किन पराजित मानसिकतामा छन् देउवा ?
काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार एक सार्वजनिक कार्यक्रममा चुनावमा तालमेल नगरे ओली र प्रचण्ड फेरि मिले भने के गर्ने? भन्ने प्रश्न गरे।
गठबन्धन गर्न नहुने अडानसहित पार्टी नेतृत्वलाई गठबन्धनविरुद्ध दबाब दिँदै आएका नेता डा. शेखर कोइरालासँग मञ्च शेयर गरेका देउवाले सोही कार्यक्रममा आगामी तीनै तहको निर्वाचनमा गठबन्धन आवश्यक रहेको बताए।
पछिल्लो समय मुलुकका विभिन्न भागमा पुगेका देउवाको अभिव्यक्ति गठबन्धन आवश्यक छ भन्नेमा बढी केन्द्रित रहेको हुन्छ।
शुक्रबारदेखि जारी केन्द्रीय कार्य समिति बैठकमा बोल्ने अधिकांश सदस्यले ग्राउण्डमा कांग्रेस बलियो रहेको र चुनावमा एक्लै जाँदा स्पष्ट बहुमत ल्याउने आँकडा प्रस्तुत गर्दासमेत देउवा उक्त आँकडामा विश्वस्त हुन सकेनन् र चुनावी तालमेल आवश्यक रहेको बताइरहेका छन्।
शनिबार गठबन्धनको विरोध गर्दै आएका डा. कोइराला सहभागी कार्यक्रममा देउवाले भोलि एमाले र माओवादी मिले भने के गर्ने? भन्ने प्रश्न गर्न भ्याए। पाँच दलीय गठबन्धन कायमै गरेर जानु पर्ने अडान राख्दै आएको बेला पार्टी भित्रबाटै भने गठबन्धन नगर्न दबाब बढिरहेको छ।
चुनाव हुन डेढ महिना बाँकी रहँदा देउवाले किन एमालेसँग हार स्वीकार गरिरहेका छन् ? यो महत्वपूर्ण प्रश्न हो। हारेको मानसिकता लिएर चुनावमा जाँदा त्यसको परिणाम कस्तो आउला? यो अर्को विचारणीय प्रश्न हो। उता ओली भने पाँच दलीय गठबन्धन कायम रहेपनि एमालेले चुनाव जित्ने दाबी गर्दै आएका छन्।
तर, सभापति देउवाले आफ्नो पार्टीका फरक मत राख्ने नेताहरूलाई यस्तो प्रश्न गरेका हुन्। उनले सभापतिको जिम्मेवारी सबै नेतालाई जिताउनु पर्ने भएकाले सो जिम्मेवारी बहन गर्न गठबन्धन गर्न खोजेको बताए।
‘पार्टी सभापतिको हैसियत त पार्टीले जितोस्, नेताहरू सबैले जितुन् भन्ने नै रहन्छ, त्यसका लागि जे पनि गर्नुपर्ने हुन जान्छ,’ देउवाले भने, ‘निर्वाचनमा एमाले र माओवादी फेरि मिलेर चुनावमा गए भने के हुन्छ ? फेरि पार्टीलाई हराउने ?’
