पौडेललाई फकाउने, शेखरलाई एक्ल्याउने देउवाकाे रणनीति

सम्भव सिंह ठकुरी
२० पुष २०७८ १५:०६

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा.शेखर कोइरालामाथि हेपाहा प्रवृत्ति देखाएका छन्। गत महिना भएको १४ औँ महाधिवेशनमा सभापति देउवाको निकटतम प्रतिद्वन्द्वी रहेका कोइरालालाई ‘साइज’ मा ल्याउन रामचन्द्र पौडेललाई अस्त्र बनाएर कोइरालालाई एक्ल्याउने रणनीतिमा देउवा उत्रिएका छन्।

पार्टीमा बरियताक्रमदेखि केन्द्रीय सदस्य मनोनय गर्ने निर्णयसम्ममा देउवा पेलेरै अघि बढ्ने रणनीतिमा छन्। १४औँ महाधिवेशनमा देउवासँगको प्रतिस्पर्धामा कोइरालाले ४० प्रतिशत मत पाएका थिए। कांग्रेसमा यसअघि सभापतिको निकटतम प्रतिद्वन्द्वीलाई सभापतिपछिको वरीयता दिने गरिएको थियो।

१०औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरेका देउवालाई तेस्रो वरियतामा राखिएको थियो। सभापतिपछि वरिष्ठ नेता कृष्णप्रसाद भट्टराई र देउवाको वरियता निर्धारण गरिएको थियो। तर १४औँ महाधिवेशनमा देउवासँगको प्रतिस्पर्धामा दोस्रो भएको शेखरलाई २७ औँ नम्बरमा राखिएको छ।

देउवाले शेखरलाई भन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई महत्व दिएका छन्। यसअघि २० औँ नम्वरमा रहेका कोइराला सोमबार बसेको केन्द्रीय समितिको बैठकले घटुवा गरेर २७ औँ नम्वरमा पुगेका हुन्।

केन्द्रीय सदस्य मनोनयमा देउवा पक्षमात्र चयन

कांग्रेसको विधान २०१७ को धारा २१ को उपधारा १० बमोजिम सभापतिले समावेशी प्रतिनिधित्वको आधारमा ३३ जना केन्द्रीय सदस्य मनोनयन गर्ने प्रावधान रहेको छ। सोही प्रावधान अनुसार पुष १७ गते रामचन्द्र पौडेल, प्रकाशमान सिंह, बिमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा.प्रकाश शरण महत, डा.नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई चयन गरेका छन्।

यसरी मनोनयन गर्दा कोइराला समूहबाट उपसभापतिको उम्मेदवार रहेका डा.चन्द्र भण्डारी, महामन्त्रीको उम्मेदवार डा.मीनेन्द्र रिजाललाई मनोनयन गरिएको छैन। यसरी मनोनयन गर्ने क्षेत्राधिकार सभापतिको रहेपनि सभापतिले विवेकपूर्ण र तर्कपूर्ण निर्णय नगरेको नेता गुरुराज घिमिरे बताउँछन्।

‘मनोनयन गर्ने सभापतिज्यूको क्षेत्राधिकारको कुरा हो। तर उहाँले न्यायोचित निर्णय गर्नुभएन। गुटगत र मनोगत ढंगबाट निर्णय गर्नुभएको छ। यो पार्टीकोलागि हानिकारक निर्णय हुन्छ,’ उनले भने।

१३ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धामा रहेर पराजित भएका रामचन्द्र पौडेललाई देउवाले दोस्रो बरियतामा राख्दै बरिष्ठ नेताको जिम्मेवारी दिए। त्यसपछि ५ वर्ष यता पौडेलले पार्टीभित्र प्रतिपक्षीको भूमिकापनि निर्वाह गरे।

तर १४ औँ महाधिवेशनमा पनि सभापति बन्ने आकांक्षा व्यक्त गरेका पौडेलले इतरसमूहबाट साझा उम्मेदवारी बन्न नसकेपछि गुप्तबास बसे र निर्वाचनको प्रक्रियाबाट नै अलग हुने निर्णय गरे। त्यतिमात्र नभएर आफ्नो समूहका नेताहरुको व्यवस्थापनबारे चासो नदिएको कोइराला निकटका नेताहरु बताउँदै आएका छन्।

निर्वाचनको प्रक्रियामा समाबेश नै नभएका पौडेललाई दोस्रो बरियता तर सभापतिमा ४० प्रतिशत मत प्राप्त गरेका डा.शेखरलाई २७ औँ नम्वरमा पुर्याउने कदमले कोइरालालाई किराना लाउने रणनीति भएको कांग्रेस बृत्तमा चर्चा हुन थालेको छ।

शेखर निकट एक केन्द्रीय सदस्यका अनुसार रामचन्द्र पोडेललाई बरिष्ठ नेता र दोस्रो बरियतामा राख्नु न्यायोचित निर्णय भएपनि शेखर कोइरालालाई यो खाले निर्णय गर्नु न्यायोचित निर्णय नभएको र विगतको परम्परा तोडेको बताए।

नेता गुरु घिमिरेले त निर्वाचनको प्रक्रियाबाट अलग्एिका पौडेललाई केन्द्रीय सदस्यमा मनोनयन हुना साथ सो पद अस्वीकार गर्न केही दिन नै आग्रह गरेका थिए। महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया अलग्गिएको व्यक्ति कसरी मनोनीत हुनुभयो? भन्दै प्रश्न गरेका छन्। उनले भनेका छन्, ‘राजनीतिमा नैतिकताको प्रश्न उठाउने उहाँ नैं हैन?अनि साझा सभापति हुन्छु भन्ने नेताको चयन यही हो?’

यसरी पौडललाई अघि सारेर कोइरालालाई किनारा लाउने देउवाको रणनीति त हैन? भन्ने डिसी नेपालको प्रश्नमा घिमिरे भनेका छन् सभापतिज्यूको त्यो खाले रणनीति हो भने सम्पूर्णरुपमा असफल हुन्छ।’

कोइरालाको खस्किदो वरियता

कांग्रेसको १४ औँ महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय समितिको बैठकमा कोइराला २० औँ बरियतामा रहेका थिए। तर हिजो सोमबार बसेको बैठकले २७ नम्वरमा पुर्याएको छ। कोइरालाभन्दा अगाडि वर्तमान पदाधिकारी र पूर्वपदाधिकारी रहेका छन्।  यही बरियताको निरन्तरता हुँदा सभापतिले मनोनयन गर्ने कोषाध्यक्ष सातौँ नम्वरमा हुने भएकाले कोइरालाको बरियता २८ नम्वरमा पुग्ने निश्चित रहेको छ।

कोइराला निकट एक पदाधिकारीका अनुसार सभापतिपछि दोस्रो मत ल्याउले उम्मेदवारलाई बरिष्ठ नेतामा राखेर पुरानो परम्परा कायम राख्न सभापति देउवालाई आग्रह गरेपनि देउवाले वास्ता नगरेको बताए। यद्यपि कोइरालाले कागजी बरियतामा विश्वास नगर्ने महाधिवेशन प्रतिनिधिको मत नै निर्णायक हुने बताउँदै आएका छन्।

नेता गुरु घिमिरेपनि कागजी बरियतामा विश्वास गर्न नहुने बताउँछन्। उनका अनुसार सभापतिले महाधिवेशन प्रतिनिधिले दिएको ४० प्रतिशत मतको उपेक्षित गरेपनि उनीहरुकैलागि प्रतिपादक हुने धारणा व्यक्त गरे। ‘सभापतिले १४ औँ महाधिवेशनको मत खण्डित गर्न खोज्नुभएको छ। लोकतन्त्रमा कुनै एक व्यक्तिलाई उपेक्षित गरेर उहाँले गैरप्रजातान्त्रिक संस्कार देखाउनुभएको छ,’ घिमिरेले भने।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *