पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न कार्यवाहक प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाणले पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । आपूर्ति सचिव डा. गणेश पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक विरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव विश्व अर्याललाई शनिबार टेलिफोन गरेर तत्काल समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।
उनले अत्यावश्यक वस्तुमा समस्या देखिए सरकार नचाहँदा नचाहँदै कठोर हुनपर्ने बताउदै व्यवसायीहरूले पेट्रलियम पदार्थ बेचे नबेचेको अनुगमन गर्न कार्यवाहक प्रधानमन्त्रीले निगमका महानिर्देशक गोइतलाई निर्दैशन दिएका थिए ।
निगमका महानिर्देशक गोइतले जिल्ला प्रशासन कार्यालय काठमाडौँको सहयोगमा अनुगमन गरिरहेको बताएका छन् । ‘मन्त्रीज्यूबाट पेट्रोलियम पदार्थ विक्रि वितरण भए नभएको काठमाडौँ जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा उपत्यकाका पम्पहरूमा अनुगमन गर्न निर्देशन भएको थियो,’ कार्यवाहक महानिर्देशक गोइतले भने,‘हामीले उहाँको निर्देशन अनुरुप उपत्यकाका २० बढी पम्पहरूमा अनुगमन गरेका छौँ । केहीले बेचेको, केहीले नबेचेको पायौँ । भोलि थानकोटको डिपो खुल्ला हुन्छ । त्यहाँ गएर ल्याएर बेच्न भनेर कागज गराएर आएका छौँ ।’
डिलर्स एसोसिएसनका महासचिव अर्यालले पेट्रोलियम पदार्थमा देखिएको समस्या निगमसँग वार्ता गरेर टुंग्याउन निर्देशन दिएको जानकारी दिए । ‘पेट्रोलियम पदार्थमा देखिएको समस्या निगमसँग वार्ता गरे टुंग्याउन निर्देशन दिनुभएको हो,’ अर्यालले भने, ‘हामीले हाम्रा माग सामान्य छन्, निगमलाई भनिदिनुस्, हामी वार्तामार्फत सहमति गर्न तयार छौँ भन्यौँ ।’
व्यवसायी र डिजेल ढुवानीकर्ताहरूले डिजेलको भाउ बढेपछि भाडा पनि बढाइनु पर्ने, डिजेल पेट्रोल बोक्ने टयांकरको भाडा बढाइनु पर्नेलगायतका माग राखेर पेट्रोलियम पदार्थ विक्रि वितरण नगर्ने चेतावनी दिइरहेका छन् । शनिबार दिनभर काठमाडौ र बाहिरका पेट्रोल पम्पहरुमा सर्वसाधारणको लाइन लागेको थियो ।







डिसी नेपाल








Facebook Comment