आफ्नो देशमा श्रीलंकन नागरिकलाई जिउँदै जलाइएपछि इमरानले राजापाक्षेलाई के भने ?

डिसी नेपाल
१९ मंसिर २०७८ १५:१६
4.0k
Shares

काठमाडौं। पाकिस्तानको सियालकोटमा श्रीलंकाली नागरिकलाई भिडले जिउँदै जलाएको घटनापछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई फोन गरेर घटनाप्रति दुःख व्यक्त गरेका छन् । पाकिस्तानी अखबार डनका अनुसार पाकिस्तानी प्रधानमन्त्री इमरानले श्रीलंकाली समकक्षी राजापाक्षेसमक्ष पाकिस्तानको तर्फबाट आफू लज्जित भएको समेत बताएका छन् ।

शुक्रबार पाकिस्तानको सियालकोटमा भिडले कथित ईशनिन्दाको आरोपमा एक श्रीलंकाली नागरिकलाई कुटेर हत्या गरेर शवलाई आगो लगाइदिएका थिए । प्रियानाथ कुमारा नामका श्रीलंकाली नागरिक इसाइ थिए र लाहोरबाट करिब १०० किलोमिटर टाढा सियालकोट जिल्लाको वजीराबाद रोडस्थित एक कपडा कारखानामा म्यानेजरको रुपमा २०१२ देखि काम गरिरहेका थिए । घटनापछि प्रधानमन्त्री इमरान खानले यसलाई पाकिस्तानको लागि लज्जास्पद दिन भनेका थिए ।

शनिबार प्रधानमन्त्री इमरान खानले ट्वीट गर्दै आफूले श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेलाई फोन गरेको जानकारी दिए । इमरान खानले श्रीलंकाली राष्ट्रपतिलाई फोन गरेर यो मामिलामा अहिलेसम्म सय भन्दा धेरैलाई गिरफ्तार गरिएको बताउँदै दोषीलाई कानुन बमोजिम कारवाही गरिने विश्वास दिलाएका छन् ।

यही बीचमा मारिएका श्रीलंकाली नागरिककी पत्नीस्को बयान पनि सार्वजनिक भएको छ । उनकी पत्नी निरोश दसानियाले भनिन् ‘मैले इन्टरनेटमा देखें कि कति अमानवीय तरिकाले उहाँको हत्या गरियो । म श्रीलंकाका राष्ट्रपति र पाकिस्तानका राष्ट्रपति तथा प्रधानमन्त्रीसँग निष्पक्ष जाँचको माग गर्छु ताकि मेरा पति र मेरा दुई छोराछोरीले न्याय पाउन सकुन् ।’ श्रीलंकाली नागरिकको शव इस्लामाबाद पठाइएको छ र भोलि सोमबार श्रीलंका पठाइनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.