परिवर्तनका लागि गान्धीको अहिंसा र शान्तिको बाटोको विकल्प छैनः नेता निधि
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले परिवर्तनका लागि महात्मा गान्धीको अहिंसा र शान्तिको बाटोको अरु विकल्प नरहेको बताएका छन्।
गान्धी जयन्ती एवं अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा आज महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको लोकतन्त्रको स्थायित्वका लागि शान्ति विषयक कार्यक्रममा उनले विसं २०६२÷६३ को आन्दोलन पनि अहिंसा र शान्तिकै बाटोबाट सफल भई देशमा अहिलेको परिवर्तन सम्भव भएको बताए । विसं २०७४ को निर्वाचनमा अहिलेको व्यवस्थाप्रति प्रतिबद्ध नभएका दलले बहुमत पाएकैले देश अहिलेको अवस्थामा पुगेको उल्लेख गर्दै उपसभापति निधिले आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने गरी पार्टीको नीति र कार्यक्रम तय हुने जानकारी दिए ।
“सरकार गठन भएको ८१ दिनसम्म पनि मन्त्रिमण्डलले पूर्णता नपाउनु कांग्रेस, गठबन्धन दल र देशकै लागि चिन्ताको विषय हो, ढिला भयो, अब मन्त्रिमण्डलले छिटो गरी पूर्णता पाउनुपर्छ”, उनले भने। अहिंसा एवं शान्तिका माध्यमबाट भारतमा स्वतन्त्रता, भारतीय सुरक्षा प्रणाली बलियो बनाउन र आर्थिक विकास गर्नसमेत नेपालको सहयोग रहेको उल्लेख गर्नुहुँदै नेता निधिले भारतबाट पनि त्यस्तै सहयोगको अपेक्षा राखेको बताए।
कांग्रेस नेता अर्जुननरसिंह केसीले विगत तीन वर्षमा संस्थागतरूपमा ठूला भ्रष्टाचार एवं अनियमितताका घटना भएको उल्लेख गर्नुहुँदै ओम्नी, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, नेपाल ट्रष्टको जग्गा लिज प्रकरण, वाइडबडी, रेल खरिदजस्ता विषयमा छानबिन गर्न पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा समिति गठन गर्न सरकारसँग माग गरे ।
सरकार, पार्टीलगायत संस्थालाई विधिविहीन तरिकाले चलाउनु पनि हिंसा भएको उल्लेख गर्नुहुँदै उहाँले कानुनको शासनअनुसार देश चलाए मात्र लोकतान्त्रिक व्यवस्था बलियो हुने बताए । पार्टीको आगामी १४औँ महाधिवेशनले नीति प्रधान दलका रूपमा कांग्रेसलाई स्थापित गर्ने उनको विश्वास थियो ।
पूर्वमन्त्री होमनाथ दाहालले लोकतन्त्र बचाउन सक्ने नेतृत्व पार्टीको १४औँ महाधिवेशनले निर्वाचित गर्ने बताउनुहुँदै ऐन नबनी रेल किनेर वर्ष दिनसम्ममा त्यसका सबै सामान चोरी हुने अवस्थामा पु¥याएको घटनाका विषयमा छानबिन गर्न माग गरे ।







डिसी नेपाल








Facebook Comment