रुस–युक्रेन युद्धको आशंका किन ? पश्चिमी देश किन डराउँछन् ? के यसले विश्वयुद्ध हुन्छ ?

डिसी नेपाल
२६ मंसिर २०७८ १५:५२
12.7k
Shares

काठमाडौं। रुस र युक्रेनबीच युद्धको स्थिति बनेको छ । यो तनावले पश्चिमी देशहरुमा भारी चिन्ता छ । पश्मिी देशहरुको सबैभन्दा ठूलो चिन्ता हो यो तनाव बढेर युद्धको संघारमा पुग्यो भने यसको आगो पूरै युरोपमा फैलिन सक्छ र दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा खराब स्थिति बन्न सक्छ । पश्चिमी देशका खुफिया संस्थाहरुको अनुमान अनुसार युक्रेनको सीमामा ट्यांक र तोपको साथमा करिब १ लाख रुसी सैनिक छन् । अमेरिकाले यो संख्या जनवरीसम्म बढेर १ लाख ७५ हजार हुन सक्ने आशंका गरेको छ ।

अमेरिका र उसका नेटो सहयोगीले रुसलाई यसअघि नै युक्रेनमाथि कुनै आक्रमण गरे गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिइसकेका छन् तर रुस भने यसको बेवास्ता गर्दै एक खेल खेल्न लागिरहेको छ । कैयौं विश्लेषकहरुका अनुसार रुसले यो दबाबको रणनीतिअनुसार गरिरहेको छ ताकि युक्रेनले पश्चिमी देशहरुको सुरक्षा संगठन नेटोमा स्थान पाउन नसकोस् ।

यदि युक्रेन नेटोको सदस्य बन्यो भने नेटोका सैन्य अड्डा आफ्नो सीमाछेउ खडा गरिने रुसलाई डर छ । यद्यपि नेटोले रुसलाई यसबाट उसलाई कुनै खतरा नहुने विश्वास दिलाएको छ । रुस र युक्रेनबीचको विवादलाई अहिले नेटोसँग जोडेर हेरिएको छ । तर दुवै देशबीच कैयौं पटक संघर्ष भइसकेको छ । यसमध्ये एउटा २०१४ को युद्ध पनि हो जतिबेला रुसले युक्रेनसँगबाट क्रिमिया खोसेर आफूले कब्जा गरेको थियो । रुस र युक्रेनबीचको तनाबलाई बुझ्न केही वर्ष पहिले इतिहासमा जानुपर्छ ।

युक्रेन कुनै बेला रुसी सामाज्यको हिस्सा थियो । १९९१ मा सोभियत संघ फुटेपछि युक्रेन स्वतन्त्र भएको थियो । त्यतिबेलादेखि नै युक्रेनले रुसको छत्रछायाबाट बाहिर निस्किने कोसिस गर्न थाल्यो । यसको लागि युक्रेनले पश्चिमी देशहरुसँग निकटता बढायो । उसले यो निर्णय त्यतिबेला गर्यो जतिबेला उसको उत्तर र पूर्वमा लामो सीमा रुससँग जोडिएको छ ।

२०१० मा भिक्टर यानुकोभिच युक्रेनका राष्ट्रपति बने र उनले रुससँग निकै निकटको सम्बन्ध बनाए । यो सम्बन्धको जगमा उनले युरोपेली संघमा सहभागी हुने सम्झौतालाई खारेज गरिदिए । यसको प्रतिक्रिया यो भयो कि देशमा भारी विरोधका कारण २०१४ मा उनले पदबाट राजीनामा दिनुपर्यो । त्यसपछि रुसले युक्रेनविरुद्ध आक्रामकता देखायो र कथित रुपमा त्यहाँका पृथकतावादीहरुलाई सहयोग गर्यो । जसको परिणामस्वरुप उसले युक्रेनको क्रिमिया प्रायद्विपमा कब्जा गर्यो ।

