मेयर शाक्यले भने-सेवाग्राहीका दुःखका दिन अन्त्य भए

डिसी नेपाल
२५ असोज २०७८ १२:१३
88
Shares

काठमाडौं । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरबाट सेवा लिने सेवा ग्राहीका दुःखका दिन हट्ने बताएका छन्। काठमाडौं महानगरपालिका १२ स्थित महानगरको वातावरण विभाग परिसरमा महानगरको केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्दैै मेयर शाक्यले अहिलेसम्म महानगरबाट सेवा लिने सेवाग्राहीले दुःख पाएको गुनासो गर्ने गरेको बताए।

‘हामीलाई धेरै गुनासो आयो,’ शाक्यले भने, ‘हामी सेवाग्राहीलाई दुःख दिने मनशायमा थिएनौं। तर, पनि महानगरका विभागहरु भिन्नभिन्न ठाउँमा रहेका कारण सेवा ग्राहीहरुलाई आउजाउ गर्न दुःख भएको पनि छ। अब दुःखका दिन गए। हामीले शिलान्यास गरेको एउटै भवनबाट सम्पूर्ण कामहरु गर्न मिल्ने छ।’

उनले महानगरका सम्पूर्ण विभागहरुलाई राख्न सक्ने गरी ९ तल्लाको भवन बनाउन लागेको जानकारी दिए। मेयर शाक्यले भने, ‘फरकफरक ठाउँमा विभाग भएका कारण सेवा ग्राहीले दुःख पाउने गरेकाले अब सबै विभागहरु एउटै भवनमा रहने छन्। हामीले नौं तल्लाको भवन बनाउन लागेका हौं।’

‘काठमाडौं महानगरले गर्न लागेका धेरै कामहरुमा विरोधिहरुले बाधा पुर्‍याए,’ मेयर शाक्यले भने, ‘हामीले सबै कामहरुलाई नियमित रुपमा अघि बढायौँ। रानी पोखरी, कमल पोखरी, धरहरा, दरवार हाइस्कुलदेखि महानगरको अहिलेको कार्यालय रहेको भवनको पनि पुनःनिर्माणमा अवरोध सिर्जना भयो।’ आफूले पनि काम नगर्ने र अरुले गरेको काम पनि हेर्न नसक्ने प्रवृति राजनीतिमा व्याप्त रहेको महानगर प्रमुख शाक्यको भनाइ छ।

कार्यक्रममा काठमाडौं क्षेत्र नं. ९ का सांसद तथा पूर्वमन्त्री कृष्ण गोपाल श्रेष्ठले पार्टीगत भन्दा माथि उठेर जनप्रतिनिधिले काम गरेपछि जनताले अनुमोदन गरेर पठाउने धारणा राखे। उनले भने, ‘हामीले जनअदालतको विश्वास गर्छौं। सर्वोच्च अदालतको विश्वास गर्ने दिन गए। अब जनताबाट अनुमोदित हुने गरी, जनादेशबाट प्रतिनिधि हुने गरी काम गर्नुको विकल्प छैन।’

शिलान्यास गर्ने कार्यक्रममा बोल्दै महानगरकी उपप्रमुख हरिप्रभा खड्कीले निर्वाचित हुनु पूर्वमात्र अलग अलग पार्टीको प्रतिनिधि र निर्वाचित भएपछि महानगरको प्रतिनिधि भएर काम गर्नु पर्ने बताइन्।

उनले भनिन्, ‘हामी निर्वाचन हुनु पूर्वमात्र अलगअलग पार्टीका प्रतिनिधि थियौं। जब निर्वाचित भएर महानगरमा आयौं हामी महानगरका प्रतिनिधि भएका छौं। अब सबैले महानगरकालागि सोच्नु पर्छ। म वडा अध्यक्ष, सदस्यहरुसबैलाई यही अनुरोध गर्दछु कि हामीले काम गर्ने बेलासम्म पार्टीको भन्दा पनि महानगरको प्रतिनिधि भएर काम गर्नु पर्छ।’

यस्तै, महानगरका प्रमुख प्रशाशकीय अधिकृत राजेश्वर ज्ञवालीले भवनको शिलान्यास गर्ने दिन आएपछि आफू एकदमै खुसी भएको बताए। उनले भने, ‘अन्य पालिकाहरुमा गएर हेर्दा आफूलाई अफ्ठेरो लाग्ने गरेको थियो। हामीले पनि सेवा लिन आउने सेवाग्राहीहरुलाई अब एउटै ठाउँबाट सेवा प्रदान गर्ने गरी भवन बनाउन लाग्दा खुसी लागेको छ।’

काठमाडौं महानगरपालिकाको भवन ९० करोडको लागतमा करिव दुई वर्ष लगाएर बन्ने प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले जानकारी दिए।

यस्तो बन्ने छ कार्यालय भवन

महानगरपालिकाको स्वामित्वमा रहेको वातावरण विभागको उक्त जग्गाको क्षेत्रफल ६ रोपनी भन्दा बढी छ अर्थात ३०८३.८२ वर्ग मिटर (६–०–३–३) क्षेत्रफलमा रहेको छ।

काठमाडौं महानगरपालिकाको हाल केन्द्रीय कार्यालय रहेको सुन्धारास्थित हरिभवनको जग्गामा नयाँ कार्यालय भवन निर्माण गर्ने योजना भए पनि हरिभवनका सन्दर्भमा केही मानिसहरूले मुद्दा हालेको र उक्त जीर्ण भवन भत्काउन मिल्दैन भनी सर्वोच्च अदालतबाट आदेश जारी भएका कारण नयाँ कार्यालय भवन टेकुस्थित जग्गामा निर्माण गर्ने निर्णय भएको महानगरले जानकारी दिएको छ।

उक्त भवन काठमाडौं उपत्यकाको मौलिक वास्तुशैलीमा आधारित हुनेछ । यहाँको वास्तु परम्परा अनुसार बहाल शैलीको चोकको अवधारणा अनुसार यसको डिजाइन गरिएको छ।

भवनको बेसमेन्टमा पार्किङको व्यवस्था गरिएको छ। पार्किंडमा चार पाङ्ग्रे सवारी साधन ६० वटा र दुई पाङ्ग्रे सवारी साधन १०० वटा पार्किङ गर्न सकिनेछ। बेसमेन्टमै इन्जिनीयरिङ वर्कशप र पानी ट्यांकी पनि रहनेछ।

भवनको भुइँतल्लामा मुख्य चोक हुनेछ । यहाँ रिसेप्मन सोधपुछ प्रतीक्षालय लगायत अन्यहरू रहनेछ। पहिलोदेखि छैठाँै तल्नासम्म एक एक वटा मिटिङ हल पनि रहने छन्।

ठूलो बहुउद्देश्यीय हल २०० व्यक्ति क्षमताको हुनेछ भने साना दुइटा हलहरू ५०–५० व्यक्ति क्षमताको हुनेछ। कोशीलाई ग्रीन रुमका रूपमा निर्माण गरिनेछ ।

भवन वरिपरि मापदण्ड अनुरूप करिव ५ मिटरको खुल्ला स्थान रहेको हुन्छ सडकबाट ५.५ मिटरसम्म स्थायी प्रकृतिको कुनै पनि संरचना बनाउन नपाइने नियमलाई पनि पालना गरिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.