एमाले सबै हिसाबले पतनको दिशामा गइसकेको छ, अब ओली च्यूत भएको हेर्न बाँकी छ : नेपाल

डिसी नेपाल
२१ असोज २०७८ १५:१९
168
Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले पूर्वपार्टी एमाले सबै हिसाबले पतनको दिशामा गइसकेको बताएका छन्। एमाले सुदूरपश्चिमका नेता भानुभक्त जोशीलाई एकीकृत समाजवादीमा भित्र्याउँदै नेपालले अन्तिम समयसम्म प्रयत्न गर्दा पनि एमालेलाई ठिक ठाउँमा ल्याउन नसकेको बताए। नेपालले एमालेको प्रथम विधान अधिवेशनलाई तमासाको संज्ञा दिए ।

‘विधान अधिवेशनको नाममा भेला गरिएका मानिसहरूको जमात र त्यसले अगाडि सारेका मान्यता देखेर एमालेलाई सुधार्न नसकेर, ठिक ठाउँमा ल्याउन नसकिने देखेर अर्को क्रान्तिकारी पार्टी आवश्यक पर्‍यो भन्ने निष्कर्षसहित भानुभक्त जोशी नेकपा एसमा आउनुभयो,’ उनले भने ।

जोशीको नयाँ यात्रामा सबैभन्दा पहिलो अवरोध केपी ओली गुटले गर्ने भन्दै त्यसलाई पन्छाएर अघि बढ्न निर्देशन दिए । ‘उनीहरूले भ्रम विभिन्न ठाउँमा पैदा गरेकाले चिर्नुपर्ने, अवरोध पन्छाउनुपर्ने र कम्युनिस्ट आन्दोलनको पंक्तिमा, एमालेको भ्रममा बसिरहेका पंक्तिमा सत्यतथ्य कुराहरू जानकारी गराउनुपर्छ,’ उनले भने ।

नेपालले केपी ओली कम्युनिस्ट आन्दोलन तथा अन्य सबै हिसाबले च्यूत भइसकेको आरोप लगाए । ‘अब सम्पूर्ण रूपले च्यूत भएको औपचारिक रूपमा त्यो दिन हेर्न बाँकी छ,’ उनले भने, ‘हामी पहिलेदेखि नै यो निष्कर्षमा थियौं कि केपी ओलीलाई सुधार्न सकिँदैन ।’

ओलीमा व्यक्तिवाद, गुटवाद, निरंकुश शैली चरम रुपमा देखिएको भन्दै उनले वैचारिक स्खलन, राष्ट्रियताको मामिलामा आत्मसमर्पण गरेको, समाजवादको ध्येय र उद्देश्यलाई बिर्सिएर मुलुकलाई परिवर्तनको दिशामा अगाडि लागुनपर्नेमा यथास्थितिमा रहन थालेको यी सबै कुराले गर्दा निकै ठूलो अन्तरसंषर्घ लामो समयसम्म चलेको सुनाए ।

‘अन्तरसंघर्षको सामना गर्ने आँट ओलीमा भएन । केन्द्रीय कमिटी नै भंग गरे । आफूसँग असहमत भएका व्यक्तिलाई पार्टीबाट निष्कासन गर्ने तहमा पुगे । सिंगो पार्टी आफ्नो कब्जामा राख्न पुगे । त्यहाँ सामूहिकता छैन । कम्पनीजस्तो हुन पुगेको छ,’ उनले भने । नेपालले जोशीलाई पार्टीको स्थायी कमिटीमा ल्याउने घोषणा पनि गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.