गण्डकीको लाइफलाइन डेढगाउँ-झ्यालवास सडक निर्माण सुरु, ८ कराेड बजेट

डिसी नेपाल
११ फागुन २०७८ १०:२१
120
Shares

पोखरा। गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको कोरला-सुस्ता सडक खण्ड अन्तर्गत डेढगाउँ-झ्यालबास सडक खण्डको निर्माणकाे काम सुरु भएको छ।

नवलपुर जिल्लामा पर्ने उक्त खण्डको मंगलबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शिलान्यास गरे । १४ किलोमिटर लामो सडक निर्माण भएपछि तनहुँको भीमाददेखि नवलपुरसम्म छिचोल्नेछ।

भीमाद–त्रिवेणीको ९४ किलोमिटर सडकमध्ये दुम्कीबासबाट त्रिवेणीसम्मको १५ किलोमिटर भने अहिलेसम्म ट्रयाक पनि खुलेको छैन। शिलान्यास भएको सडक २ लेनमा विस्तार हुनेछ ।

कालोपत्रे सहितको चौडाई १० मिटर हुने पूर्वाधार कार्यालय नवलपुरका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए। यसको कुल लागत ५१ करोड अनुमान छ। ३० महिनामा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भैसकेको उनले बताए।

प्रदेश सरकारले कार्यान्वयन गर्ने उक्त आयोजनाका लागि चालू वर्षमा ८ करोड विनियोजन भएको भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काले जानकारी दिए। ‘यो बहुवर्षीय योजना हो । पुरै पैसा प्रदेश सरकारले लगानी गरेको छ। खर्च गर्न सके अझै बजेट थप्ने छौं,’ उनले भने, ‘प्रदेशको मेगा प्रोजेक्टको रुपमा यो बाटोलाई लिएका छौं। जसरी पनि पूरा गर्नुपर्छ भन्नेमा हामी दृढ छौं ।’

यो सडक निर्माण सकिएपछि तनहुँको मानपुर जोडिने छ । मानपुरदेखि भीमादसम्मको खण्डमा पनि काम अघि बढिसकेको छ। ट्रयाक खुल्न बाँकी रहेको त्रिवेणी क्षेत्रलाई संघ सरकारले डीपीआर बनाउन स्वीकृति दिएको छ।

‘त्रिवेणीमा वनले रोकेको थियो। हामी नै गएर त्यो फुकाएर आयौं । डीपीआर बन्ने क्रममा अघि बढिसक्यो,’ खड्काले भने । सडक शिलान्यासपछि मुख्यमन्त्री पोखरेलले लामो समयको अन्योल चिरेर विकासले गति लिएको बताए।

‘भीमादबाट नवलपुरको मुख्य राजमार्ग जोड्न कुन बाटो बनाउने भन्ने अन्योल थियो । हामीले डेढगाउँ–झ्यालवास रोजेर बजेट छुट्यायौं,’ उनी भन्छन्, ‘अब त शिलान्यास नै भएको छ। काम तीब्र गतिमा हुन्छ।’ उनले नवलपुरको पहाडी भेगको विकासका लागि प्रदेश सरकारले विशेष प्याकेज बनाउने बताएका छन् ।

एउटा बाटो शिलान्यास गर्न ४ मन्त्री

डेढगाउँ–झ्यालबास सडक शिलान्यासका लागि प्रदेशका चार जना मन्त्री पुगेका छन् । मुख्यमन्त्री र भौतिक पूर्वाधार विकासमन्त्रीसहित पर्यटनमन्त्री मणिभद्र शर्मा र आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले संयुक्त रुपमा बाटोको शिलान्यास गरेका हुन्।

लाइफलाइन अन्तर्गत कोरलादेखि पोखरासम्म सडक सञ्चालनमा आईसकेको छ । पोखराबाट भीमादसम्म पनि कुनै समस्या छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.