न्यायाधीशहरुको दशैं : कोही अध्ययनमा त कोही घुमघाममा, प्रधानन्यायाधीश छैनन् छुट्टीमा

डिसी नेपाल
२९ असोज २०७८ ९:३९
260
Shares

काठमाडौं। सधैँ न्यायिक अध्ययन, मुद्दा मामिला, फैसलामा घोत्लिने न्यायमूर्तिहरु चाडपर्वको बेला थोरै भए पनि फुर्सदमा हुन्छन्। त्यसमाथि अलि लामै विदा हुने नेपालीहरुको महान चाड दशैँमा न्यायाधीशहरुले छुट्टि पाउँछन्।

छुट्टीमा दशैँ टिका ग्रहण गर्नुका अलावामा घुमफिर गर्ने, अध्ययन गर्ने, परिवारसँग समय विताउने अवसर पनि पाउँछन् । विगत दुई वर्षदेखि कोभिड १९ संक्रमणले दशैँ परिवारभित्र खुम्चिएका बेला यसपालि अवस्था सामान्य हुँदा सबैतिर रौनक त्यसमाथि कानुनी अध्ययन, अनुसन्धानमा सक्रिय रहने न्यायाधीशका लागि पनि यसपालिको सामान्य अवस्था विशेष छ।

सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशले आ- आफ्नै दशैँविशेष योजना बनाएका छन्। हामीले न्यायाधीशका दशैँविशेष योजना समेट्ने प्रयास गरेका छाै।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा

नेपाली नागरिकले जसरी दशैँ मनाउने हो सामान्य तरिकाले आफूभन्दा माथिल्ला व्यक्तिहरुसँग आर्शिवाद लिएर मनाउने मात्र हो। अरु त्यस्तो विशेष किसिमको कार्यक्रमहरु छैन। उपत्यकामै परिवारसँग हुन्छु। मैले टिका ठूलो दिज्जुहरु, दाइहरुबाट लगाउँछु। चार जना दिदीबहिनी, दुई जना दाजु हुन्। त्यसपछि म र भाइ हो।

अहिले कोभिड १९ संक्रमणको समय भएकाले मैले शुभचिन्तकलाई यो वर्ष टिका लगाइदिने छैन। पारिवारिक घुमघामको कार्यक्रम पनि केही छैन। यस्तो बेलामा हामीले हाम्रो धर्म संस्कृतिलाई उच्च प्राथमिकतामा राख्नुपर्छ। भगवानप्रति नै लिन हुने कुरा हो। भगवानको पूजा आराधना हो।

मैले यो चाडपर्वलाई छुट्टिको रुपमा प्रयोग गरेको छैन। त्यसैलेअध्ययन गर्ने त्यस्तो विशेष छैन। दशैँ नेपाली र त्यसमा पनि हिन्दुहरुको महान पर्व र चाड हो। यसलाई हामीले एकदमै हृदयमा राखेर आफ्नो परम्पराअनुसार मान्नुपर्छ।

यो सबै नेपालीको, सबै जातजातिको पर्वको रुपमा गइसकेको हुनाले हृदयदेखि नै खुला हृदय राखेर चाडपर्वदशैँ, तिहार, दीपावली, छठ, न्हूदँया, भिंतुनालाई हामीले ठूलो चाडको रुपमा मान्नुपर्छ। हाम्रो दायित्व र कर्तव्य भनेकै हाम्रो सबै किसिमको धार्मिक, सामाजिकर सांस्कृतिक संरचनालाई जगेर्ना गर्नुपर्छ। उच्च प्राथमिकतामा राख्नुपर्छ र त्यसलाई अनुशरण गर्दै जानुपर्छ।

हरिकृष्ण कार्की न्यायाधीश

दशैँ विशेष योजना खासै केही छैन। बाहिर जाने कार्यक्रम छैन। उपत्यकामै घरमै बसेर मनाउने हो। टिका मैले दाइ, माइलो काका र साइँली काकीबाट ग्रहण गर्छु। मेरो परिवारको सबैभन्दा ठूलो उहाँहरु नै हो । उहाँहरुबाटै लाउने हो। शुभचिन्तकलाई टिका लाइदिने चलन छैन। परिवारभित्रका आफूभन्दा सानालाई मात्रै लाइदिने गरेको छु। घुमघामको योजना छैन।

अब बाँकी रहेको समयमा अब अफिसियल कामहरु पनि छ। त्यो देखि बाहेको समयमा आफूलाई रुचि लागेका पुस्तकहरु पढ्ने हो। यो सांस्कृतिक पर्व हो। यसले परिवार पुनर्मिलन गराउँछ। परम्परागत रुपमा मान्ने हो। तर त्यसरी मान्ने चलन अहिले धेरै घटिसकेको छ।

पहिले पो धेरैजना मान्छेहरु जमघट हुने, आफ्नो जन्मेको, हुर्केको, पढेको ठाउँबाट टाढ्टाढा हुने रफर्किने, जाने, त्यहाँ सबैसँग भेटघाट हुने त्यो खालको एउटा रमाइलोपन हुन्थ्यो। अहिले त प्राय सबै मान्छेहरु जहाँ जहाँ छन् त्यहीँ भेला हुने, बस्ने खालको स्थिति बनेर गयो। गाउँतिरभन्दा धेरै शहरकेन्द्रीत भए मान्छेहरु । पहिलेजस्तो चार्मिङ त अहिले त्यतिधेरै देखिँदैन । त्यहीँ रुपमै मनाउने हो।

सपना प्रधान मल्ल

दुई वर्ष कोभिड १९ संक्रमणको महामारीले मनाउन नपाएकाले अलिकति भए पनि मनाउन पाउँदा यसपालि दशैँ विशेष छ। अवसरजस्तो भएको छ। हामी अदालतको कर्मचारी, न्यायाधीशहरु दशैँमा पनि कामै गर्ने हो। दशैँमा पनि ड्युटी त छँदैछ। फैसला लेखनको कार्य पनि बाँकी नै रहेकाले सक्नुपर्नेछ। दशैँ बुढो सासुसँग बसेर काठमाडौंमै मनाउने योजना छ। घुमघाम भइरहेको छ।

छुट्टी भएपछि हाइकिङ सुरु गरेको छु। विष्णुमतिको मुहानमा ढुंगैढुंगामा चढेर हिँडेर पुग्दा रमाइलो लाग्यो । आनी गुम्बा पनि जाने योजना छ । काठमाडौंकै छेउछाउ घुम्ने ठाउँ धेरै छ । शनिबारै कुर्न परेन ।

दशैँ विदाले यो अवसर पनि जोडेको छ । मठ मन्दिरमा जाने समय पनि मिलेको छ । यसपालिको दशैँमा भेटघाट, घरमा पूजापाठ, नेवारको फेरि भोजभतेर, सपरिवार खानपिन गर्ने, टिका थाप्ने, टिका लगाइदिने, नजिकै घुम्ने त्यहीँ नै कार्यक्रम छ ।

मैले सासुबाट टिका थाप्छु । अनि अरुलाई लगाइदिने हो । कोही शुभचिन्तक आउनुभयो भने शुभकामना र आशिर्वाद लिने/दिने यसैगरी मनाइन्छ । फैसला लेखनको धेरै काम भएकाले यसपालि अन्य पुस्तकहरु अध्ययन गर्ने समय छैन । मुद्दा र फैसला लेखनसँग जोडिएका रिलेभेन्ट किताबहरु, आर्टिकलहरु पढिरहेको छु । कानुनहरु समयानुसार परिवर्तन हुँदैछन् ।

तर हामी पुरानो जुरिसप्रुडेन्सलाई मात्र आधार मान्छौं । जस्तो रेप केसमा परम्परागत मेडिकल जुरिसप्रुडेन्समा पनि फरक दृष्टिकोणबाट कसरी अगाडि जाने भन्ने कुरासँग सम्बन्धित आर्टिकलहरु पढिरहेको छु । चाडपर्वलाई मैले संस्कृतिका रुपमा लिन्छु । जोडिने, विविधतामा एकता ल्याउने आधारका रुपमा हेर्छु । मान्छेको फरक धर्म, भाषा, जाति होला, तर यो चाडपर्वले हामी सबैको संस्कृति एउटै हो । किनभने संस्कृति पनि एउटा एकतामा बाध्ने आधार हो ।

हरि फुयाँल न्यायाधीश

मेरो दशैँ योजना घरमै बस्ने, पुस्तक पढ्ने छ । टिका आमाबाट थाप्छु । शुभचिन्तक र घरपरिवारका सदस्यलाई टिका लगाइदिन्छु । पुस्तक पढ्नुका साथै विभिन्न फैसलाहरुको लेखन कार्य गर्ने भन्ने छ । यसपालि पारिवारिक घुमघाम छैन । दशैँ तिहारजस्ता चाडपर्व परिवारसँग मिलन, आशिर्वाद लिने, धार्मिक, सांस्कृतिक हिसाबले पूजापाठ गर्नेहो । त्यहीँ हिसाबले लिनुपर्छ ।

