गाँजालाई औषधिमा प्रयोग गर्न दिनेगरी खुला गर्ने सरकारको तयारी

डिसी नेपाल
१३ फागुन २०७८ २२:०९
336
Shares

काठमाडौं । सरकारले गाँजालाई औषधिमा प्रयोग गर्न दिनेगरी खुला गर्ने तयारी थालेको छ । गृहमन्त्रालयले कानुनी बाटो अबलम्वन गरेर गाँजालाई खुला गर्ने तयारी गरेको हो । त्यसका लागि गृहमन्त्रालयले कानुन निर्माणको तयारी थालेको छ ।

गृह मन्त्रालयले गाँजा तथा गाजाजन्य पदार्थ (नियमन) विधेयक २०७८ तयार पारेको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बताए ।

मन्त्रालयले तयार पारेको विधेयक गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रिपरिषद्को सैद्धान्तिक सहमतिका लागि पठाइसकेका छन् । मन्त्रिपरिषदले स्वीकृत गर्ने गरी अघि बढाएमा त्यो विधेयकका रुपमा संसद जानेछ ।

मन्त्रालयको लागु औषध नियन्त्रण शाखाका प्रमुख उपसचिव गोकर्णप्रसाद उपाध्यायका अनुसार विधेयकमा गाँजाको उत्पादन, संकलन, विक्रि वितरण र निकासी कसरी गर्ने भन्ने विषयमा समेटिएको छ । त्यो विधेयक कानुन निर्माण भएपछि तत्काल कार्यान्वयनमा ल्याउने तयारी गृहको छ ।

यो विधेयक कानुन भएर आएपछि लागु औषध नियन्त्रण ऐन २०३३ ले गाँजाको प्रयोगमा पूर्णरूपमा लगाएको बन्देज खुल्नेछ । ‘लागु औषध नियन्त्रण ऐन २०३३ ले गाँजाको प्रयोगमा पूर्णरूपमा लगाएको बन्देज यो विधेयक कानुन भएर आएपछि खुल्छ,’ उपसचिव उपाध्यायले भने ।

मन्त्रालयले सार्वजनिक गरेको ‘गृह प्रशासन सुधार कार्ययोजना २०७८’मा गाँजालाई औषधिको प्रयोजनका लागि प्रयोग गर्न कार्यविधि बनाएर स्वीकृति दिने उल्लेख गरेको थियो । गाँजाको औषधिय प्रयोगका लागि कार्यविधि तय गर्ने उल्लेख थियो ।

यो विधेयक कानुन बनेर आएपछि त्यसैमा टेकेर कार्यविधि बनाउने तयारी मन्त्रालयको छ । काठमाडौं विश्वविद्यालयले गाँजाको अनुसन्धान गर्न र थुप्रै संघ संस्था तथा फर्महरूले गाँजाको खेती गर्न गृह प्रशासनसँग अनुमति मागिरहेका छन् ।

मन्त्रालयले कार्यविधि तयार गरी औषधिजन्य प्रयोगको बाटो खोले पनि प्रतिबन्ध नै फुकुवा गर्न भने ऐन संशोधन वा नयाँ तर्जुमा गर्नुपर्ने हुन्छ । त्यसको निर्माणको प्रक्रियासमेत अघि बढाउने तयारी सरकारले गरेको छ ।

राजस्व अनुसन्धान विभागले गाँजाले अर्थतन्त्र र राजस्वमा दिनसक्ने योगदान र वनस्पति विभागले बहुउपयोगी प्रयोगबारे गृह मन्त्रालयसँग प्रस्ताव प्रस्तुत गरेका थिए । त्यही आधारमा गृह मन्त्रालयले नियन्त्रित रूपमा यसको प्रयोग गर्न सकिने गरी विधयेक तयार भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.