महाधिवेशनमा एमालेको शक्ति प्रदर्शन र ओलीको आत्मविश्वास

डिसी नेपाल
१० मंसिर २०७८ १८:३०

चितवन। पूर्वनिर्धारित कार्यतालिका अनुसार नेकपा एमालेको दशौं महाधिवेशन आज (शुक्रबार) देखि चितवनमा सुरु भएको छ। शुक्रबार खुलासत्रको कार्यक्रम सकिएको छ भने शनिबारदेखि बन्दसत्रको कार्यक्रम सुरु हुनेछ। चितवनस्थित नारायणी नदी किनारमा बनाइएको विशालमञ्चबाट महाधिवेशनलाई सम्बोधन गर्दै आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने र सरकार बनाउने दाबी गरे।

त्यो भन्दा अगाडि एमालेले चितवनका विभिन्न स्थानबाट निकालेको जुलुस देख्दा लाग्थ्यो एमाले विभाजित छैन, अझ एमाले र माओवादीको एकीकृत रुप नेकपा नै हो।
ठूलो र फराक ठाउँमा चितवनमा महाधिवेशन गर्दा पनि चितवनको मुख्य भाग अस्तव्यस्त भएको थियो। तुलनात्मक रुपमा चुस्त व्यवस्थापन भएपनि व्यापक जनसहभागिताका कारण सहरका विभिन्न भाग अस्तव्यस्त बन्न पुगेका थिए।

विशेष गरी ओलीको भाषण सुन्न नेतादेखि कार्यकर्ता र सर्वसारधरण उत्सुक देखिन्थे। आठ जना वक्तापछि महाधिवेशनलाई सम्वोधन गरेका ओलीले विगतमा आफूले गरेको कामको श्रेय लिने कोशिस गरे भने गर्न बाँकी रहेका काम आगामी निर्वाचनपछि बुहमत प्राप्त गरेर सरकार बनाएपछि पूरा गर्ने जिकिर गरे।

ओलीको भाषण सुन्दा आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने र सरकार गठन गर्नेमा उनी ढुक्क जस्तै देखिन्थे। ओलीले आगामी स्थानीय तहको निर्वाचनबाटै ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्ने दाबी गरे। यो क्रम निरन्तर प्रतिनिधिसभा सदस्य निर्वाचनसम्म जारी रहने उनको भनाइ थियो। ओलीले एमालेलाई नभइ देशको विकास गर्न बहुमत आवश्यक रहेको जिकिर गरे।

‘एमालेलाई होइन, देश विकास गर्न बहुमत दिनुस्,’ नारायणी नदी किनारमा उभिएर ओलीले भने, ‘एमाले देश र लोकतन्त्र संस्थागत गर्न आवश्यक छ।’ ओलीले जनादेशबाट प्राप्त अधिकारको रक्षाका लागि पनि एमाले चाहिने दाबी गरे।

‘देशलाई एकजुट बनाएर समस्या समाधानका लागि अघि बढ्ने काम अब एमालेबाट हुन्छ। परमादेशबाट सरकार फेरिने असंवैधानिक कुरामा नजाउँ जनताका बीचमा जाउँ भनेका थियौं, अरु कतिपय दल डराए हामी गयौं। चुनावहरू आउँदैछ म भन्न चाहन्छु हामी अब चुनावको तयारी तर्फ जाँदैछौं जनमताको तयारीमा छौं। एकल बहुमत ल्याउनुपर्छ एमालेका लागि होइन देश बनाउन एकल बहुमत चाहिएको छ,’ ओलीले भने।

यसैबीच सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि पहल जारी राखेका छन्। विशेष गरी पदाधिकारीमा सर्वसम्मतको प्रयास भइरहेको छ। अन्य पदमा पनि सहमतिको प्रयास जारी राख्न विकल्पमा छलफल भइरहेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। सहमतिका लागि विभिन्न विकल्पमा छलफल भइरहेको छ, ज्ञवालीले डिसी नेपालसँग भने, पदाधिकारीको संख्या थप नै हुने जस्तो त लाग्दैन तर सहमतिको प्रयास भने जारी छ।

एमाले अध्यक्ष केपी शर्मा ओली निकट स्रोतका अनुसार सर्वसम्मत नेतृत्व चयनका लागि पदाधिकारीदेखि केन्द्रीय कमिटीको संख्यासम्म थप्ने गरी छलफल भइरहेको छ।
पदाधिकारीका आकांक्षी धेरै भएपछि सबैलाई चित्त बुझाउन अध्यक्ष ओलीलाई पनि सकस भइरहेको छ।

अध्यक्षमा भीम रावलले उम्मेद्वारी घोषणा गरेपछि अन्य पदमा पनि निर्वाचन हुने र निर्वाचन भएको अवस्थामा माओवादीबाट एमाले प्रवेश गरेका नेता र दश बुँदे सहमति गरेर पार्टी मुधबारमा फर्किएका नेताको व्यवस्थापनमा जटिलता उत्पन्न हुने भन्दै केही नेतहरुले सर्वसम्मत नेतृत्व चयनको पहल गर्दै आएका छन्।

ओली निकट मानिने नेता विशाल भट्टराईका अनुसार अहिले पदाधिकारी, आयोग र केन्द्रीय कमिटीको संख्या थप गरेर भएपनि सहमतिको प्रयास भइरहेको छ। यो विषयमा अध्यक्ष ओलीसँग पटक पटक संवाद भएको र त्यसकास लागि ओली पनि सकारात्मक रहेको उनको भनाइ छ।

पार्टीमा अध्यक्षसहित १५ जना पदाधिकारी रहने व्यवस्था छ। २२५ सदस्यीय केन्द्रीय कमिटी छ। तर, पदका आकांक्षी धेरै भएका कारण अधिकांश पदमा निर्वाचन नै गर्नुपर्ने अवस्था आएपछि सर्वसम्मत नेतृत्व चयनका पक्षधरहरुले यस्तो प्रस्ताव ल्याएका हुन्। सकेसम्म अहिले भएकै संख्यामा सर्वसम्मत चयनको प्रयास भइरहेको छ तर अहिलेकै संख्यामा आकांक्षीहरु सबैलाई अटाउन सकिने अवस्था छैन। आकांक्षीहरु धेरै भएपछि सबैलाई व्यवस्थापन गर्नको लागि पदहरु थप्ने विषयमा छलफल सुरु भएको उनले बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *