाइनान्समा हालसम्मकै ठूलो ह्याकिङ: ६.३ अर्ब डलर चोरी
काठमाडौं । विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्स ले ६.३ अर्ब अमेरिकी डलर बराबरको डिजिटल सम्पत्ति चोरी भएको एक ‘जटिल’ साइबर हमला (ह्याकिङ) पश्चात् करिब आधा रकम फ्रिज (रोक्का) गर्न सफल भएको जनाएको छ।
इतिहासकै सबैभन्दा ठूलो मानिएको यो चोरीमा चोरी भएका मध्ये ३ अर्ब डलर सुरक्षित गरिएको बाइनान्सले बताएको छ, यद्यपि बाँकी रकम अझै पनि अज्ञात ह्याकरहरूको नियन्त्रणमा छ।
सुरुमा बाइनान्सले आफ्ना एक इन्जिनियरको ल्यापटपमा पहुँच पुर्याएर अनधिकृत रूपमा रकम निकालिएको अनुमान गरे पनि पछि अनुसन्धानका क्रममा यो हमला अझ व्यापक र ठूलो रहेको खुलेको थियो।
सन् २०२५ मा बाइबिट एक्सचेन्जमा भएको १.५ अर्ब डलरको चोरीको कीर्तिमानलाई समेत पछाडि पार्ने यस हमलामा उत्तर कोरियाली ह्याकिङ समूहको संलग्नता रहेको विभिन्न विश्लेषक संस्थाहरूले दाबी गरेका छन्।
यस घटनापछि अमेरिकी सिक्रेट सर्भिसले चोरी भएको रकमको पहिचान, रोक्का, ट्र्याकिङ र असुलीका लागि ‘रातदिन काम गरिरहेको’ बताएको छ। वित्तीय अपराधको अनुसन्धान गर्ने मुख्य अमेरिकी निकायले यसका लागि जिम्मेवार साइबर अपराधीहरूको पहिचान गरी कानुनी दायरामा ल्याउने स्पष्ट पारेको छ भने बाइनान्सले पनि एफबीआईसँग सहकार्य गरिरहेको जनाएको छ।
बाइनान्सले अमेरिकामा सञ्चालित आफ्नो सेवा (Binance.US) मा यसको असर नपरेको बताए तापनि चोरी भएका रकममा डलरसँग जोडिएका टेथर र सर्कल जस्ता अमेरिकी सम्पत्तिहरू पनि परेकाले यसको छानबिन र असुलीमा अन्तर्राष्ट्रिय निकायहरूसँगै अमेरिकी अधिकार क्षेत्र पनि आकर्षित हुनेछ।
बाइनान्सले आफ्ना प्रयोगकर्ताहरूलाई आश्वस्त पार्दै भनेको छ, ‘तपाईंहरूको रकम पूर्ण रूपमा सुरक्षित छ र कम्पनीले सम्पूर्ण नोक्सानीको भर्पाई गर्नेछ।’ कम्पनीले सुरुमा सबै निक्षेप र रकम झिक्ने सेवा स्थगित गरे तापनि पछि अध्यावधिक जानकारी दिँदै ‘निक्षेप सेवा प्रभावित नभएको’ जनाएको थियो।
बाइनान्सका सह-प्रमुख कार्यकारी अधिकृत रिचर्ड टेङले भनेका छन्, ‘यो कुनै एक व्यक्तिले गरेको काम होइन। हाम्रो प्रारम्भिक अनुसन्धानले सुरक्षा त्रुटिको सुरुवात इन्जिनियरको ल्यापटपबाट भएको सङ्केत गरे पनि पछिल्लो अनुसन्धानले अन्य धेरै कमजोरीका बिन्दुहरू पत्ता लगाएको छ।’
टेङले ह्याकरहरूले आफूले प्रयोग गरेका औजार तथा प्रमाणहरू आफैँ नष्ट हुने ‘सेल्फ-डिस्ट्रक्ट’ प्रविधिको प्रयोग गरेकोले अनुसन्धान र ट्र्याकिङमा जटिलता पैदा भएको बताए।
कम्पनीले पछि एक अध्यावधिक सूचना जारी गर्दै चोरी भएको सम्पत्ति कभर गर्न कम्पनीको कोषबाट ६.३४ अर्ब डलरभन्दा बढी रकम ‘छुट्याइएको’ र विभिन्न क्रिप्टो टोकनहरू ‘सक्रिय रूपमा खरिद गरिरहेको’ जनाएको छ।
बाइनान्समा भएको यस विशाल ह्याकिङका कारण शुक्रबार क्रिप्टोकरेन्सी बजारमा ठूलो हलचल मच्चियो। शुक्रबार अपरान्ह न्यूयोर्क ट्रेडिङमा बिटकोइनको मूल्य ५ प्रतिशतले घटेर ७६,८०० डलरमा झरेको थियो।