स्मरणीय छ अहिले आएको यो भनाइ उनै देउवाको हो जसले २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले ऐतिहासिक पराजय व्यहोरेपछि पार्टीका पराजित नेताहरुलाई ‘आफूले चुनाब हार्ने, पार्टीलाई दोष लगाउने ?’ भनेका थिए। र, त्यतिबेला पनि देउवा पार्टी सभापति नै थिए।
अहिले भने देउवाले विगतमा कांग्रेस पार्टीले पराजय भोग्नु परेको उल्लेख गर्दै पार्टी र पार्टीका नेतालाई जिताउनका लागि आफूले गठबन्धन गर्न खोजेको तर्क गरेका छन्। २०७४ सालको प्रदेश र संघीय निर्वाचनमा एमाले र माओवादीबीच बामगठबन्धन बनेपछि कांग्रेस नराम्रोसँग पराजित भएको थियो।
संघीय निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेस २३ सिटमा खुम्चिएको थियो भने सात प्रदेशमध्ये कांग्रेसले एक प्रदेशमा पनि सरकार बनाउन सकेको थिएन। देउवाका पछिल्ला अभिव्यक्तिलाई हेर्दा उनलाई अघिल्लो निर्वाचनको पराजयको ह्याङओभरले अझै नछाडेको जस्तो देखिन्छ।
अहिले परिस्थितिले देउवाले सरकारको नेतृत्व गरिरहेका छन् र उनीमाथि तीन तहकै निर्वाचन गर्ने जिम्मेवारी आएको छ। त्यसो त विगतमा जस्तो बाम गठबन्धन छैन, नेकपा विभाजित बनेको छ, एमालेसमेत विभाजित अवस्थामा छ। तैपनि कांग्रेस सभापतिको रुपमा देउवा एक्लै चुनावमा जान डराइरहेका छन्।
देउवाले पछिल्ला कैयौं वर्षमा मतदातासँग प्रत्यक्ष अन्तरक्रिया गरेका छैनन् । उनी पार्टीको तल्लो तहको संगठनले गर्ने रिपोर्टिङमै निर्भर छन्। तर, मतदातासँग प्रत्यक्ष अन्तरक्रिया गरेका जिल्ला स्तरका नेताहरुको रिपोर्टिङमा विश्वास गर्न भने उनले आनाकानी गरिरहेका छन्।
एक महिने चुनावी अभियान लिएर जिल्ला जिल्ला पुगेका केन्द्रीय सदस्यहरुले कांग्रेसलाई चुनावमा एक्लै जाँदा फाइदा हुने रिर्पोटिङ गर्दासमेत देउवा गठबन्धनकै पक्षमा छन्। उनलाई कतै फेरि एमाले र माओवादीबीच गठबन्धन हुने त होइन भन्ने आशंका छ।
किनभने ०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए। तर संघीय र प्रादेशिक निर्वाचनमा माओवादी एमालेसँग गठबन्धन गर्न पुग्यो। अहिले गठबन्धनको आवश्यकता कांग्रेसलाई भन्दा माओवादीलाई बढी छ।
माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस चुनावी तालमेलका विषयमा तयार नभए विकल्प खोज्ने चेतावनी दिन थालेका छन्। किनभने माओेवादीको संगठन कमजोर छ, उसलाई चुनाव जित्न कसैको साथ चाहिन्छ नै, त्यसका लागि उसलाई अहिले कांग्रेसको साथ अनिवार्य छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी र एकीकृत समाजवादीसँग कुनै पनि हालतमा तालमेल नहुने घोषणा गरिसकेका छन्। यस्तोमा अहिले देउवाले चाहेजस्तो गठबन्धन गर्ने हो भने त्यसले कांग्रेसलाई भन्दा पनि माओवादी र एकीकृत समाजवादीलाई बढी फाइदा हुने देखिन्छ।
तैपनि देउवाले गठबन्धनकै वकालत गर्नुको कारण कांग्रेसकै कैयौं नेताले पहिल्याउन सकिरहेका छैनन्। सभापति देउवाले चुनावी तालमेल अपरिहार्य देखेपनि नेता डा. शेखर कोइराला पार्टीभित्रको आन्तरिक विवाद मिलाउन सकेको खण्डमा कांग्रेस सबैभन्दा बलियो पार्टी बन्ने दावी गर्छन्।
कोइरालाले गठबन्धन मात्रै भनेर अघि बढिरहे भारतको कंग्रेस (आई)को हालत हुन सक्ने बताउँछन्। सरकारको नेतृत्व गरेको दलका सभापति त्यसमा पनि कम्युनिष्ट पार्टी विभाजित भएको अवस्थामासमेत देउवा एक्लै निर्वाचनमा जान किन गराइरहेका छन् ? यो कुरा कांग्रेस नेता कार्यकर्तालेसमेत बुझेका छैनन्।
चुनाव हुन डेढ महिना बाँकी रहँदा देउवाले किन एमालेसँग हार स्वीकार गरिरहेका छन् ? यो महत्वपूर्ण प्रश्न हो। हारेको मानसिकता लिएर चुनावमा जाँदा त्यसको परिणाम कस्तो आउला? यो अर्को विचारणीय प्रश्न हो। उता ओली भने पाँच दलीय गठबन्धन कायम रहेपनि एमालेले चुनाव जित्ने दाबी गर्दै आएका छन्।







डिसी नेपाल








Facebook Comment