पहिलोपटक नेपाली महिलाले गरिन् धवलागिरि हिमालमाको सफल आरोहण

डिसी नेपाल
१५ असोज २०७८ १०:२४
104
Shares

काठमाडौं। संसारको सातौं (८१६७ मिटर) अग्लो धवलागिरि हिमालको पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेकी छन्। धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी हुन्।

पत्रकारसमेत रहेकी गोरखा आरुघाटकी पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले आज बिहान ५ बजे धवलागिरिको सफल आरोहण गरेको सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले जानकारी दिए।

शेर्पाको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ २ असोजमा मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा गएकी थिइन् । धवलागिरि हिमालमा नेपाली महिलाले पहिलोपटक आरोहण गरेको शेर्पाले बताए।

श्रेष्ठसँगै गएकी माया शेर्पालगायतले आरोहण गरे/नगरेको पुष्टि हुन बाँकी रहेको शेर्पाले बताए। पूर्णिमाको टोलीले यसअघि ३ वैशाखमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए।

पेम्बा शेर्पाको सहयोगमा पूर्णिमाले धवलागिरि आरोहण गरेकी हुन्। उनले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गरेकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.