त्यस्तै, अर्को क्रिप्टो एक्सचेन्ज कोइनबेसको सेयर मूल्य १२ प्रतिशतले घटेको थियो भने क्रिप्टो कारोबार गर्ने वित्तीय सेवा कम्पनी रोबिनहुडको सेयर ७.८ प्रतिशतले ओरालो लाग्यो।
सन् २०१७ मा चीनबाट सुरु भएको बाइनान्स विश्वभर ३० करोडभन्दा बढी सूचीकृत प्रयोगकर्ताहरू भएको डिजिटल सम्पत्ति कारोबार गर्ने प्रमुख मञ्च हो। सन् २०२४ सम्ममा कम्पनीको संरक्षणमा १६० अर्ब डलरभन्दा बढीको सम्पत्ति रहेको थियो।
हाल बाइनान्सका प्रयोगकर्ता र समग्र क्रिप्टो उद्योगमा बाइनान्सले यति ठूलो वित्तीय नोक्सानी वास्तवमै भर्पाई गर्न सक्छ कि सक्दैन भन्ने ठूलो त्रास फैलिएको छ। कम्पनीले ग्राहकहरूको रकम सुरक्षित रहने र आफू यो सङ्कटको सामना गर्न सक्षम रहेको पटक-पटक दोहोर्याएको छ।
तर, क्रिप्टो बजारका विश्लेषकहरूले सन् २०२२ मा एफटीएक्सका सीईओ साम बैंकम्यान-फ्राइडले पनि एक्सचेन्ज धराशायी हुनुअघि ठ्याक्कै यस्तै आश्वासन दिएको स्मरण गराएका छन्, जसका कारण ग्राहकहरूले ठूलो नोक्सानी बेहोर्नुपरेको थियो।
केही विज्ञहरूले बाइनान्सले क्षतिपूर्तिको प्रतिबद्धता जनाए पनि यसलाई कानुनी रूपमा बाध्यकारी मान्न नसकिने भन्दै रकम असुलीका लागि मुद्दा मामिलामा जानुपर्ने हुनसक्ने चेतावनी दिएका छन्।
लन्डनस्थित एड्विन को ल फर्मका ड्यानियल टङ्केलका अनुसार यो कुरा ‘ग्राहकहरूसँग सम्झौतामा के भनिएको छ’ र ‘बाइनान्समाथि कहाँ मुद्दा चलाउन सकिन्'” भन्नेमा निर्भर हुनेछ। बाइनान्स विश्वभर नै नियामक निकायहरूको कडा निगरानीमा रहँदै आएको छ।
यसैबीच, एआई-आधारित अनुसन्धान संस्था टीआरएम ल्याब्सले यस आक्रमणका धेरै शैलीहरू यसअघि उत्तर कोरियासँग जोडिएका घटनाहरू (जस्तै बाइबिट ह्याक) सँग मिल्दोजुल्दो रहेको जनाएको छ।
विगत पाँच वर्षमा क्रिप्टो उद्योगले ह्याकरहरूका कारण खर्बौँको क्षति व्यहोरिसकेको छ। लगभग सबै घटनाहरूमा अनुसन्धानकर्ताहरूले उत्तर कोरियाली ह्याकरहरू, विशेष गरी ‘लाजारस ग्रुप’ वा ‘ट्रेडरट्रेटर’ लाई दोष दिँदै आएका छन्, जुन उत्तर कोरियाली शासनका लागि सिधै काम गर्ने साइबर अपराधीहरूको समूह हो।
क्रिप्टो विश्लेषक फर्म चेनालेसिसले पनि यस ह्याकमा उत्तर कोरियाको संलग्नता रहेकोमा ‘उच्च विश्वास’ रहेको जनाएको छ। अत्यधिक अन्तर्राष्ट्रिय प्रतिबन्ध र न्यून उद्योग भएको गरिब देश उत्तर कोरियाले आफ्नो अर्थतन्त्र चलाउन र रकम जुटाउन साइबर अपराधलाई माध्यम बनाउने गरेको विज्ञहरूको भनाइ छ।
उत्तर कोरियाले यी आरोपहरूको सधैँ खण्डन गर्दै आए तापनि क्रिप्टोकरेन्सी प्रवाहको विश्लेषण र उताबाट भागेर आएका व्यक्तिहरूको अन्तर्वार्ताले उत्तर कोरिया नै सार्वजनिक कोष जुटाउन ह्याकिङको प्रयोग गर्ने एक मात्र देश भएको बलियो प्रमाण दिन्छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment