कांग्रेस महाधिवेशन : दुई अंकको दुःख !
काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा दुई अंकको अभावले नेताहरू निर्वाचित हुनबाट बन्चित भएका छन्। कांग्रेसको केन्द्रीय दुई उपसभापतिका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक विजयकुमार गच्छदार दुई मतको कमीले निर्वाचित हुनबाट बन्चित रहे।
सभापतिमा गच्छदारसँगै पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला र दिव्येश्वरी शाह चुनावी मैदानमा थिए। गच्छदार र खड्का संस्थापनबाट उम्मेदवार बन्दा भण्डारी र गुरुङ संस्थापनइतर शेखर कोइरालाको प्यानलबाट चुनावी मैदानमा उत्रिएका थिए।
यसैगरी, प्रकाशमान सिंहको समूहबाट सुजाता कोइराला र विमलेन्द्र निधिको प्यानलबाट शाह उपसभापतिका लागि प्रतिस्पर्धा गरेका थिए। यस्तै स्वतन्त्र उम्मेदवारका रुपमा महेश आचार्य पनि उपसभापतिको दौडमा सहभागी भएका थिए।
बुधबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम सार्वजनिक हुँदा संस्थापन समूहका खड्काले सबैभन्दा बढी २१२१ मत ल्याएर विजयी भए भने कोइराला पक्षका गुरुङले १९०८ मत ल्याएर उपसभापतिमा निर्वाचित भए। तर, गुरुङभन्दा दुई मत कमी १९०५ भोट ल्याएर निर्वाचित हुने मौका गच्छदारले गुमाए। गच्छदारपछि क्रमशः भण्डारीले १५८०, कोइरालाले ६४४, आचार्यले ५८९ र शाहले १३२ मत ल्याएर उपसभापतिमा हार व्यहोरे।
केन्द्रको निर्वाचनमा गच्छदारले भोगेको पीडा कांग्रेस प्रदेश १ सभापतिका लागि भएको निर्वाचनमा गुरु घिमिरेले भोग्नुपरेको थियो। प्रदेश १ सभापतिका लागि भएको निर्वाचनको गत २० मंसिरमा सार्वजनिक मत परिणामअनुसार घिमिरेले पनि गच्छदारले जस्तै दुई मत कमीले हार व्यहोरेका थिए। घिमिरेलाई दुई मतले पछि पार्दै उद्धव थापा कांग्रेस प्रदेश १ सभापतिमा निर्वाचित भए।
थापाले ८४४ मत ल्याएर विजयी हुँदा घिमिरेले ८४२ भोट ल्याएर हार व्यहोरे। नेविसंघका पूर्व अध्यक्षत तथा तत्कालीन (चुनाव लड्दा) पार्टीको केन्द्रीय सदस्यको हैसियतमा रहेका घिमिरे प्रदेश सभापतिमा पराजित भएका हुन्। थापा झापा जिल्लाको पूर्वसभापति थिए।
तर, घिमिरेको हारमा आफ्नै समूहका नेताहरूले भोट हाल्न नहाल्दाको परिणाम रहेको टिप्पणीसमेत भयो । प्रदेश निर्वाचनमा संस्थापनइतर पक्षमा देखिएका शेखर कोइराला, सुजाता कोइराला र महेश आचार्यले भोट नै हालेनन् भने विश्वप्रकाश शर्मा भोट हाल्नै गएनन्।
केन्द्रीय निर्वाचनमा आउँदा छिन्नभिन्न भए पनि उनीहरू प्रदेश निर्वाचमा एकै स्थानमा रहे पनि मतदानमा भने सहभागी भएनन्। जसकारण घिमिरे पराजित हुन पुगेका कांग्रेसभित्र चर्चा चल्यो।







डिसी नेपाल







Facebook Comment