जुम्ला–रारा अल्ट्रा म्याराथनको तयारी तीव्र

डिसी नेपाल
२२ फागुन २०७८ १२:३२
44
Shares

खलाङ्गा।कर्णाली खेलकुद क्लब जुम्लाले जुम्ला–रारा अल्ट्रा म्याराथन २०७८ को तयारी तीव्र पारिएको बताएको छ । आगामी चैत २६ गते आयोजना हुन लागेको म्याराथनको तीव्र तयारी भइरहेको हो ।

जुम्ला सदरमुकाम खलङ्गादेखि मुगुको रारातालसम्म ४९ किलोमिटर दुरीमा म्याराथन हुन लागेको क्लबका अध्यक्ष सरोज शाहीले बताए। जुम्लादेखि मुगुको राराताल जाने पदमार्गको प्रवद्र्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने हेतुले म्याराथन आयोजना हुन लागेको क्लबका अध्यक्ष शाहीले जानकारी दिए । म्याराथनका लागि खेलाडी दर्ता खुला गरिएको छ ।

तेस्रो पटक जुम्ला–रारा अल्ट्रा म्याराथन हुँदैछ । विसं २०७५ मा पहिलो म्याराथन आयोजना गरिएको थियो । विसं २०७६ मा दोस्रो संस्करणको म्याराथन आयोजना गरिएको थियो । कोरोनाका कारण २०७७ सालमा म्याराथन सञ्चालन हुन सकेन । एक वर्षको फरकमा जुम्ला–रारा अल्ट्रा म्याराथन हुन लागेको अध्यक्ष शाहीले बताए ।

समुन्द्री सतहबाट दुई हजार ३०० मिटरको उचाइमा रहेको जुम्ला सदरमुकाम खलङ्गाबाट सुरु हुने म्याराथन तीन हजार ३०० मिटरको उचाइमा रहेको डाँफे लेक, चार हजार १०० मिटरको उचाइमा रहेको चुच्चेमारा लेक हुँदै दुई हजार ८९० मिटरको उचाइमा रहेको राराताल छेउमा पुगिने भएको छ । जुम्लादेखि दुई दिनको पदयात्रा रहेको सो रुटमा व्यावसायिक खेलाडी पाँचदेखि सात घण्टामा पार गर्ने विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायाले जानकारी दिनुभयो ।

म्याराथनले कर्णालीका खेलाडीलाई प्रोत्साहित गरिरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई कर्णाली भूमिमा आएर खेल प्रदर्शन गर्ने अवसर प्रदान भइरहेको छ । यो कर्णाली चिनाउने एक राम्रो माध्यम भएको छ । गत वर्षको म्याराथनमा महिला र पुरुष खेलाडी गरेर झण्डै ३५० सम्म सहभागिता जनाउँदै आएका थिए । यस पटक पनि खेलाडी सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । यस वर्ष म्याराथनमा बिजेता खेलाडीको पुरस्कार रु एक लाखभन्दा माथि नै हुने आयोजकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *