एमसीसी अमेरिकी जनताका तर्फबाट नेपाललाई उपहार हो: अमेरिका
काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी परियोजना अमेरिकी जनताका तर्फबाट नेपालका लागि उपहार रहेको बताएको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरी ५० करोड डलर बराबरको एमसीसी नेपाल सरकार र नेपाली जनताबाट नै आग्रह गरिएकाले नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने किसिमले तयार पारिएको जनाएको छ।
‘५० करोड डलर बराबरको यो मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान अमेरिकी जनताका तर्फबाट उपहार हो र हाम्रा मुलुकहरूबिचको एउटा साझेदारी हो जसले नेपालमा रोजगारी र पूर्वाधार ल्याउनेछ र नेपालीहरूको जीवनमा सुधार गर्नेछ ।’ दूतावासले भनेको छ, ‘यो परियोजनाका निम्ति नेपाल सरकार र नेपाली जनताबाट नै आग्रह गरिएको हो र यसलाई पारदर्शी रूपमा गरिबी न्यूनीकरण गर्ने तथा नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने किसिमले तयार पारिएको छ।’
दूतावासले सम्झौता अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने नेपालको सार्वभौम अधिकार भएको पनि प्रष्ट पारेको हो । एमसीसी अनुमोदनका लागि अमेरिकाले नेपालमाथि धम्कीपूर्ण कूटनीति प्रयोग गरिरहेको आरोप उत्तरी छिमेकी चीनले लगाएको भोलिपल्ट शनिबार काठमाडौंस्थित अमरिकी दूतावासले एमसीसीको सामाग्री वेवसाइटमा राखेको छ ।
यो वर्ष नेपाल र अमेरिकाबीचको सम्बन्धको ७५औँ वर्ष भएको र यी ७५ वर्षमा नेपालमा ठूला परिवर्तनहरू भएको उल्लेख गर्दै वेवसाइटमा यी परिवर्तनमा अमेरिका नेपालको साथमा उभिएको बताइएको छ ।
‘हामी नेपालको साथमा उभिएका छौँ र हामीले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौँ’ अमेरिकी दूतावासले भनेको छ ।
अमेरिकाले नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने बताएको छ । ‘नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा, र यो केवल नेपालको निर्णय हो’ विज्ञप्तिमा भनिएको छ ।








डिसी नेपाल








Facebook Comment