नहकुल सुवेदी न्यायाधीश

मेरो टिका म्याग्दीमा हुन्छ । म्याग्दीको रघुगंगा गाउँपालिका-३ राखुमा ९० वर्षको पिता हुनुहुन्छ । उहाँबाट, काका,दाईभाउजुहरु टिका ग्रहण गर्छु । शुभचिन्तक आफूभन्दा सानोलाई टिका लगाइदिने, आशिर्वाद दिने गर्छु । घोडेपानी, टोड्केजस्ता धार्मिक पर्यटकीय क्षेत्रमा भ्याएसम्म घुमघाम गर्छु । बाटोमा पर्ने मठमन्दिरहरु दर्शन भइहाल्यो ।

घरमा पिताजीसँग बस्ने बाहेक अरु त्यस्तो केही योजना छैन । फिक्सनहरु एकदुइटा किताब पढ्ने योजना छ । फेरि घरमा दाजुभाई भेट हुने हुन्छ । घरमा नजाँदा छुट्टिमा अलि धेरै पढाई हुन्छ । एक दुई किताब जहिले साथमा हुन्छ । दशैँको धार्मिक, सामाजिक, सांस्कृतिक महत्व छ । एकता सद्भाव कायम गराउँछ ।

तिलप्रसाद श्रेष्ठ-मुख्य न्यायाधीश,विराटनगर उच्च अदालत

दशैँ स्याङ्जास्थितघरमैहुन्छ । बुवाआमाबाट टिका लगाउँछु । शुभचिन्तकलाई टिका लगाइदिन्छु । टिकाको भोलिपल्ट कार्यक्षेत्रमा फर्किन्छु ।यसपालि पारिवारिक भेटघाट र जिल्लामै घुमघामको योजना छ । दशैँको छुट्टिलाई मैले अध्ययनको रुपमा उपयोग गर्ने सोंचेको छु । यसपालि दुइटा अध्ययन गरिरहेको छु । एउटा चेञ्च मेकर भनेर जुडियसरी वेलविइङमा ।

अष्ट्रेलियाको भिक्टरियाको कलेजबाट शब्द पाएको छु । त्यसमा अध्ययन खोजी गरिरहेको छु । यो शब्दलाई न्यायिक स्वास्थ्य भनेर नेपालीमा भनेको छु । मानव स्वास्थ्यलाई कसरी स्वस्थ राख्ने भनेझै जुडिसियरीलाई कसरी स्वस्थ बनाउने भन्ने अध्ययनमा लागेको छु । दशैँले विशेषत:हामीलाई सत्यको विजय भन्ने परम्परागत मान्यता छ । हामीलाई सत्य निष्ठाप्रतिकोहाम्रो प्रतिबद्धता राम्रो कसरी गर्न सकिन्छ भनेर शुभकामना, आशिर्वाद आदानप्रदान गर्ने हो ।

हेमन्त रावल- न्यायाधीश, चितवन जिल्ला अदालत

यसपालि मेरो टिका छैन । गाउँमा मेरो ठूलो बुवाको छोरा-भाइ वितेको ४५ दिन पुगेको छैन । त्यसले गर्दा यसपालि टिका हुँदैन । तै पनि घरपरिवारसँग बसेर काठमाडौंमै छुट्टिको समय विताइरहेको छु । आफन्तहरुसँग भेटघाट, घरमै बसेर अध्ययन र परिवारसँगको घुमफिरमै विताइरहेको छु । उपत्यकाका नयाँ नयाँ ठाउँमा केटाकेटीसँग घुमघाम भइरहेको छ ।

जुठो परेकाले मन्दिर जान मिलेको छैन । चाडपर्वलाई संस्कार मान्नुपर्छ । हामीले संस्कृति जोगाएनौ भने हाम्रो पुस्तान्तरण हुँदैन । नयाँ पुस्ताले बिर्सिँदै जान्छ । त्यसकारण हाम्रा ऐतिहासिक, धार्मिक, सांस्कृतिक पर्वलाई रमाइलोसँग मनाउनुपर्छ । आफ्नो आवश्यकता र हैसियतअनुसार मितव्ययी बन्नुपर्छ । धार्मिक महत्व कायम राख्दै अनुशासित मर्यादित भएर मनाउनुपर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.