रुसमाथि युक्रेनका पृथकतावादीहरुलाई पैसा र हतियार सहयोग गरेको आरोप लाग्ने गर्छ । रुसले यी आरोप अस्वीकार गर्छ तर उसले खुलेर पृथकतावादीहरुको समर्थन गर्छ । युक्रेनको पूर्वी क्षेत्रमा रहेको डोनबासलाई औद्योगिक सहर मानिन्छ । यहाँ २०१४ मा भएको लडाइँमा १४ हजारभन्दा धेरै मारिएका थिए । युक्रेन र पश्चिमी देशहरुले रुसले आफ्ना सैनिकहरुमार्फत युक्रेनी विद्रोहीलाई सहयोग गरेको आरोप लगाउँछन् तर रुसले भने विद्रोहीहरुलाई साथ दिने रुसी स्वयंसेवक हुन् भन्छ ।

२०१५ मा फ्रान्स र जर्मनीले एक शान्ति सम्झौताको मध्यस्थता गरेका थिए जसबाट युद्ध रोकियो तर यसबाट कुनै राजनीतिक समाधान निस्किएन । यो वर्ष त्यतिबेला संघर्षविराम उल्लंघनमा त्यतिबेला तीब्रता देखियो जब युक्रेनी सीमानजिक रुसी सैनिकहरुले युद्धाभ्यास सुरु गरे । अप्रिलमा रुसले यसलाई रोकेपछि तनाव केही कम भएको छ ।

अमेरिकी खुफिया अधिकारीहरुले गत हप्ता रुसले युक्रेनी सीमामा १ लाख ७५ हजार जवानहरु तैनाथ गर्न गइरहेको आशंका गरेका थिए । उनीहरुले यीमध्ये आधा सैनिक तैनाथ गरिसकिएको भन्दै रुसले २०२२ को सुरुमा युक्रेनमाथि आक्रमण गर्न सक्ने बताएका थिए । युक्रेनले पनि रुसले आफ्नो सीमानजिकै ९० हजार सैनिक तैनाथ गरेको भनेको थियो ।

युक्रेनको रक्षा मन्त्रालयका अनुसार रुसको ४१ औं आर्मीको युनिट रुसमा येलनया सहरको नजिक छ । युक्रेनको उत्तरी सीमाबाट यो सहर केवल २६० किलोमिटर टाढा छ । युक्रेनका रक्षा मन्त्री ओलेक्सी रेजनिकोफले शुक्रबार संसदमा युक्रेनको नजिक र रुसको कब्जामा रहेको क्रिमियामा ९४ हजार ३ सय सैनिक रहेको र जनवरीमा यसमा ठूलो मात्रामा बढोत्तरी सम्भव भएको बताए । रुसले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । रुसले आफ्नो क्षेत्रमा जवान तैनाथ गर्दा अरुलाई समस्या हुन नपर्ने बताएको छ ।

अहिले रुसले युक्रेनमाथि २०१५ को शान्ति सम्झौताको सम्मान नगरेको र पश्चिमी देशहरु युक्रेनलाई यसको पालना गराउन विफल रहेको आरोप लगाएको छ । यो सम्झौतामार्फत रुसले एक कूटनीतिक जीत पाएको थियो र उसले युक्रेनलाई विद्रोहीहरुको बढहरुलाई स्वायत्तता दिन र उनीहरुलाई आममाफी दिन बाध्य पारेको थियो । यद्यपि यो सम्झौता कार्यान्वयन हुन सकेन । यो लागू नहुनुमा युक्रेनले रुसलाई जिम्मेवार भन्छ । युक्रेनको दावीअनुसार रुस समर्थित पृथकतावादीहरुले संघर्ष विराम उल्लंघन गरे र पूर्वमा विद्रोहीहरुको गढमा रुसी सैनिक छन् । रुसले भने यी दावी अस्वीकार गर्छ ।

यी आरोप प्रत्यारोपका बीचमा रुसले युक्रेन, फ्रान्स र जर्मनीसँग बैठक गर्न अस्वीकार गरिदियो र २०१५ को शान्ति सम्झौता युक्रेनले नमान्नु व्यर्थ भएको बतायो । अर्कोतर्फ रुस लगातार अमेरिका र उसका नेटो सहयोगी देशहरुमाथि युक्रेनलाई हलियार सहयोग गरेको र संयुक्त सैन्य अभ्यास गरेकोमा आलोचना गरिरहन्छ । यसो गरेर युक्रेनका सैनिकहरुलाई बलपूर्वक विद्रोहीहरुको क्षेत्र फेरि कब्जा गर्न प्रेरित गरिएको उसको आरोप छ ।

