एमाले केन्द्रीय सदस्यमा दमकबाट तीन जनाको उम्मेदवारी

डिसी नेपाल
८ मंसिर २०७८ २२:१२

काठमाडौं ।नेकपा (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा दमकका तीन जना जनप्रतिनिधिसमेत रहेका नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । यसरी उम्मेदवारी घोषणा गर्नेमा राष्ट्रियसभा सदस्य देवेन्द्र दाहाल, १ नम्बर प्रदेशसभा सदस्य अर्जुन राई र दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली छन् । उनीहरुले आफ्ना सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेका छन्। तीनै जना उम्मेदवार दमक– ५ का बासिन्दा छन् ।

दमकमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेशसभा सदस्य राईले आदिवासी जनजातिको क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरे । यसैगरी राष्ट्रियसभा सदस्य दाहालले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । हाल केन्द्रीय कमिटी सदस्यसमेत रहेका नेता दाहालले मजबुत पार्टी निर्माण गर्दै आगामी चुनावमा पहिलो दल बनाउने अभियानसहित उम्मेदवारी घोषणा गरेको उल्लेख छ ।

यसैगरी दमक नगरपालिकाका प्रमुख ओलीले प्रदेश १ को भूगोलबाट केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । दमकमा पत्रकार सम्मेलन गरेर उनले पार्टीको सङ्गठनात्मक सुदृढीकरणका साथै पार्टीले लिएको नीतिलाई जनतामाझ सशक्तरूपमा पुर्‍याउन आफूले उम्मेदवारी दिने बताए । विसं २०३८ देखि पार्टी गतिविधिमा क्रियाशील रहेको स्मरण गर्दै उनले आफ्नो अब पार्टीको केन्द्रीय कमिटीमा बसेर काम गर्ने इच्छा प्रकट भएको उल्लेख गरे ।

एमालेको दशौँ महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनले प्रदेश १ को भूगोलबाट दुई महिला र खुलाबाट दुई गरी कूल चार जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *