खड्का र भण्डारी दशककै उत्कृष्ट खेलाडी
काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डको १८औँ संस्करणमा खड्का र भण्डार्री ‘प्लेयर अफ दी डिकेड’ (दशकको उत्कृष्ट खेलाडी) अवार्डबाट सम्मानित भएका हुन्।
गत वर्ष कोरोना महामारीका कारण राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिता नभएकाले उत्कृष्ट पुरुष, महिला र प्रशिक्षक दशकको छनोट गरिएको आयोजक मञ्चले जनाएको छ।
खड्काले पछिल्लो एक दशकमा आफ्नो कप्तानीमा नेपाली क्रिकेटलाई निकै उचाइमा पुर्याएका थिए। उनकै कप्तानीमा नेपालले सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप क्रिकेट खेलेको थियो। त्यस्तै सन् २०१८ मा खड्काले नेपाललाई ऐतिहासिक एकदिवसीय मान्यता दिलाएका थिए। खड्काले गत वर्ष मात्र नेपाली टोलीबाट सन्यास लिएका थिए।
त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड भण्डारी दशककै उत्कृष्ट महिला खेलाडी घोषित भइन् । सन् २०१४ देखि राष्ट्रिय टोलीमा डेब्यु गरेकी उनले घरेलु फुटबलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएकी छिन्।
पच्चीस वर्षीया भण्डारीले यसअघि सन् २०१९ को स्पोर्ट्स अवार्डमा उत्कृष्ट महिला खेलाडी जितेकी थिइन्। राष्ट्रिय टोलीका लागि ३८ गोल गर्दै सर्वाधिक गोलकर्ताको नाम राखेकी उनी सम्मिलित नेपाली टोली दुईपटक साफ च्याम्पियनशिपमा उपविजेता बनेको थियो। राष्ट्रिय फुटबल टोलीले १२औँ र १३औँ सागमा रजत पदक प्राप्त गरेको थियो।
त्यस्तै नेपाल टेबलटेनिसकी एलिना महर्जनले पिपुल्स च्वाइस विधा जितेकी छिन् । उनले क्रिकेटका कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल र फुटबलकी एन्जिला तुम्बापो सुब्बालाई पछि पार्दै भोटमार्फत उक्त अवार्ड जितेकी हुन् । एलिनाले ४७.८३३ मत प्राप्त गरिन् । उनले सागमा लगातार दुई पटक (१२औँ र १३औँ साग) को महिला टिम इभेन्टस्मा कास्य पदक प्राप्त गरेकी थिइन्।
नेपाली राष्ट्रिय फुटबल टोलीले पल्सर स्पोर्ट्स अवार्ड २०७७ मा वर्षको उत्कृष्ट टोलीको अवार्ड जित्यो । यसैगरी डा अजय राणा स्पेसल अवार्ड अन सिन हिरोबाट सम्मानित भए । राणा आफ्नो समयका हक्की र फुटबल खेलका अब्बल खेलाडी थिए । सन् १९८४ मा पहिलो दक्षिण एसियाली खेलकुद आयोजना हुँदा सबै खेलाडीको स्वास्थ्य व्यवस्थाको जिम्मेवारी राणाले नै निर्वाह गरेका थिए।
धाविका पुष्पा भण्डारीले ‘पफर्मर अफ दी इयर’ अवार्ड हात पारिन् । गत वर्ष पुस २६ गते बङ्गलादेशको ढाकामा सम्पन्न बङ्गबन्धु शेख मुजिव ढाका म्याराथनमा भण्डारीले स्वर्ण पदक जितेकी थिइन् । उनले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत म्याराथनमा रजत पदक प्राप्त गरेकी थिइन्।
यस्तै धनगढीमा २०६८ सालमा सम्पन्न छैटौँ राष्ट्रिय खेलकुदमा उनले म्याराथनतर्फ रजत पदक प्राप्त गरेकी थिइन् । विसं २०६९ सालमा लुम्बिनी च्याम्पियनशिप म्याराथनमा स्वर्ण जितेपछि भण्डारी एपिएफ क्लबमा आबद्ध भएकी थिइन्।
त्यसैगरी लाइफ टाइम अचिभमेन्ट अवार्डबाट स्व शरद्चन्द्र शाहलाई मरणोपरान्त सम्मान गरियो भने पारा एथलिट अफ दी इयरको उपाधि सरिता थुलुङलाई प्रदान गरियो । उत्कृष्ट प्रशिक्षकको अवार्ड क्रिकेटका जगत टमाटाले प्राप्त गरे।
एसियाली खेलकुद पत्रकार अवार्ड सताम अल सेहलीललाई प्रदान गरियो । दशक उत्कृष्ट प्रशिक्षक, पुरुष, महिला खेलाडी र पिपुल च्वाइसका विजेताले बजाब पल्सर मोटरसाइकल पुरस्कार स्वरुप प्राप्त गरे।







डिसी नेपाल







Facebook Comment