यो वर्षको सुरुवातमा रुसी राष्ट्रपति पुटिनले चेतावनी दिँदै युक्रेनको पूर्वी क्षेत्रमा कब्जा गर्ने सैन्य कोसिसले ‘युक्रेनी राष्ट्रको दर्जा’लाई गम्भीर असर पर्ने भनेका थिए । रुसी राष्ट्रपति लगातार रुसीहरु र युक्रेनीहरुलाई एउटै जनता भन्दै आएका छन् र उनी दावी गर्छन् कि सोभियत समयमा युक्रेनले गलत तरिकाले ऐतिहासिक रुसी जमिन पाएको थियो ।

पुटिनको चिन्ता युक्रेन नेटोमा सहभागी हुने विषयमा पनि छ । उनले नेटो आफ्नो लागि एक सीमा रेखाजस्तै भएको चेतावनी दिइसकेका छन् । उनले नेटो सदस्यहरुको युक्रेनमा सैन्य प्रशिक्षण केन्द्र बनाउने योजना भएको र यसले युक्रेनलाई नेटोमा सहभागी नभइ आफूविरुद्ध सैन्य मजबुती दिने बताइसकेका छन् । गत हप्ता पुटिनले जोड दिँदै रुसलाई अमेरिका र उसका सहयोगीहरुबाट ‘विश्वसनीय र दीर्घकालीन सुरक्षा ग्यारेन्टी’ चाहिएको बताएका थिए ।

पुटिनले अमेरिका र उसका सहयोगीहरु पूर्वतिर नेटोको कुनै पनि कदमबाट टाढा रहने र रुसी षेत्रको नजिक रुसको लागि खतरा उत्पन्न गर्ने हतियारको तैनाथीबाट पनि टाढा रहने ग्यारेन्टी मागेका थिए । पुटिनले आफूलाई कुनै मौखिक भरोसा नभइ कानुनी ग्यारेन्टी चाहिएको समेत बताएका थिए । गत हप्ता रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति बाइडेनबीच यही विषयमा एक भर्चुअल बैठक भएको थियो ।

पुटिनका विदेश मामिलाका सल्लाहकार युरी उशाकोफले बताएअनुसार आफ्ना मागहरुबारे पुटिनले बाइडेनलाई यही बैठकमा सूचित गरिदिएका थिए । यद्यपि कैयौं विश्लेषकहरु भने रुसका मागहरुलाई बाइडेनले खासै महत्व नदिएको विश्वास गर्छन् । बाइडेनले शुक्रबार भनेका थिए कि उनी कुनै पनि सीमा रेखालाई स्वीकार गर्नेवाला छैनन् ।

अप्रिलमा रुसलाई लागेको थियो कि उसको सैन्य शक्ति देखाउने रणनीतिले काम गरिरहेको छ र अहिले उसले यसैलाई दोहोर्याइरहेको छ । राष्ट्रपति पुटिनले गत हप्ता रुसी कूटनीतिज्ञहरुलाई भनेका थिए ‘हाम्रा हालैका चेतावनीहरुलाई सुनिएको छ र प्रभाव हेर्नलायक भएको छ । तनाव बढेको छ ।’ पुटिनले तर्क दिएका थिए कि तनाव बढेपछि पश्चिमी देशहरु रुसलाई ध्यान दिन्छन् र उसलाई बेवास्ता गर्दैनन् ।

मस्कोस्थित थिंक ट्यांक आरआइएसीसँग सम्बन्धित आन्द्रेइ कोर्तुनोफ भन्छन् ‘यदि युक्रेनको नजिक सैन्य गतिविधि आक्रामक रुपमा देखिएका छन् भने यसको अर्थ यो होइन कि सिधै सैन्य कारवाही हुन गइरहेको छ । असलमा यो सन्देश हो जो पुटिन दिन चाहन्छन् ।’ युक्रेनको लागि यो सन्देश हो कि डोनबासमा फेरि नियन्त्रणको प्रयास गर्ने जस्तो कुनै हर्कत नगर्नु । कोर्तुनोफ मान्छन् कि पश्चिमी देशहरुलाई रुसले युक्रेनमा नयाँ किसिमका उन्नत हतियारजस्ता नेटोका शक्ति नपुर्याउनु भन्ने सन्देश दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.