लुम्बिनीमा कांग्रेसले टुंग्यायो मन्त्रीहरूको नाम, आजै ३ बजे शपथ
काठमाडौं। लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ। नेपाली कांग्रेसले मन्त्रीहरूको नामावली टुंग्याउन नसक्दा शुक्रबार स्थगित भएको मन्त्रिपरिषद् विस्तार आइतबार हुने भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले दिउँसो ३ बजेका लागि शपथको समय तय गरेको जनाएको छ।
नेकपा (एकीकृत समाजवादी) लाई समेत समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो। नेपाली कांग्रेसबाट वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा बर्दियाका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्रीमा रूपन्देहीका बसिउद्धिन खाँ मन्त्री बन्ने भएका छन्। कांग्रेसले मन्त्रीको नाम टुंग्याएकाले शपथ ग्रहण हुने काग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बताए।
कांग्रेसले पर्यटन ग्रामीण तथा सहरी विकासमन्त्रीमा यसअघि नै दाङका डिल्लीबहादुर चौधरीलाई पठाएको थियो। यस्तै नेकपा माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारू र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने भएका छन्। नेकपाबाट उपचुनाव जितेर पछि माओवादी केन्द्र रोजेकी सांसद विमलाकुमारी वली राज्यमन्त्री बन्ने भएकी छन्।
यसअघि मन्त्रिपरिषद् विस्तारका बेला नै वलीलाई राज्यमन्त्री बनाउने चर्चा थियो। माओवादी केन्द्रले मुख्यमन्त्री, आर्थिक मामिला तथा सहकारी, सञ्चार, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको छ। माओवादीले पाएका चार मन्त्रालयमध्ये एक मन्त्रालय नेकपा (एकीकृत समाजवादी) लाई दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेको मुख्यमन्त्री सचिवालयले जनाएको छ।
नेकपा समाजवादी बाट पाल्पाकी रमा घर्ती मन्त्री बन्दैछन्। कांग्रेसका प्रमुख सचेतक फकरुद्विन खाँनले १२ बजेपछि मात्रै नाम सार्वजनिक गर्ने बताए। राज्यमन्त्रीमा रिना नेपाल विश्वकर्माको नाम समावेश गर्न नेतृत्वलाई दबाव परेको कांग्रेसका एक नेताले बताए। तर, राज्यमन्त्रीमा सचेतक निर्मला क्षेत्रीले समेत दाबी गरेकी थिइन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment