लुम्बिनी भ्रमणमा सस्तो प्याकेज : दुई दिनको तीन हजार रुपैयाँ
बुटवल। कोभिड–१९ का कारण थलिएको पर्यटन व्यवसाय उकास्न लुम्बिनीका पर्यटन व्यवसायीले सस्तो प्याकेज घोषणा गरेका छन्। आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गरी धेरैभन्दा धेरै पर्यटक लुम्बिनी आउने वातावरण बनाउन उनीहरूले सस्तो प्याकेज ल्याएका हुन्। सस्तो प्याकेज सार्वजनिक गरेपछि आन्तरिक पर्यटक बढ्ने अपेक्षा व्यवसायीको छ।
तत्कालका लागि लुम्बिनी होटेल संघले एक रात दुई दिनको भ्रमण प्याकेज सार्वजनिक गरेको छ। १५ असोजदेखि लागू हुने गरी दुई हजार एक सय ९९ रुपैयाँमा लुम्बिनीको गाइडेड प्याकेज टुर कार्यक्रम घोषणा गरिएको संघका महासचिव लीलामणि शर्माले जानकारी दिए।
लुम्बिनी होटल एसोसिएसनले आवासमा २५ प्रतिशत र खानामा १० प्रतिशत छुटको व्यवस्था गरेको होटल एसोसिएसन लुम्बिनीका अध्यक्ष मिथुनमान श्रेष्ठले जानकारी दिए।
‘लुम्बिनी घुम्न आउने पर्यटकका लागि यो अफर सार्वजनिक गरिएको हो’, उनले भने। कोभिडका कारण कमजोर अवस्थामा पुगेको पर्यटन बजारलाई सहयोग पुग्ने उद्देश्यका साथ अफर सार्वजनिक गरिएको हो। ठूलो नोक्सान व्यहोरिसकेका व्यवसायीले यो अफर सार्वजनिक गरेपछि पर्यटक आउने अपेक्षा गरिएको छ।
कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा करिब १८ महिनादेखि विदेशी पर्यटकको आगमन लुम्बिनीमा शून्य छ। धार्मिक पर्यटकको रूपमा भारतबाट आउने पर्यटकसमेत नाका बन्दका कारण आउन नसकिरहेको अवस्थामा व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी सस्तो प्याकेज घोषणा गरेका हुन्।
होटल बन्द अवस्थामा रहे पनि सफा गर्नुपर्ने, बिजुली, पानी तथा केही कर्मचारी राख्नुपर्ने, घरभाडा तिर्नुपर्ने बाध्यता रहेकाले यो अफरले केही सहयोग पुग्ने उनीहरूको विश्वास छ । लुम्बिनी आउने बौद्धमार्गीलाई समेत यो अफरले सहयोग पुग्ने पर्यटन व्यवसायीले बताएका छन्।
संघका अध्यक्ष मिथुन श्रेष्ठका अनुसार प्याकेजको पहिलो दिन पर्यटकलाई बसपार्कबाट पिकअप गरी होटेलमा स्वागत गरिनेछ। सोही दिन लुम्बिनीबारे जानकारी दिई केहीबेरको विश्रामपछि साँझ लुम्बिनी तथा बुद्धग्राम रोबोटिक थिएटर भ्रमण गराउने र रात्रिभोजन गराई विश्राम दिइनेछ।
प्याकेजको दोस्रो दिनमा बिहानको खाजादेखि मायादेवी मन्दिर र गुम्बा भ्रमण, अन्तर्राष्ट्रिय विहार क्षेत्र भ्रमण, दिउँसोको खाना तथा विश्राम र विदाइ रहेका छ। उक्त प्याकेजमा दुई बेड भएको कोठा, साँझको खाना, बिहान ब्रेकफास्ट, धूपबत्ती, गाइड, बुद्धग्राम रोबोटिक थिएटर टिकट, लन्च, मायादेवी मन्दिर प्रवेश टिकट र अन्तर्राष्ट्रिय विहार क्षेत्र भ्रमणका लागि यातायातको व्यवस्था गरिएको संघका महासचिव लिलामणि शर्माले जानकारी दिए।
पर्यटन व्यवसायीले मायादेवी मन्दिर अलि ढिलो समयसम्म खोल्न आग्रह गरेका छन्। मायादेवी मन्दिरलाई रातिको ११ बजेसम्म खोल्न पर्यटन व्यवसायीले माग गरेका छन् । यसले लुम्बिनीमा पर्यटकको बसाइ अवधि लम्ब्याउन सकिने उनीहरूको तर्क छ।
लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईले यहाँ आउने पर्यटकले सौहार्दता खोज्ने भएकाले व्यवसायीले त्यसमा ध्यान दिनुपर्ने बताए । महामारीपछि लुम्बिनीमा आध्यात्मिक पर्यटक उतार्न लुम्बिनी विकास कोषले पनि पहल गरिरहेको उनको भनाइ छ ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले विभिन्न क्षेत्रमा लुम्बिनीको प्रवद्र्धन गरिरहेको बताए । यसको साथै पर्यटकको बसाइ अवधि लम्ब्याउन गुरुयोजनालाई अन्तिम रूप दिन लागिपरेको उनले बताए ।







डिसी नेपाल








Facebook Comment